प्रियङ्कालाई भूतभन्दा चोरको डर !



काठमाडौं । अभिनेत्री प्रियङ्का कार्कीले आफ्नो करियरमा प्रेमकथा, कमेडी र हरर थ्रिलर जनराका फिल्ममा अभिनय गरिसकेकी छिन्। तर हरर थ्रिलर जनराका फिल्ममा काम गर्दाको अनुभव उनका लागि विशेष छ । प्रियङ्काको बुझाइमा उनी ‘भूत’सँग नभई ‘चोर’सँग डराउँछिन् ।

‘वास्तविक जीवनमा मेरो कहीँकतै भूतसँग इन्काउन्टर भयो भने म डराउँदिनँ। किनकि मैले कुनै गल्ती नगरीकन यतिकै कसैले मलाई हानि गर्दैन । सुन्दा हाँसो लाग्ला, मलाई भूतभन्दा चोरसँग बढी डर लाग्छ। किनकि उनीहरूले हामीलाई हानि गर्न सक्छन्’, बिहीबारको भेटमा प्रियङ्का भन्दै थिइन्। ललितपुरको भैँसेपाटीस्थित महतो मार्गमा रहेको प्रियङ्काको घरमा गत ७ कात्तिकमा चोरी भएको थियो। चोरले उनको घरबाट ३० हजार रुपैयाँ र ५ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना चोरेको थियो। घरमै चोरीको घटना भएपछि आफू चोरसँग डराउने गरेको उनको भनाइ थियो।

प्रियङ्का अभिनीत हरर थ्रिलर जनराको फिल्म ‘चीँ मुसी चीँ : इभन डेड डिजायर बिलंगिङ’ आज शुक्रबारबाट नेपालमा रिलिज हुँदै छ। उनले यसअघि यस्तै जनराको फिल्म ‘आवरण’ र ‘माला’मा अभिनय गरिसकेकी छिन् । फरक यत्ति हो कि ‘माला’मा उनी नै भूत थिइन्, तर ‘आवरण’ र ‘चीँ मुसी चीँ ः इभन डेड डिजायर बिलंगिङ’मा अन्य पात्र भूत थिए।

प्रियङ्काको अनुभवमा ‘माला’मा काम गर्दा उनी नै भूत बन्नुपर्ने भएपछि त्यो भूमिका कसरी निभाउने भन्ने चुनौती थियो । किनकि भूत कसरी बन्ने र कहाँ गएर सिक्ने भन्ने सम्भावना केही थिएन। ‘त्यो फिल्ममा म एउटा रूखमा झुन्डिनुपर्ने दृश्य छ । तर संयोग कस्तो रह्यो भने म जुन ठाउँमा झुन्डिनुपर्ने थियो, त्यो रूखमा धेरै अगाडि कोही महिला झुन्डिएर आत्महत्या गर्नुभएको रहेछ। सुटिङ हेर्न आएका स्थानीय महिलाले भनेपछि म झसङ्ग भएँ,’ प्रियङ्का भन्छिन्, ‘सुटिङ सकेर घर आइपुग्दा २ महिनासम्म दिमागमा ‘माला’कै ह्याङ थियो । म कोहीसँग बोल्दिनँ थिएँ । त्यो फिल्मले मलाई एक्दमै हान्यो।’

‘माला’को सुटिङ पूरा गरेपछि प्रियङ्काले सपनामा पनि २–३ पटक झुन्डिएको मान्छे देखेकी रहिछन्। उनको बुझाइमा आफैँ भूत हुनुपर्ने र घाम नदेखिने जङ्गलमा बस्नुपरेकाले पनि त्यो असर उनमा देखिएको थियो। प्रियङ्कालाई भूत छ भन्ने कुराको विश्वास छ । तर, उनकै भनाइमा ‘फिल्मको जस्तो ‘हे’ भन्दै जो आए पनि मारिदिन्छु’ भन्ने खालको हुन्छ भन्ने उनलाई लाग्दैन।

‘म होस्टलमा २ वर्ष बसेँ । होस्टलकै बेला भूत छ भन्ने अनुभव दुई पटक गरेँ। होस्टलमा राति बच्चाहरू दौडिएको, रोएको आवाज आउँथ्यो। त्यो आवाज हामी सबैले सुन्थ्यौँ’, प्रियङ्का सम्झिन्छिन्, ‘म बस्ने कोठामा डबल डेक बेड थियो। बेडको माथि म सुत्थेँ । हामी परीक्षाको तयारी गरिरहेका थियौँ। मेरो छेउमा झ्याल थियो। त्यहाँबाट तल हेर्दा तल ८–९ वटा ट्वाइलेट बाथरुम देखिन्थ्यो। त्यहाँ कल थियो। त्यो कल आफैँ चल्थ्यो र पानी आउँथ्यो। होस्टलको छतमा राति मान्छे कुदेको, कुटेको आवाज आउँथ्यो। त्यहाँ गएर हेर्ने आँट कसैले गरेनन् । एक दिन हामी डराइडराई हेर्न गयौँ । त्यहाँ केही थिएन। पछि बुझ्दा थाहा भयो हामी बसेको होस्टल भएको ठाउँमा वर्षौंअघि एक बालिकालाई गाडिएको रहेछ। त्यही भएर तर्साउँदो रहेछ।’

फिल्म ‘चीँ मुसी चीँ : इभन डेड डिजायर बिलंगिङ’मा प्रियङ्काका अभिनेता पति आयुष्मान देशराज जोशीको पनि अभिनय छ। उनले पनि वास्तविक जीवनमा आफूले भूत देखेको सुनाए। फिल्मका निर्माता अरुण चक्रवर्तीले वास्तविक घटनालाई फिल्ममा प्रस्तुत गरेकाले दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए। ‘कुनै भूतले एउटा परिवारलाई कसरी प्रभाव पार्छ भन्ने कुरा हामीले फिल्ममा देखाएका छौँ । विशेषतः शहरियाले सायदै नदेखेका घटना र विषयलाई फिल्ममा हेर्न पाउनेछन्’, उनले भने।

मर्ण जेम्स र यश सैनीको निर्देशन रहेको फिल्ममा ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रवीन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभूति नेपाललगायतको पनि अभिनय छ। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रिन्जु केसीको निर्माण तथा अरुण चक्रवर्तीको प्रस्तुति छ ।

प्रतिक्रिया दिनुहोस्