परिवारलाई भिडियो सन्देश पठाएर १२ तलाबाट हाम फालेका झापाका पाण्डेको मृत्यु



काठमाडौं । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

‘बैंककस्थित नेपाली राजदूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं‚’ उनले भने ।

बिर्तामोड-१‚ झापाका पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

बिर्तामोडमा रहेका हजुरबुबा-हजुरआमा र मामाघरतर्फका हजुरबा-हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा-मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा-राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको खड्काले बताए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ । उक्त क्यासिनोमा ४०० जना कार्यरत रहेको र त्यहाँ कार्यरतमध्ये अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ ।

‘आगलागीबाट बच्नका लागि भवनबाट कुद्दाकुद्दै गरेको दृश्य हामीले देखिरहेका थियौं‚’ उद्धारकार्यमा खटिएका एक स्वयंसेवकले भने‚ ‘भवनबाट मानिसहरू हतोत्साहित भएर हामफालिरहेका पनि थिए ।’ भवन कुइरी मण्डल भएकाले त्यहाँभित्र जानका लागि उद्धारमा खटिएकाहरूलाई अप्ठ्यारो परिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्