टी-२० लिग विवादमा गृह मन्त्रालय र राखेपको चासो



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी– २० लिगमा खेल मिलोमतो (म्याच फिक्सिङ)को आशङ्का गरिएको छ । म्याच फिक्सिङको आशङ्कापछि गृह मन्त्रालयले यसमा छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएको छ ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएको बारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई मङ्गलबार निर्देशन दिएका हुन् । सीआईबीले मङ्गलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ । सट्टेबाजीमा सरिक हुने गरेको सेभेन थ्रीलाई नेपालको प्रतिष्ठित आधिकारिक क्रिकेट प्रतियोगिता सञ्चालनको अधिकार दिने क्यानको निर्णय पनि अहिले विवादमा परेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् । मङ्गलबार नै प्रतियोगिताको एक फ्रेन्चाइज टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका १ खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

उनले तत्कालै क्यान र आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी गराएको बताएका थिए । प्रतियोगितामा खेलहरूको अवस्था, खेलाडीको शङ्कास्पद गतिविधिलगायतका कारण देखाएर प्रतियोगिताका टीभी कमेन्टेटर सचिन तिमल्सिनाले पनि जिम्मेवारी छाडेका छन् ।

समाचार स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले यसमा चासो दिन थालेको छ । अहिले परिषद्ले यसै बहानामा क्यानको नेतृत्व परिवर्तन गर्ने तयारीसमेत गरिसकेको छ । मङ्गलबार मन्त्री लामिछाने र परिषद् नेतृत्व दुवैले यस घटनामा चासो दिएपछि बुधबार नै खेल स्थगित हुने सम्भावना प्रबल भएको छ ।

प्रतिक्रिया दिनुहोस्