पुनः मतदान र मतगणना हुँदैन : दिनेश थपलिया



विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र मतगणना नहुने बताएका छन् । ४ मंसिरमा भएको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र मतदान गर्न नपर्ने बताए।

‘आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’

निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्