नोभेम्बरमा ७२ हजार बढी विदेशी पर्यटक नेपाल आए



काठमाडौं । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ । यस्तै एसियाका अन्य देशबाट ९ हजार ४ सय १५ जना पर्यटक नेपाल आएका छन् ।

युरोपबाट १७ हजार दुई सय ९९ जना नेपाल आएकामा बेलायतका मात्रै ५ हजार एक सय जना रहेका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डबाट ३ हजार छ सय ७७ जना र अमेरिकी देशबाट ९ हजार १५ जना पर्यटक नेपाल आएका छन् । यस्तै मध्यपूर्वका देशबाट आठ सय ७६ जना र अन्य देशबाट ७ हजार आठ सय ४२ जना गरी नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको नोभेम्बर महिनाको तुलनामा यो सङ्ख्या झन्डै तेब्बरले धेरै हो । गएको वर्षको नोभेम्बरमा २६ हजार एक सय ३५ जना पर्यटक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघिको वर्ष सन् २०१९ मा नेपालमा नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्