आम सहमति गरेर प्रदेशको नाम राख्छु : मुख्यमन्त्री कार्की



काठमाडौँ। प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् ।

आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं। यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो।’

प्रदेशको नामकरण प्रदेशसभाको २ तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ। २०७४ सालमा गठन भएको प्रदेशसभाको कार्यकाल नामकरण नगरी सकिएको थियो।

मुख्यमन्त्री कार्कीले सुशासनको प्रत्याभूति हुने गरी प्रदेश संरचना स्थापित गर्नु आफ्नो मुख्य एजेण्डा हुने पनि बताए। सुशासनको अनुभूति गराउँदा नै प्रदेश संरचना बलियो हुने उनको भनाइ छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका हुन्। कार्कीले प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्री भएर काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्