उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ। माघ ७ गते शनिबार निर्वाचन हुनेछ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए।

सचिवालयले बिहीबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीअनुसार आज (शुक्रबार) ४ बजेर १५ मिनेटमा मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन गरिने छ।

प्रतिनिधि सभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ । उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रारम्भ हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन्। उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्