सत्ता तानातानमा साना दल



काठमाडौं । नयाँ सरकार गठनमा नयाँ र साना दल निर्णायक हुने भएपछि सत्तारूढ दलका शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ। सङ्घीय र प्रदेश सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति (नाउपा)लगायतका दलको साथ अपरिहार्य बनेपछि ठूला र पुराना पार्टी यी दललाई फकाउन व्यस्त छन्।

बहुमतको सरकारको जोडघटाउ आँकलन भइरहेका बेला जनमत पार्टीले सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ। नयाँ सरकार गठनबारे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतबीच यस्तो छलफल भएको हो । छलफल सकारात्मक बनेको कांग्रेस नेता विमलेन्द्र निधिले बताएका छन् ।

‘गठबन्धन र कांग्रेससँग सङ्घीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने तथा सरकारमा सामेल हुने सहमति भएको छ’, देउवा र राउतबीच सकारात्मक वार्ता भएको उल्लेख गर्दै उनले ट्वीट गरेका छन्। देउवाकै आग्रहमा उनी भेटवार्ताका लागि काठमाडौं आएका हुन्। सप्तरी– २ मा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका छन्। समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाएर सो दलले थप ४ सिट सुनिश्चित गरेको छ । प्रदेशसभातर्फ जनमत पार्टीले ७ सिट पाएको छ।

राउतले बुधबार निधिसँग भेटवार्ता गरेका थिए । सो पार्टीका नेता डा. जयकान्त राउत भने आफ्नो पार्टीले यो वा त्यो दलकै नेतृत्वमा सरकारमा सहभागी हुनेबारे आधिकारिक निर्णय नगरेको बताए। पार्टी अध्यक्ष विभिन्न दलसँगको सम्पर्क र भेटवार्तामा रहे पनि सत्ता गठबन्धन दलसँग सहकार्य हुने/नहुने केही दिनमा टुङ्गो लाग्ने उनको भनाइ छ।

सीकेका सहोदर दाजुसमेत रहेका राउतले भने, ‘कांग्रेस एमाले जुनसुकै दल नेतृत्वको सरकारमा जान हामीलाई आपत्ति होइन, जनताका आधारभूत आवश्यकता, भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जना गर्ने दलहरूसँग जनमत पार्टीले सहकार्य गर्छ।’
सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले भावी सहकार्यबारे प्रष्ट बोलेको छैन। विगतदेखिका आफ्ना माग सम्बोधन भए मात्र सत्ता सहकार्य गर्ने नाउपाको अडान छ। निर्वाचनको पूर्ण परिणाम नआउँदै नाउपाका नेता रेशम चौधरीसँग भेट गरेका नेताहरू दिनहुँजसो चौधरीलाई फकाइरहेका छन्। तर, पार्टी अडानबाट दायाँबायाँ नहुने नाउपाका प्रवक्ता दामोदर पण्डितले बताए।

आफ्नो पार्टी सत्तामा जान नआत्तिएको बताउँदै उनले भने, ‘पार्टीले उठाएका मुद्दा सम्बोधन गर्न जनमत पाएका हौँ, नेताहरूको उधारो आश्वासनमा बिकेर सत्तामा जाँदैनौँ । हाम्रा नेता रेशम चौधरीले जनमत बिर्सिएर कुनै सम्झौता गर्ने कुरा हुँदैन।’ २०७२ सालमा टीकापुरमा भएको झडपमा ८ जना प्रहरी र १ नाबालकसहित ९ जनाको ज्यान गएको घटनामा रेशम चौधरी मुख्य आरोपी छन् ।

सो घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गङ्गाराम डगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरीलाई जन्मकैदको सजाय तोकिएको छ । उनीहरूसहित अन्य ५८ जनालाई राजद्रोहको मुद्दा तोकिएकाले सबैको मुद्दा फिर्ता र जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने नाउपाको अडान छ। नाउपाबाट प्रतिनिधिसभामा ३ जना सांसद निर्वाचित भएका छन्।

कैलाली–१ बाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली– ३ बाट गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । त्यसैगरी बर्दिया– २ बाट रेशमका बुबा लालवीर चौधरी नाउपाकै समर्थनमा स्वतन्त्र सांसद बनेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ७ जना सांसद निर्वाचित भएपछि प्रदेश सरकार गठनमा नाउपाको भूमिका निर्णायक बन्ने देखिएको छ। प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियाबाट २ जना सांसद निर्वाचित भएका छन्। जेलमा रहेका रेशमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका अन्य नेताहरूले सरकार गठनमा सघाउन आग्रह गरेका छन्।

नेकपा एमाले, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा र अन्य साना दलको साथ लिएर सरकार बनाउने गृहकार्यमा लागेका बेला सत्ता गठबन्धन दलले चौधरीसँगको भेटघाट बाक्लो बनाएका हुन्। सरकारमा जान हतार नभएको रास्वपाले जनाएको छ । संसद्मा सशक्त प्रतिपक्षको खाँचो रहेकाले आफूहरू सरकारमा पुग्न नहतारिने सो पार्टीका एक नेताले बताए।

मत परिणामको पूर्ण नतिजा आएपछि मात्र पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। ‘प्रतिपक्षमा रहेर विकृति, विसङ्गतिविरुद्ध निरन्तर र बलियो खबरदारी गर्नुपर्छ भन्ने आन्तरिक छलफल भइरहेको छ’, ती नेताले भने, ‘आधिकारिक धारणा केही दिनमा सार्वजनिक गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्