मधेसमा एमाले उठाउने ‘मसिहा’



जनकपुरधाम । पहिलो संविधानसभा निर्वाचन, २०६४ मा ४६ हजार २७२ मत ल्याएर तत्कालीन नेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराई ‘म्यान अफ दि इलेक्सन’ बनेका थिए । २०७४ सालको आमनिर्वाचनमा झापा- ५ मा ५७ हजार १३९ मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दि इलेक्सन’ बने ।

प्रत्येक निर्वाचनपिच्छे यस्ता कीर्तिमा बनिरहन्छन् । तर, मधेस प्रदेशमा भने २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्लले बनाएको कीर्तिमान यस पटक भत्किएको छ ।

त्यस निर्वाचनमा मल्ल ९३ हजार १४९ मत प्राप्त गरी राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका थिए । मल्ल आफू मात्र अत्यधिक मतका साथ विजयी भएनन्, श्रीमती शारदा मल्ललाई पनि हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतको सदस्यमा जिताए ।

यस पटको निर्वाचनमा एउटै जिल्ला र एउटै क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचन जितेर एक दम्पत्तीले नयाँ कीर्तिमान बनाए । निर्वाचनमा नेकपा एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड दर्ज गराएका छन् । पञ्चायतकालमा धनुषामा ‘शेरे धनुषा’को उपमा पाएका मल्ल र उनकी श्रीमतीले यसअघि बनाएको कीर्तिमान महासेठ दम्पत्तीले ३६ वर्षपछि भङ्ग गरेका छन् ।

तत्कालीन राष्ट्रिय पञ्चायतमा २०४३ सालको निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल र शारदा मल्ल एउटै जिल्लामा श्रीमान्श्री-मती विजयी भएर कीर्तिमान बनाएका थिए । त्यसैले मल्ललाई धनुषाबासीले ‘शेरे धनुषा’को उपमा दिएका थिए । धनुषामा मात्र होइन, देशभर मल्ल ‘शेरे धनुषा’ नामले परिचित थिए । उनी त्यतिबेला कृषिमन्त्री पनि बनेका थिए । २०४३ सालयताका निर्वाचनमा धनुषाबाट प्रत्यक्षमा कोही दम्पत्ती एकसाथ विजयी भएका थिएनन् ।

यससँगै महासेठ दम्पत्ती धनुषाबाटै प्रतिनिधिसभा सदस्य बन्ने जोडी बनेको छ । एउटै जिल्लाबाट श्रीमान्श्री-मती दुवैले जितेको कीर्तिमान यसअघि मल्ल दम्पत्तीको नाममा रहेकामा त्यसलाई महासेठ दम्पत्तीले भत्काएका छन् । तर, यस निर्वाचनमा महासेठ र उनकी पत्नी महतोले एकसाथ जितेर कीर्तिमान बनाएपछि धनुषाबासीले ‘शेरे मधेस’को उपमा दिएका छन् । एमाले सचिव रहेका रघुवीर धनुषा– ४ बाट र उनकी श्रीमती जुली धनुषा- ३ बाट विजय हासिल गरेका छन् ।

अहिले महासेठ दम्पत्तीले उक्त कीर्तिमान बनाउँदा एमाले कार्यकर्ताहरूले रघुवीरलाई ‘शेरे मधेस’ भनेर सम्बोधनसमेत गर्न थालेका छन् । एमालेका प्रदेशसभा सदस्य शिवशङ्कर साह ‘हिरा’ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रघुवीर महासेठ शेरे धनुषा मात्रै होइन, शेरे मधेस हुन् ।’धनुषा– ४ मा रघुवीर सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै लडेर निर्वाचन जितेका हुन् भने धनुषा- ३ मा जुलीलाई उनको क्षेत्रमा जसपाले समर्थन गरेको थियो । महासेठले यादवलाई १२४ मतान्तरले हराएका हुन् । विजयी महासेठले ३२ हजार २३६ मत ल्याए भने यादवले ३२ हजार ११२ मत पाए ।

यस्तै, जुलीले ५ दलीय गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन् । जुलीले ३३ हजार ३५५ मत पाइन् भने झाले २३ हजार ६८६ मत ल्याए । यसका साथै जुलीका दाजु वीरेन्द्र महतो पनि यस पटकको निर्वाचनमा विजयी भएका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका महतोले सिरहा– ४ बाट जित हात पारेका छन् ।

‘एमाले हराऊ’ नारा असफल

एमालेभित्र महासेठ र नेता प्रभु साहबीच सधैँ विवाद रहँदै आएको थियो । महासेठ र साहबीचको शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा दुवै नेता मधेसमा आफूलाई शक्तिशाली देखाउन होडबाजीमा थिए । महासेठ पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन् भने स्थायी कमिटी सदस्य रहेका साह नेकपा (माओवादी केन्द्र)बाट एमालेमा गएका हुन् । महासेठ तत्कालीन प्रदेश- २ को इन्चार्जसमेत पाएपछि साहले विवाद सिर्जना गरेका थिए । उनले महासेठलाई इन्चार्जबाट हटाउनुपर्ने माग पार्टीमा पटकपटक उठाएका थिए । प्रभु साह माओवादी केन्द्रमा हुँदा सो पार्टीका अर्का नेता मात्रिकाप्रसाद यादवसँग यस्तै शक्ति सङ्घर्ष हुन्थ्यो । एमालेका पूर्वनेता प्रभु साहले चलाएको ‘एमाले हराऊ’ नारालाई धनुषामा महासेठ दम्पत्तीले असफल बनाइदिएका छन् ।

श्रीमान्–श्रीमती दुवै प्रत्यक्षमा निर्वाचन लड्दा महासेठ दम्पत्ती विपक्षीको निशानामा पनि परेका थिए । ‘राजा-रानीलाई हराउनुपर्छ’ भनेर अभियान नै छेडिएका बेला मधेसमा यी २ जनाले सानदार जित निकालेका छन् । त्यति मात्र होइन, रघुवीरले सङ्गठन जगाउँदै प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाएका पनि छन् । महासेठ र साहबीच गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनदेखि नै तिक्तता बढेको हो । स्थानीय पालिकाको टिकट वितरणमा उनीहरूबीच मतभेद बढेको थियो । त्यो जनकपुर उपमहानगरपालिकाका प्रमुखमा एमालेले कसलाई टिकट दिने भन्ने विवादबाट सार्वजनिक भएको थियो ।

प्रभु साहले जनकपुर उपमहागरपालिकाको प्रमुखमा जनकपुरधाम-७ का तत्कालीन वडाध्यक्ष जानकीराम साहलाई टिकट दिलाउन चाहन्थे । त्यसका लागि प्रभु साहले उनलाई एमालेमै प्रवेश गराएका थिए । जानकीराम साह लोसपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, प्रभु साहको प्रयासलाई असफल बनाउँदै महासेठले जानकीराम साहलाई टिकट नदिएर शिवशङ्कर साहलाई नै दिलाउन लगाए ।
यस प्रकरणले साह र महासेठवीच सम्बन्ध झन बिग्रियो । २ नेताको सम्बन्ध बिग्रिँदै गर्दा यसको असर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि देखियो । अन्ततः तीव्र असन्तुष्टि जनाउँदै साह निर्वाचनअघि एमाले नै परित्याग गर्न बाध्य भए । साहले एमाले परित्याग गरेर रौतहट– ३ मा स्वतन्त्र उम्मेदवारी दिए र निर्वाचित भए ।

ओलीका सारथि

एमालेमा रहेका मधेसका बलिया नेताहरू रामचन्द्र झा, महेन्द्र राय यादवसहितले पार्टी त्याग गरेपछि एमालेसँग मधेसलाई नेतृत्व दिन सक्ने अनुहारको अभाव खट्कियो । त्यही रिक्ततामा महासेठले आफूलाई मधेसको आगामी नेतृत्वका रूपमा उभ्याएर अध्यक्ष ओलीका सारथि बनेका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन प्रदेश-२ का ३२ वटा निर्वाचन क्षेत्रमध्ये लीलानाथ श्रेष्ठलाई छाडेर एमालेबाट निर्वाचन जित्ने महासेठ मात्र थिए । यही कारण ओलीले मधेसमा आफ्नो उपस्थितिका लागि महासेठलाई अगाडि ल्याएका हुन् ।

महासेठको एमालेसँगको साइनो नयाँ भने होइन । अनेरास्ववियुको विद्यार्थी राजनीतिमार्फत एमालेसँग जोडिएका महासेठ २०५१ सालमा तत्कालीन एमालेको ९ महिने शासनकालमा उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष भए । २०६५ सालमा संविधानसभा उपनिर्वाचनमा जितेका महासेठले २०७४ सालको आमनिर्वाचनमा पनि धनुषा-४ बाट जितेका हुन् ।
महासेठ २०७४ सालयता निरन्तर शक्तिमा छन् । मधेस आन्दोलनताका धेरै नेताले एमाले छाड्दा रघुवीर डेग चलेनन् र सङ्गठन बचाए । त्यसैले उनी एमाले अध्यक्ष ओलीका विश्वासपात्र बने ।

ओलीको पहिलो मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका महासेठ २०७६ सालको मङ्सिरमा भएको मन्त्रिपरिषद् पुनर्गठनबाट बाहिरिएका थिए ।
एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय सचिवमा प्रतिस्पर्धी रहेका महासेठ पराजित भए पनि पार्टी अध्यक्ष ओलीसँगको निकटताका कारण उनको शक्ति कमजोर भएन । २०७३ सालमा उनी र उनकी श्रीमती दुवै एमालेको केन्द्रीय सदस्यमा मनोनीत भए । नेकपा (माओवादी केन्द्र)सँग एमालेको एकीकरणपश्चात् बनेको नेकपामा स्थायी समिति सदस्य बनाइएका महासेठ अहिले पार्टीमा सचिव छन् । यसका अतिरिक्त उनी मधेस प्रदेशका इन्चार्ज पनि हुन् ।

महासेठ २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा धनुषा– ४ बाट निर्वाचन लडे तर हारे । पछि धनुषा– ५ बाट निर्वाचित डा. रामवरण यादव प्रथम राष्ट्रपति भएपछि धनुषा– ५ मा पुनः निर्वाचन भयो, जहाँ महासेठ पहिलो पटक विजयी भएर संसद्को यात्रा तय गरे । सांसद बनेलगत्तै झलनाथ खनाल नेतृत्वको सरकारमा १ फागुन २०६७ मा उनी पहिलो पटक मन्त्री बने । उनलाई सिँचाइमन्त्रीको जिम्मेवारी दिइएको थियो तर उनको कार्यकाल ६ महिना मात्र टिक्यो ।

संविधान जारी भएपछि २०७४ सालमा भएको निर्वाचनमा धनुषा– ४ बाटै नेपाली कांग्रेसका महेन्द्र यादवलाई हराउँदै उनी विजयी भए । निर्वाचनपछि ओली नेतृत्वको सरकार गठन हुँदा महासेठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाए । ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषद्मा गरिएको फेरबदलमा महासेठले स्थान पाएनन् । तर, उनकी पत्नी जुली महतोलाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनाइयो ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ओलीले पुनः संसद् विघटन गर्नेबेला जुलीलाई मन्त्रिपरिषद्बाट हटाएर महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुका साथै उपप्रधानमन्त्रीसमेत बनाए । जुलीकुमारी महतो पनि ३ दशकदेखि राजनीतिमा क्रियाशील छन् । तर, उनको संसद् यात्रा २०६४ सालमा मात्र सुरु भयो । संविधानसभा निर्वाचन, २०६४ मा एमालेबाट उनी समानुपातिक सदस्य भइन् जुली । संविधानसभा सदस्य निर्वाचन, २०७० मा धनुषा-३ मा उनलाई नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले हराए । त्यसपछि २०७४ सालमा उनी पुनः समानुपातिक सदस्य बनिन् ।

मधेसमा पहिलो दल

महासेठले निर्वाचनमा आफैँ मात्र जितेका छैनन्, इन्चार्जको रूपमा पार्टीलाई पनि बलियो बनाएका छन् । धनुषाका ४ वटा निर्वाचनमध्ये २ वटामा एमाले जितेको छ । धनुषा- ३ र ४ मा महासेठ दम्पत्तीले जितेका छन् । धनुषा- १ मा जनता समाजवादी नेपालका दीपक कार्की र धनुषा- २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन् । धनुषाका ८ वटा प्रदेशसभामा ४ सिटमा एमाले नै विजयी भएको छ । धनुषा- १ ‘क’मा नेपाली कांग्रेसका सञ्जयकुमार महतो र ‘ख’मा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । यस्तै, धनुषा- २ ‘क’मा एमालेका लखनदास तत्मा र ‘ख’मा जसपाका रामअशिष यादव जितेका छन् ।

धनुषा– ३ ‘क’मा नेपाली कांग्रेसका रामसरोज यादव र ‘ख’मा एमालेका दीपेन्द्रकुमार ठाकुर तथा धनुषा– ४ ‘क’मा कांग्रेसका शेषनारायण यादव र ‘ख’मा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । धनुषाको प्रतिनिधिसभा र प्रदेशसभाको परिणामले पार्टी इन्चार्जको रूपमा महासेठले निकै योगदान गरेका देखिन्छ ।

प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ वटा सिटमध्ये एमालेले ९ सिट जितेको छ । प्रदेशसभाको ६४ सिटमध्ये १५ सिटमा जित हासिल गरेर एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको छ । समानुपातिकतर्फ जारी मत परिणामअनुसार कांग्रेसभन्दा थोरै मतले मात्र एमाले पछाडि परेको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा धनुषा– ४ र सर्लाही– ३ मा सीमित भएको एमालेले यस पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप ७ स्थानसहित ९ सिट जितेको हो ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदासमेत एमालेले २ सिट मात्र जितेको थियो । तर, यस पटक एमालेले मधेसमा ठूलो फड्को मारेको छ । कुनै समय एमालेलाई मधेसविरोधी पार्टीको रूपमा चित्रण गरिन्थ्यो । तर, निर्वाचन परिणामले एमालेलाई हेर्ने मधेसको नजर फेरिएको छ । निर्वाचनबाट एमाले मधेसमा बलियो शक्तिको रूपमा उदाएको छ ।

एमालेलाई मधेसमा पहिलो शक्तिको रूपमा स्थापित गर्ने रणनीतिक सूत्रधार महासेठलाई मानिएको छ । मधेसमा महासेठले एमालेको कमान्ड लिएपछि पार्टीको सङ्गठन विस्तार गर्दा प्रभु साहले निर्वाचनको मुखमा पार्टीलाई धोका दिँदा पनि एमालेले मधेसमा बर्चस्व बनाएको छ । मधेसमा एमालेलाई शून्यमा झार्ने साहको प्रयासलाई महासेठले आफ्नो एकल बलबुताले असफल बनाइदिएका छन् ।

महासेठले कमान्ड सम्हालेको मधेसमा पार्टीलाई शक्तिमा फर्काउन निर्वाह गरेको भूमिका एमाले वृत्तमा अहिले चर्चाको विषय बनेको छ । सत्ता गठबन्धनबाट जसपाले आफ्नो कित्तामा ल्याएपछि एमालेलाई केही हदसम्म फाइदा पनि मिलेको छ । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मधेसमै कमजोर बनेपछि एमालेले मौकाको सदुपयोग गरेको छ । एमाले पहिलो शक्ति बनेसँगै मधेसमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पनि उदय भएको छ । ओली नेतृत्वको सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका राउत पनि एमालेप्रति लचिलो छन् ।

एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपालको शक्ति पनि एमालेले मधेसमा छिन्नभिन्न पारेको छ । नेकपा एस प्रतिनिधिसभामा रौतहट– १ र बाराबाट २ सिट र प्रदेशसभामा रौतहट- २ ‘ख’, सर्लाही- १ ‘ख’, सिरहा- ३ ‘ख’ र सप्तरी- ४ ‘ख’ गरी जम्मा ४ सिट मात्र जितेको छ । नेपालको दलको मधेसमा छवि नरहेको पछिल्लो परिणामले दर्शाएको छ । पार्टी विभाजित भएसँगै नेपालको बहिर्गमनबाट गुमेको शक्तिलाई पुनरोदय गर्ने चुनौतीलाई एमालेले यस पटक चिरेको छ ।

प्रतिक्रिया दिनुहोस्