भारतमा कोरोना बढेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता



वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ । हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजरलगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिएका छन् ।

कोभिड सङ्क्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

अहिले दैनिक एक जनाको एन्टिजेन परीक्षण हुनाका साथै दुई सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्कका चिकित्सक डा अनिसा साहले जानकारी दिएका छन् । नेपालीको तापक्रम स्क्रिनिङ गर्ने गरिएको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको हेल्थ डा साहले बताए ।

हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । हेल्थ डेस्कको सरसफाइ र मर्मतसम्भार गर्नुपर्ने कामलाई अघि बढाउन पनि कर्मचारीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् ।

महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्दै

यहाँको घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार वीगञ्ज महानगरपालिकाले व्यवस्थापन गरेको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमका खम्बामा गुजुल्ट्याएर राखिएका तार हटाएको हो ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केबल टिभीका प्रतिनिधिसहितको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्मका खम्बामा रहेका अव्यवस्थित तार हटाएको छ । जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिग्रिर्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवाप्रदायकको सहमतिमै व्यवस्थापन गर्न थालेको हो ।

यसअघि टोलीले आदर्शनगर क्षेत्रका खम्बामा टाँगिएका तार काटेर हटाएको थियो । महानगरका प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ ।

इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरका सूचना प्रविधिक शाखाका बृजेश प्रधानले जानकारी दिएका छन् । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्थाअनुसार मात्रै लगाउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्