जापान पठाउने भन्दै ४१ जना युवाको ३ करोडभन्दा ठगेर फरार



विराटनगर। जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ। ठगिनेमा मोरङका ४० र झापा १ जना छन्। ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् ।

उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी-३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरु बताउँछन्। पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।

चितवनका राजेन्द्र, मोरङ सुनवर्षी-६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको पीडित बताउँछन्। उनीहरुका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किएका थिए।

अजयले उठाएको रकम लिएर मुख्य योजनाकार भनिएका राजेन्द्र पुनः जापान गएको खुलेको छ। अजयसहित उनका भाइबुहारी रन्जित-अनुराधा र बहिनी विद्या फरार छन्।

पीडितहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्