चालु पूँजी कर्जा मार्गदर्शन उद्योगीको सबैभन्दा ठुलो समस्या



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पूँजी कर्जा मार्गदर्शन रहेको बताएका छन्। मंगलबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उनले निजी क्षेत्रको विषयमा भएको समस्याको विषयमा जानकारी गराउँदै यस्तो बताएका हुन् ।

उनले प्रधनमन्त्री र अर्थमन्त्रीलाई यसलाई कम्तीमा २ वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएको समेत महासंघले जनाएको छ। मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाको भनाइ छ।

महासंघका टोलिले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका छन् । महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेको महासंघले जनाएको छ। अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेश गरेका छन्।

अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरेको समेत महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताएका छन् । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको समेत महासंघको भनाइ थियो ।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार गम्भीर रहेको बताए । सरकार निजी क्षेत्रबीचको सम्बन्ध अन्योन्याश्रित रहेको बताए । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ भन्दै उनले मनोबल उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्