प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि जिप्रका भक्तपुरबाट १५ मिनेटमै सेवा दिन सुरु



भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले दिने सेवा अब १५ देखि ४५ मिनेट भित्रमा दिइसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को निर्देशनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट व्यहोर्नु नपरोस्, छिटोछरितो रुपमा सेवा प्रदान गर्न सकियोस्, सेवाग्राहीले सहज र समयको बचत भएको महसुस गरून् भन्ने उद्देश्यले जिल्ला प्रशासनका टाइम कार्ड अर्थात् समय तालिका लागू गरेर उक्त सेवा दिन थालिएको बताइन् ।

प्रजिअ शर्माले भनिन्, ‘सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेका हौँ, गत शुक्रबारदेखि यसको शुभारम्भ गरे पनि आजदेखि यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ, अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरी प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न थालेका छौँ ।’

उनका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्रै नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसीलगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोलमेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ।

त्यस्तै राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट, मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेटमा सेवाग्राहीलाई सेवा उपलब्ध गराइसक्ने गरी टाइम कार्ड निर्धारण गरिएको छ। मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको छ।

प्रजिअ शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन टाइम कार्ड लागू गरिएको बताउँदै छिटो र छरितो सेवा प्रवाहका लागि कर्मचारी व्यवस्थापन सोही अनुरुप गरिएको बताइन् । सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको र गुनासो आएमा तत्कालै सुनुवाइ गरिने पनि बताइन्।

जिल्लाको प्रमुख सरकारी कार्यालयमै ढिलासुस्ती भएको गुनासो नआओस् र जनताले सहज सेवाको अनुभूति गर्दै राज्यको उपस्थितिको महसुस गरून् भनेर पहिलो पटक प्रशासने टाइम कार्ड लागू गरिएको छ । सबैले देख्ने गरी कार्यालयमा टाइम कार्ड लागू गरिएको बोर्डसमेत राखिएको छ। टाइम कार्ड लागू भएपछि यसले कर्मचारीलाई समेत थप जिम्मेवारी बनाएको प्रशासन कार्यालयले जनाएको छ ।

समय व्यवस्थापनको दृष्टिले पनि यो सेवाप्रवाहका लागि वैज्ञानिक भएको प्रशासन कार्यालयले जनाएको छ ।

आवश्यक कागजपत्र पूरा नभएका सेवाग्राहीलाई आवश्यक कागजपत्र के के चाहिन्छ, जानकारी गराएर फर्काइने र कागजजात पूरा भएका सेवाग्राहीले तोकिएको समय भित्रै सेवा पाउने सुनिश्चितता प्रशासनले गरेको छ। त्यसबाहेक अपाङ्गता भएका, अशक्त, ज्येष्ठ नागरिक, दूधे बच्चा बोकेको महिला लगायतलाई टाइम कार्डभन्दा पनि प्राथमिकतामा राखेर पहिलो सेवा प्रवाह गरिने भएको छ। कार्यालयमा आउन नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकका लागि भने प्रशासनले घरमै पुगेर सेवा प्रवाह गर्दै आइरहेको छ।

जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लाका अन्य सरकारी कार्यालयले पनि टाइम कार्ड लागू गरेर सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने सेवाग्राहीको माग छ। सेवा लिन पुगेका सेवा ग्राहीहरुले प्रशासनको यो काम साह्रै सराहनीय भएको र बल्ल देशमा सरकार भएको अनुभूति भएको बताएका छन् । उनीहरुले अब अरू सरकारी कार्यालयले पनि यस्तै व्यवस्था गर्नु पर्ने माग गरेका छन् । मालपोतदेखि यातायात कार्यालयमा दिनै माया मारेर घण्टौँ लाइन बसेर सेवा लिनुपर्ने व्यवस्थाको अन्त्य गरेर टाइम कार्ड लागू गर्न सके आम जनताले सरकार भएको अनुभूति गर्न सक्ने सेवा ग्राहीको भनाई छ ।

सेवा लिन प्रशासन आउने अधिकांश सेवाग्राहीले प्रशासनको टाइम कार्ड एकदमै राम्रो र सहज भएको भन्दै सबै कार्यालयमा यस्तो व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्