कुन प्रदेशमा कसको नेतृत्व ?



  • रमेश पौडेल

काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेसँगै सातै प्रदेशको समीकरण उलटपुलट भएको छ।

सङ्घीय सरकारसँगै अधिकांश प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसरबाट विमुख हुँदै नेपाली कांग्रेस आठै वटा सरकारमा प्रतिपक्षको भूमिकामा पुगेको छ।

सङ्घीय सरकार गठन भएको २ सातापछि प्रदेश सरकार पनि गठन हुने क्रममा छन्। सङ्घीय प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुँदै गर्दा ३ वटा प्रदेशले पनि मुख्यमन्त्री पाइसकेका छन्।

सोमबारसम्म प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् । प्रदेश १ र गण्डकी प्रदेशमा सरकार गठन भई मन्त्रिपरिषद्को बैठकसमेत बसिसकेको छ भने बाग्मती प्रदेशका मुख्यमन्त्रीले आज मङ्गलबार शपथ लिँदै छन् ।

प्रदेश १ मा आइतबार नै नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् भने बाग्मतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

केन्द्रको ७ दलीय गठबन्धन आबद्ध दलहरूबीच प्रदेशको भागबन्डा हुँदा प्रदेश १, गण्डकी र लुम्बिनी नेकपा एमालेको भागमा परेको थियो भने कर्णाली माओवादीको भागमा परेको थियो। यी ४ प्रदेशको नेतृत्व ५ वर्षकै लागि हो भने बाग्मतीमा पहिलो कार्यकाल माओवादी र दोस्रोमा एमालेले नेतृत्व गर्ने सहमति बनेको थियो ।

आइतबार बेलुका बसेको गठबन्धन दलका शीर्ष नेताको छलफलपछि सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमाले र दोस्रोमा माओवादी गरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

मधेस प्रदेशमा भने जनता समाजवादी पार्टी नेपाल (जसपा) र गत निर्वाचनबाट उदाएको जनमत पार्टीबीच आलोपालो सरकार चलाउने सहमति भएको छ। मधेसमा जसपाले पहिलो र जनमतले दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

कुन प्रदेशमा कसको सभामुख ?

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार ७ प्रदेशमध्ये मधेस र कर्णालीको सभामुख एमालेले पाएको छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा माओवादीको सभामुख हुने सहमति भएको छ।

सत्ता समीकरण मिलाउने क्रममा बाग्मती प्रदेशको सभामुख भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने सहमति भएको छ।यस्तै उपसभामुखमा प्रदेश १ र गण्डकीमा एमाले, बाग्मती र कर्णालीमा माओवादी, लुम्बिनीमा राप्रपा, मधेसमा जनमत, सुदूरपश्चिममा नाउपाले लिने सहमति भएको छ।

कुन प्रदेशमा कस्तो समीकरण ?

प्रदेश १ मा कार्की

प्रदेश १ मा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको छ । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। सोमबार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए।

प्रदेशमा मुख्यमन्त्री कार्कीसहित ४ सदस्यीय प्रारम्भिक मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाकी एक्ली सांसद निर्मला लिम्बू पहिलो चरणमा मन्त्री बनेका छन्। ३ मन्त्रीको कुनै जिम्मेवारी भने तोकिएको छैन।

मधेसमा पूर्वसभामुखको नेतृत्व

७ दलीय गठबन्धनको भागबन्डाअनुसार मधेस प्रदेशमा जसपा र जनमतले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्नेछन् । पहिलो कार्यकालका लागि जसपा संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री बन्नेछन्। उनी सोमबार मात्रै दलको नेता चयन भएका हुन्।

जनमतले भने संसदीय दलको नेता चयन गरिसकेको छैन । मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले २८ पुस दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि सीमा दिएका छन् ।

मधेसमा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नाउपा, राप्रपा र नेपाल सङ्घीय समाजवादीका १–१ र ५ स्वतन्त्र सांसद छन् ।

बाग्मतीमा माओवादीका जमकट्टेल

बाग्मती प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ७० सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (लौरो अभियान) का २ जना सांसद् छन्।

माओवादी नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेको छ। केन्द्रको निर्देशनअनुसार बाग्मती सरकारलाई समर्थन गरेको नेकपा एसका एक सांसदले बताए।

गण्डकीमा अधिकारीको नेतृत्व

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ६० सदस्यीय प्रदेशसभाका ३३ सांसदको समर्थनसहितको दाबी पेस भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

स्वतन्त्र निर्वाचित भएर पछि नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)ले पनि अधिकारीलाई समर्थन गरेका छन्।

गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशको नेतृत्व एमाले पाउने भएसँगै दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त हुने छन्। रुपन्देही– २ (क)बाट निर्वाचित गिरी एमाले पोलिटब्युरो सदस्य हुन्।

लुम्बिनीमा पनि कांग्रेस एक्लो प्रतिपक्षी दलको रूपमा रहनेछ। ८५ सदस्यीय लुम्बिनी प्रदेशसभाका ५५ सांसदको समर्थनसहित गिरी मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ।

सभामा कांग्रेसका २७, एमालेका २९, माओवादीका ९, राप्रपाका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३, नाउपाका ४ र स्वतन्त्र ३ सांसद छन्।

कर्णालीका राजकुमार

सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्री माओवादीले पाउने भएको छ। यो प्रदेशमा माओवादी दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्नेछन्। उनी रुकुम पश्चिमबाट निर्वाचित भएका हुन्।

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० र स्वतन्त्र १ सांसद छन् । सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनसँग २३ सिट छ ।

सुदूरपश्चिममा रावल

सुदूरपश्चिम प्रदेशमा एमाले माओवादी आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको छ। जसमा पहिलो कार्यकाल एमालेले पाउने छ । सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्