म्यानमारमा सरकारविरुद्ध प्रदर्शन गर्ने ७ जना जिद्यार्थीलाई मृत्‍युदण्डको सजाय



काठमाडौं । म्यानमारमा सरकारविरुद्ध प्रदर्शन गर्ने ७ जनालाई मृत्‍युदण्डको सजाय सुनाइएको छ । उनीहरुलाई म्यानमारको सैन्य अदालतले उक्त सजाय सुनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डिप्लोम्याटका अनुसार सजाय पाउनेहरु स्थानीय डेगन विश्वविद्यालयका विद्यार्थी हुन् । उनीहरुलाई गत अप्रिलमा गिरफ्तार गरिएको थियो ।

सजाय पाउनेहरुमा खान्ट जिन विन, थुरा माउङ मोङ, जाव लिन नाइङ, थिहा हेट जाव, हेन हेट, थेट पिङ ओ, र खान्ट लिन माउङ माउङ रहेका छन् । रिपोर्टका अनुसार यी सबै विद्यार्थीहरु बैंक म्यानेजर तथा पूर्वसैनिक अधिकारीको हत्यामा संलग्न रहेको आरोप लगाइएको थियो ।

म्यानमारको मिडिया पोर्टल द इरावदीका अनुसार फेब्रुअरी २०२१ को ‘कु’ पश्चात म्यानमार सरकारले २५ सय जनाको हत्या गरेको छ । सरकारले विरोधलाई दबाउन र विपक्षीलाई कारबाही गर्न मृत्युदण्ड दिने गरेको आरोप छ। पोर्टलका अनुसार म्यानमारमा ४० वर्षपछि गत जुलाईमा कसैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्