नेप्से सूचक : ३ प्रतिशतमाथिले बढ्दै १९ सयको बिन्दु चुम्यो



काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेले सोमबार आधा शतक पुरा गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै नेप्से सूचकमा ३ प्रतिशतमाथिले बढ्दै १९ सयको बिन्दु चुमेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ५६.८६ अंकले बृद्धि हुँदै १९२४.०७ अंकमा उक्लिएको छ भने २ अर्ब ९ करोड ७० लाख रूपैयाँ माथिको सेयर कारोबार भएको छ। आज सेन्सेटिभ इन्डेक्स समेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ। अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन्।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.५२ प्रतिशतले बढेको छ भने आज हाइड्रोपावर समूह ५.१६ प्रतिशत, डेभलपमेन्ट समूहको उपसूचक ४.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूह ४.१६ प्रतिशतले बढेको छ। यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ३.३८ प्रतिशतले बढ्दा यता बैंकिङ समूहको उपसूचक आज ३.३५ प्रतिशतले बढेको छ।

आज एक दर्जन बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेको छ।

प्रतिक्रिया दिनुहोस्