हिउँचितुवाबारे छैन सूक्ष्म अध्ययन



काठमाडौं । अमेरिकी फोटोग्राफर कित्तिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँचितुवाबारेका तस्बिरले गत महिना राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलै चर्चा पायो। खुम्बू क्षेत्रको ५ हजार ४८६ मिटरको उचाइका तस्बिर र पावलोस्कीको तारिफ लामो समय टिकेन।

तथ्य परीक्षण गर्दा तस्बिर फोटोसप गरिएको पुष्टि भएपछि पावलोस्कीको आचोलना मात्रै होइन, सञ्चारमाध्यमको कार्यशैलीसमेत ‘कागले कान लग्यो भन्दैमा पछि दगुर्ने’ उक्तिसँग मेल खाएको छ।फ्रान्सेली तथा अंग्रेजी भाषाको चर्चित अल्पाइन म्यागजिनले हिउँचितुवाबारेका तस्बिर नक्कली भएको र फोटोसपको प्रयोग गरी बनाइएको पुष्टि गरेको छ। पावलोस्कीले गत २२ असोजमा हिउँचितुवाको तस्बिर खिचेको दाबी गर्दै आफ्नो वेबसाइटमा राखेपछि सो विषय अधिकांश सञ्चारमाध्यममा छाएको थियो।

हिमाली क्षेत्रको सद्भावना दूत भनिने हिउँचितुवा दक्षिण एसिया तथा मध्य एसियाका विभिन्न १२ देशमा मात्रै पाइन्छ । नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, काजकस्तान, किर्गिस्थान, ताजिकिस्तान, रुस, मंगोलिया र चीनका प्राकृतिक बासस्थानमा यो जन्तु पाइएको छ। यी देशहरूमा यसको सङ्ख्या करिब ५ हजार रहेको अनुमान गरिएको छ। म्यानमार, बंगलादेश, थाइल्यान्ड र लाओससम्म पनि यस जनावरको भौगोलिक फैलावट भएको अनुमान गरिएको छ।

नेपालमा ३ देखि ५०० तथा चीनमा सबैभन्दा बढी २ हजार ५०० हाराहारीमा हिउँचितुवा भएको विज्ञहरूको ठहर छ । कञ्चनजङ्घा, मकालु वरुण, सगरमाथा, गौरीशङ्कर, लाङटाङ, मनासलु, ढोरपाटन, अन्नपूर्ण, शे–फोक्सुण्डो, रारा, अपिनाम्पा जस्ता नेपालका संरक्षित क्षेत्रमा हिउँचितुवा अभिलेख भएको छ । संरक्षण क्षेत्रबाहिर अरुण उपत्यका, गणेश हिमाल आसपासका क्षेत्र, बझाङलगायत क्षेत्रमा यो जन्तु पाइएको हिउँचितुवा अध्येता कमल थापाले बताए।

सुरक्षित हिमालको सूचक मानिने हिउँचितुवाको बासस्थान ३ हजार मिटरदेखि माथिल्ला भेग रहेको बताउँदै उनले भने, ‘विस्तृत जटिल भूगोल र पर्याप्त स्रोतसाधन अभावमा हिउँचितुवाको सङ्ख्या र अन्य पक्षबारे राम्रो अध्ययन अनुसन्धान हुन सकेको छैन ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको अध्ययनअनुसार डोल्पामा ५ हजार ८०० मिटर उचाइसम्म हिउँचितुवा अभिलेख भएको छ । यसको उपल्लो विचरण क्षेत्र ५ हजार मिटर आसपासमा रहने विभागका अधिकारी बताउँछन् ।

नेपालमा संरक्षित र दुलर्भ सूचीमा रहेको यो जन्तुलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन)ले ‘असुरक्षित’ सूचीमा समावेश गरेको छ। सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी महासन्धि (साइटिस)ले अनुसूची– १ मा समावेश गरेको छ । साइटिसको अनुसूची– १ मा लोप हुने स्थितिमा रहेका जीवजन्तु र वनस्पति सूचीकृत छन्।

हिउँचितुवा आफूभन्दा ३ गुणा ठूला याक, चौँरी, घोडा, गाईलगायत घरपालुवा र अन्य जङ्गली जनावरलाई सहजै सिकार गर्ने स्वभावको हुन्छ। नाउर, झारल जस्ता जीवजन्तु र हिमाली भेगका घरपालुवा जनावरको समेत सिकार गर्ने भएकाले यो जन्तु आहारा सहजै भेटिने क्षेत्र आसपासमा रहने हिउँचितुवाको पारस्थितिकीबारे विद्यावारिधिरत थापाले बताए ।

वन्यजन्तु विभाग र डब्लूडब्लूएफले रेडियो कलर जडान गरेको हिउँचितुवा ५ हजार ८०० मिटर उचाइमा अभिलेख भए पनि सिकार गर्ने क्रममा सो उचाइमा नपुगेको उनको ठहर छ। ‘एउटा विचरण क्षेत्रदेखि अर्को क्षेत्र जाने क्रममा सो उचाइमा पुगेको रेकर्ड छ, तर हिउँचितुवाको नियमित चहलपहल भने झारल, घोरल र अन्य जन्तु पाइने ठाउँमा भएको देखिन्छ’, थापाले भने ।

यो जन्तुको विचरण क्षेत्र, आहारा, वासस्थान, मानवसँगका द्वन्द्वका घटना न्यूनीकरण गर्न कञ्चनजङ्घा, डोल्पा, अन्नपूर्ण, मनासलुलगायत केही क्षेत्रमा रेडियो कलर जडान भए पनि यस्तो अध्ययन नियमित नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्