प्रदेश १ नेतृत्वमा एउटै पुस्ताको वर्चस्व



विराटनगर । प्रदेश– १ ले लगातार एउटै पुस्ताको नेतृत्व पाएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।उनको नियुक्तिसँगै प्रदेश १ ले एउटै पुस्ताका ३ जनालाई मुख्यमन्त्रीको रूपमा पाएको हो।

एमाले, नेकपा माओवादी केन्द्र राप्रपा र जसपाका बहुमत सांसदको समर्थनमा कार्की मुख्यमनत्री नियुक्त भएलगत्तै उनले मन्त्रिपरिषद् गठनको तयारी थालेका छन्। प्रदेश– १ मा मुख्यमन्त्रीको जिम्मेवारी पाएका शेरधन राई, राजेन्द्र राई र हिक्मत कार्की समकालीन पुस्ताका हुन् । यीभन्दा केहीअघिको पुस्ताका भीम आचार्य बीचमा छोटो समय मुख्यमन्त्री भएका थिए।

प्रदेश– १ ले शेरधन राईलाई पहिलो मुख्यमन्त्रीका रूपमा पाएको थियो। ३ फागुन २०७४ मा राईले दुई तिहाइ बहुमतसहित प्रदेश– १ को नेतृत्व गरेका थिए। १० भदौ २०७८ मा उनी पदमुक्त भएका थिए। नेकपा विभाजनसँगै राईको स्थानमा आचार्य मुख्यमन्त्री भएका थिए। १० भदौ २०७८ मा आचार्य मुख्यमन्त्री भएका हुन्।

सुरुआती दिनमा माधव नेपाल पक्षमा रहेका आचार्य नेपालले पार्टी विभाजन गर्दा एमालेमै रहेर मुख्यमन्त्री भएका हुन्। उनी यस अगाडि शेरधन राई मुख्यमन्त्री बनेको समयमा नेपाल कित्ताबाट मुख्य दाबेदार थिए । १६ कात्तिक २०७८ मा राजेन्द्र मुख्यमन्त्री भएका हुन्।

उनी पछिल्लो संसद्को अन्त्यसम्म मुख्यमन्त्री थिए। राजेन्द्र र हिक्मत दुवै जनाले एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको नेतृत्व गरिसकेका छन्। यसैगरी हिक्मतले नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरेका थिए भने राजेन्द्रले रत्नराज्यलक्ष्मी क्याम्पसमा पकड जमाएका थिए।

सोही पुस्ताका शेरधन भने सुरुआती दिनदेखि नै भूगोलको राजनीतिमा सक्रिय थिए। भलिबलका पूर्व राष्ट्रिय खेलाडी शेरधन २०५१ सालको प्रतिनिधिसभाका कान्छा सदस्य थिए। उनी भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

कार्की र शेरधन दुवै विगतदेखि नै पार्टी अध्यक्ष केपी ओलीका निकट थिए। राजेन्द्र राई भने कहिले ओली र कहिले माधव नेपाल निकट भइरहे । एमाले विभाजित भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै मुख्यमन्त्री भएका हुन्।

यी ३ जनाभन्दा केही अघिल्लो पुस्ताका आचार्य पनि विद्यार्थी राजनीतिमा एकदमै छाएका थिए । उनी इन्जिनियरिङ क्याम्पस पुलचोकमा रहँदा विद्यार्थी राजनीतिमा सक्रिय थिए । लामो समय झलनाथ खनाल निकट रहेर राजनीति गरेका उनले पार्टी विभाजनपछि एमालेमै रहने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्