विभिन्न माग राख्दै अटो व्यवसायीहरू धर्नामा, चरणबद्ध आन्दोलनको चेतावनी



काठमाडौं । विभिन्न माग राख्दै अटो व्यवसायीले बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । सवारीसाधनको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण बिक्री गर्ने वातावरण नभएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीले धर्ना दिएका हुन् ।

उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गरेका छन्। अटो व्यवसायीले अगाडि सारेका माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। धर्ना कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष ध्रुव थापाले सवारी आयात खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने बताए। उनले गाडी आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेको बताए।

उनले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको उल्लेख गरे। सरकारले गाडीको आयात खुलाए पनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको भनाइ छ।

अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाबमूलक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीका मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बजारमा तरलता अभाव, ब्याजदर वृद्धिजस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा सरकारले व्यवसाय गर्ने वातावरण नदिएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्