कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा हामीले अग्रता लियौं : एमाले सांसद भट्टराई



काठमाडौं । एमाले सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताएका छन् । उनले पौष १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख पनि एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको सुरुवात भएको बताए । बिहीबार प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताए ।

‘हामीले यो एउटा राजनीतिक कोर्ष हो, जाओस् ठिकै छ भन्यौं । त्यसबेलासम्म हामीले हाम्रो दल प्रतिपक्षमा बस्छ र भूमिका खेल्छ भनेका थियौँ’, भट्टराईले भने, ‘तर जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपर्थ्यो, उहाँहरु असफल हुनुभयो ।’ उनले एमाले यो संविधानलाई धरापमा पर्न नदिन अग्रसर भएको पनि बताए । ‘ हाम्रो पार्टी अध्यक्षले अग्रसरता लिएर नयाँ राजनीतिक कोर्ष निर्माण भएको छ । यो राजनीतक कोर्ष एउटा कक्षामा एउटा कोर्ष पढाई हुन्छ । त्यो शैक्षिकसत्र नसकिदै अर्को कोर्ष बदलिदैन’, सांसद भट्टराईको भनाइ छ ।

उनले भने, ‘यो प्रतिनिधिसभाको कोर्ष ५ वर्ष हो । पौष १० गते बनेको राजनीतिक कोर्ष ५ वर्षको शैक्षिक सत्र हो । त्यो समयसम्म कायम रहन्छ ।’ उनले नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसले भन्दा एमालेलाई बढि दिने गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्