राप्रपासामु स्तब्ध गृहमन्त्री : कोसँग को हारे ?



काठमाडौं । अहिलेको निर्वाचन परिणाममा एउटा अचम्मको संयोग जुर्‍यो । चुनावमा होमिएका थिए १ जना बहालवाला गृहमन्त्री र ३ जना पूर्वगृहमन्त्री। तर, यी चारै जना गृहमन्त्री पराजित भए। यो संयोग मात्र हो।

अचम्मको संयोग त तब भयो, जब यी चारै जना उम्मेदवारलाई एउटै पार्टीका उम्मेदवारले हराए । हराउने पार्टी हो– राष्ट्रिय प्रजातन्त्र पार्टी। बहालवाला गृहमन्त्री बालकृष्ण खाण यस पटकको निर्वाचनमा सहज ढङ्गले विजयी हुने प्रारम्भिक अनुमान थियो । सत्ता र शक्तिमा रहेका खाण आफू पनि ढुक्क थिए तर निर्वाचन परिणामले भने त्यसको विपरीत नतिजा दियो। खाण राप्रपाका दीपक बोहरासँग २ हजार ६८१ मतान्तरले रुपन्देही– ३ बाट पराजित भए । बोहराले ३६ हजार ७१७ मत ल्याउँदा खाण भने ३४ हजार ३६ मतमा रोकिए।

खाण २०४८ सालको प्रतिनिधिसभा, २०६४ र २०७० सालका संविधानसभा निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए भने २०७४ सालको आमनिर्वाचनमा समानुपातिकतर्फबाट संसद् पुगेका थिए।
अहिलेको गठबन्धन सरकारमा गृहमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी पाएका उनी शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिँचाइमन्त्री तथा शिक्षामन्त्रीसमेत भइसकेका छन् ।

४ दशकदेखि राप्रपामा आबद्ध दीपक बोहरा भने २०७० सालमा रुपन्देही– २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनै बोहरा यस पटक बहालवाला गृहमन्त्रीलाई पराजित गर्न सफल भए ।
२०३८ सालमा पर्यटन राज्यमन्त्री, २०६७ सालमा वन तथा भू–संरक्षणमन्त्री र २०३८ सालमा पर्यटन सहायक मन्त्री बनेका बोहरा २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४४ सालमा निर्माण तथा यातायातमन्त्री र २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री थिए।

त्यस्तै, २०७२ सालमा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ सालमा स्वास्थ्यमन्त्री गरी उनले अहिलेसम्म ९ पटक मन्त्रालय हाँकिसकेका छन् । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओली गरी ५ जना प्रधानमन्त्रीको सरकारमा विभिन्न राजनीतिक दाउपेचले मन्त्री पड्काएका कमल थापा फेरि पनि संसद् छिरेर कुनै न कुनै मन्त्रालय हाँक्ने सोचमा थिए । तर, २ पटक सांसद र गृहमन्त्रीसहित ९ पटक मन्त्री बनेका थापा यस पटक संसद् छिर्नबाट रोकिएका छन् । कुनै बेलाका उनकै सहकर्मी रहेका राप्रपाका दीपकबहादुर सिंहसँग थापा पराजित भए ।

राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर– १ मा सूर्य चिह्न लिएर मैदानमा उत्रिएका थिए । तर, ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा पराजय भोगेका सिंहसँग थापाले जित निकाल्न सकेनन् । २५ हजार ४२० मत पाएका थापा तेस्रो भए भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ २५ हजार ४३४ मत सहित दोस्रो भइन् । राप्रपाका सिंह २७ हजार ८१६ मतसहित विजयी बने ।

ज्ञानेन्द्र शाहले दलविहीन बनाएर सत्ता आफ्नो कब्जामा लिँदासमेत गृहमन्त्री जस्तो महत्वपूर्ण पद फुत्काउन सफल भएका थापा मकवानपुरका मतदाताले सूर्य चिह्नमा आफूलाई मत दिने अपेक्षामा थिए। तर, मत परिणामले उनलाई पराजित मात्र गरेन, राप्रपा फुटाएर राप्रपा नेपालमा गएका उनको महत्वाकाङ्क्षामा समेत ठूलो धक्का लागेको छ।

यस पटकको निर्वाचनमा सबैको ध्यान तानेको निर्वाचन क्षेत्र थियो– झापा– ३ चुनावी प्रतिस्पर्धामा थिए–पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन । प्रतिस्पर्धामा बाजी भने राप्रपाका लिङ्देनले मारे । सिटौला र लिङ्देनको यो तेस्रो लडाइँ थियो । २०७० सालको निर्वाचनमा सिटौला विजयी हुँदा २०७४ सालमा भने लिङ्देन विजयी भएका थिए।

२०७० सालमा पराजित लिङ्देनले ९ हजार २५३ मत ल्याउँदा सिटौला १४ हजार ३५५ मतसहित विजयी भएका थिए। २०७४ सालमा एमालेको साथ पाएका लिङ्देन ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । अहिले पनि एमालेको साथ पाएका लिङ्देन ४० हजार ६६२ मतसहित विजयी भए भने सिटौला ३७ हजार ३८६ मै रोकिए।  सातौँ पटक निर्वाचनमा उम्मेदवार बनेका सिटौला २०६२/०६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

नवलपरासी– २ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार मैदानमा हुँदा सबैको आँखा भने एमालेका दीपेन्द्रकुमार अधिकारी, कांग्रेसका देवेन्द्रराज कँडेल र राप्रपाका ध्रुवबहादुर प्रधानमा थिए। चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिए पनि राप्रपाका प्रधान निकटतम प्रतिस्पर्धीभन्दा १५ हजार १७० मतको भारी अन्तरले विजयी भए। उनका निकटम प्रतिस्पर्धी थिए कांग्रेसका देवेन्द्रराज कँडेल । कँडेलले १९ हजार ५९४ मत पाए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका कँडेल पार्टीमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। प्रधान भने पूर्व प्रहरी महानिरीक्षक हुन्। २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन र २०७४ सालको सङ्घीय संसद्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका कँडेल २०५८ सालमा गृह राज्यमन्त्री भएका थिए ।

२०५६ सालको आमनिर्वाचनमा पहिलो पटक चुनावी मैदानमा आएका प्रधान नवलपरासीबाट २०६४ र २०७० सालका संविधानसभा सदस्य निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर, पराजित हुँदै आएका उनी यस पटक भने विजयी बन्न सफल भएका छन् । नेपाल प्रहरीको १७औँ महानिरीक्षक बनेका प्रधान नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्