बाणिज्य सङ्घको निर्वाचनले तात्यो महोत्तरी



  • विशाल बस्नेत

महोत्तरी । प्रदेश र प्रतिनिधिसभाको आम निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा अर्को निर्वाचनको महासङ्ग्राम सुरु भएको छ। राष्ट्रियस्तरमा समेत बेलाबेलामा चर्चा आइरहने बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उघोग बाणिज्य सङ्घ र खानेपानी संस्थानको निर्वाचनले निर्वाचनको अर्को माहोल तातेको हो।

७ पुसमा निर्धारण भएको उद्योग बाणिज्य सङ्घको निर्वाचनका लागि दौडधुप सुरु भएको छ। प्रदेश र प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भएसँगै युवाहरूको भेला बेग्लै बसेको छ भने दलहरू कसलाई नेतृत्वमा पठाउने भन्ने विषयमा गहन छलफलमा जुटेका छन्। झण्डै १ हजार ४०० व्यवसायीहरू अहिले उद्योग बाणिज्य सङ्घ बर्दिबासमा दर्ता छन्। सम्भावित उम्मेदवारहरूले व्यापारीहरूलाई पहिचान गर्ने र आफ्नो पक्षमा पार्ने रणनीतिलाई तीव्र बनाएका छन्।

यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा २ जना मैदानमा देखिएका छन। पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खड्काको बजारमा निकै चर्चा चलेको छ। आधिकारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा नगरे तापनि आगामी नेतृत्वका लागि आफूहरू तयार रहेको बताइरहेका छन्। उपाध्यक्ष गौतमले पत्रकारहरूसँगको अनौपचारिक भेटघाटमा २० वर्षदेखि बाणिज्य सङ्घमा बसेर गरेको कामलाइ अध्यक्षको नेतृत्व लिएर अगाडि बढ्न चाहेको बताए।

त्यस्तै, खड्काले पनि विगतमा सामाजिक संस्थाहरूमा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग बाणिज्य सङ्घमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन्। त्यसो त यसै संस्थामा पूर्वमाहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन्।

यता, बजारमा चर्चा चलेका अकाङ्क्षी उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा स्थानीय युवाहरूका छुट्टाछुट्टै भेला सम्पन्न भइसकेका छन् । युवाहरूको समूहबाट प्यानल नै चुनावी मैदानमा होमिने चर्चा चलेका उम्मेदवारमध्येकालाई समातेर युवाहरू नेतृत्वमा सहभागी हुने भन्ने विषयमा छलफल गरिरहेको शैलेश दाहालले जानकारी दिए । सत्ता गठबन्धनले खड्कालाई साथ दिने बताएको छ भने गठबन्धनइतरबाट गौतम छन् । गौतमलाई स्वतन्त्रको साथ छ भने नेकपा एमालेले पनि गौतमलाई साथ दिने सङ्केत गरेको छ ।

संस्थाको नेतृत्वदायी भूमिका स्वतन्त्र भए तापनि गौतम र खड्काले नेतृत्वमा पुग्न राजनीतिक दलसागको छलफललाई समेत तीव्रता दिएका छन्। दुवै जनाले युवाहरूलाई एकीकृत गरेर अगाडि बढ्ने बताएका छन् तर खड्का र गौतमलाई प्यानल निर्माण गर्नमा नै निकै ठूलो सकस बनेको छ। अकाङ्क्षीहरूको सङ्ख्या अधिक हुँदा प्यानल निर्माण गर्न सकस बनिरहेको चर्चा चलेकामध्येका अध्यक्षका अकाङ्क्षी गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्