तार्केश्वारमा ९० वर्षीया वृद्धाको हत्या



काठमाडौँ । काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका–६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो।

घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। मंसिर २० गते मात्रै उनी हराएको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन परेको थियो।

दुई दिनपछि ती वृद्धाको शव जंगलमा फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। शव फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन् भने लाठी टेकेर हिँड्थिन्। उनका एक छोरा र चार छोरी छिन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्। २० गते आमालाई घरमा नदेखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि हराएको भन्दै प्रहरी वृत्तमा निवेदन समेत दिएकी थिइन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती वृद्धाको टाउकोमा भित्री चोट छ। जंगलमा फेला परेको उक्त शव भएको ठाउँमा घिसारिएको पनि देखिए र दाहिने गालामा जंगली जनावरले समेत खाएको देखिएको प्रहरीले बताएको छ।

यसको अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ। यसमा विभिन्न पाटोबाट अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ। यद्यपि कसैलाई पक्राउ गरिनसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्