नयाँ संसद्को पहिलो बैठक आज, यस्तो छ कार्यसूची



काठमाडौं । सोमबार (आज) दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। ४ मङ्सिरमा सम्पन्न निर्वाचनबाट चुनिएका नवनिर्वाचित सांसदहरूको सहभागितामा आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा अधिवेशन आह्वानसम्वन्धि राष्ट्रपति पत्र वाचन गरेर सुनाउने, राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरेको र मन्त्रिपरिषद् गठन गरेको पत्रबारे जानकारी गराउने र दिवंगत सांसद्हरुप्रति शोक प्रस्ताव पारित गर्ने प्रारम्भिक कार्यसूची छ।

सरकारको आग्रहमा १२ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन्। २७५ सिटको प्रतिनिधिसभामा आज १२ वटा दलका २७० जना र ४ जना स्वतन्त्र सांसदहरूको उपस्थिति हुँदै छ। आजको बैठकमा कांग्रेसका ८८ जना सांसद उपस्थित हुँदै छन्।

कांग्रेसबाट ८९ जना विजयी भए पनि कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ भने आजको बैठकमा सहभागी हुनेछैनन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको सांसद पद निलम्बनमा परेको छ। ७९ जना सांसद रहेको एमाले दोस्रो ठूलो दलको रूपमा सहभागी हुँदै छ। चुनावबाट ७८ जना निर्वाचित भए पनि रौतहट– २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभाका सांसद बनेका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेसँगै एमालेको सांसद सङ्ख्या ७९ पुगेको छ।

त्यस्तै, ३२ सिटसहित तेस्रो भएको नेकपा (माओवादी केन्द्र)का सांसद सत्ता पक्षका रूपमा संसद्मा उपस्थित हुँदै छन्। १० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी, १२ सिटको जनता समाजवादी पार्टी, ६ सिटको जनमत र ३ सिटको नागरिक उन्मुक्ति पार्टी पनि सत्ता पक्षका रूपमा संसद् बैठकमा उपस्थित हुँदै छन्। बैठकमा १० सिट रहेको नेकपा (एकीकृत समाजवादी), १÷१ सिटका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि रहनेछन्।

प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भए पनि राष्ट्रिय दलको मान्यता भने ७ वटा दलले मात्र पाएका छन्। प्रत्यक्षमा न्यूनतम १ जना सांसद विजयी र समानुपातिक मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्थाअनुसार ७ वटा दल मात्र राष्ट्रिय दल बनेका हुन्। कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्। प्रतिनिधिसभाको अधिवेशन/बैठक सुरु भएसँगै आजदेखि प्रधानमन्त्रीले विश्वासको मत लिने र सभामुखको चयन प्रक्रिया पनि सुरु भएको छ।

आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएका संसद् आह्वानसहितका विभिन्न पत्रहरू सभाध्यक्ष पशुपतिशम्शेर राणाले पढेर सुनाउनेछन् । संसद् बैठक आह्वानको पत्र पढेर सुनाइसकेपछि राणाले अन्य सांसदहरूको स्वागत गर्नेछन्। त्यस्तै, संसद् भवनभित्र सिट व्यवस्थापनका बारेमा पनि जानकारी गराइनेछ भने संसद् सचिवालयका अनुसार सबै दलका नेताहरूको मन्तव्य तथा सम्बोधनका लागि २ घन्टाको समय पनि छुट्याइएको छ।

पशुपतिशम्शेरले गर्नेछन् बैठकको अध्यक्षता

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ। सभामुख र उपसभामुख चयन नहुँदाको समयसम्म ज्येष्ठ सदस्यले नै संसद् बैठकको अध्यक्षता गर्ने व्यवस्था छ।

यसै व्यवस्थाअनुसार यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिकबाट चुनिएका सांसद पशुपतिशम्शेर राणाले संसद् बैठकको अध्यक्षता गर्नेछन्। सम्भव भएसम्म सबै दलका कम्तीमा १ जना सदस्यलाई अघिल्लो लहरमा राख्नेगरी व्यवस्था मिलाइएको संसद् सचिवालयले जनाएको छ।

सभामुखको निर्वाचन प्रक्रिया पनि सुरु

प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसै व्यवस्थाअनुसार आजको बैठकपछि सभामुख र उपसभामुखको चयन प्रक्रियाले पनि गति लिनेछ।

सम्भवतः यस पटक प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सभामुख र उपसभामुुखको निर्वाचनको मिति तोकिन सक्छ। संसद् बैठकले निर्वाचनको मिति निर्धारण भएपछि सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न महासचिवलाई निर्देशन दिन्छ। त्यसपछि मात्र संसद् सचिवालयले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्नेछ र निर्वाचित सभामुखको घोषणा पशुपतिशम्शेरले गर्नेछन्।

संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखमध्ये १ जना पुरुष र १ जना महिला हुनुपर्ने उल्लेख गरेको छ। शुक्रबार बसेको सर्वदलीय बैठकमा सभामुख र उपसभामुखको निर्वाचन मिति प्रस्ताव गर्ने विषयमा एक चरण छलफल भइसकेको छ। पहिलो बैठक बसेको १५ दिन अर्थात् ९ माघभित्र सभामुख, उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ । यसका लागि ७ माघ वा ९ माघका लागि मिति तोक्न सक्ने देखिएको छ ।

विश्वासको मत

संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रतिनिधिसभा सदस्यले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यसै व्यवस्थाअनुसार १० पुसमा एमालेसहित ७ वटा दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० माघभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्नेछ।

गठबन्धनको सरकार बनेको अवस्थामा प्रचण्डलाई प्रतिनिधिसभाका कमसेकम १३८ जनाले प्रधानमन्त्रीको रूपमा समर्थन दिनुपर्ने हुन्छ। सर्वदलीय बैठकमा विश्वासको मत प्रयोजनका लागि भोलि बिहान ११ बजे प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ । त्यस अगावै आजको पहिलो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीबाट आएको पत्रबारे संसद्लाई जानकारी दिइनेछ र औपचारिक रूपमा विश्वासको मत लिने दिन तोकिनेछ ।

पुरानै नियमावलीमा चल्नेछ संसद्

प्रतिनिधिसभा पुरानै नियमावलीबाट सञ्चालन हुने भएको छ । तत्कालका लागि प्रतिनिधिसभा नियमावली, २०७५ बाटै प्रतिनिधिसभा सञ्चालन गर्ने निर्णय भएको संसद् सचिवालयले जनाएको छ। आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको एजेन्डा तय गर्न ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले गत शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक राखेका थिए।

संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा प्रतिनिधि उपस्थित बैठकले अहिलेकै नियमावलीका नियमअनुसार अघि बढ्ने निर्णय गरेको हो। बैठकमा आगामी दिनमा नियमावली संशोधन गर्दै जाने र अहिले पुरानै नियमावलीअनुसार अघि बढ्ने सहमति भएको थियो। संसद् सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७५ मा त्रुटि रहेको भन्दै दलहरूबीच सहमति भएको अवस्थामा संशोधन गर्नेगरी प्रस्तावसमेत तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्