डिपोमा इन्धन आएको ६ महिना भयो, तर हुन सकेन रिफिल



दाङ । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ । तर, जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो ।

भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । मंगलबारमात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुईवटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मंसिर १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरू नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सुचारु हुने र रिफिलको काम हुनेछ ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौंबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।

अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । अहिले दाङ(काठमाडौँ हवाई भाडा न्यूनतम आठ हजार आठ सय १० छ भने अधिकतम १२ हजार छ सय ६५ रुपैयाँ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको र दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैयाँ बढी लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्