सुर्खेत जिप दुर्घटना : मृत्यु हुने ४ जना स्वास्थ्यकर्मी



सुर्खेत । आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा मृत्यु हुने ४ जना स्वास्थ्यकर्मी भएको खुलेको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीया सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही, दैलेख डुङगेश्वर गाउँपालिका-३ का ३३ वर्षीय दिपेन्द्रजङ्ग शाही, गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठले बताएएका छन् । यस्तै गाडीमा सवार भैरवीकै वीरेन्द्रबहादुर शाही घाइते भएका छन् । मृतकमध्ये सागरले वीरेन्द्रनगरमा रारा मेडिकल सप्लायर्र्स चलाउँदै आएका थिए भने बाँकी तीन जना सम्बन्धित पालिकाको स्वास्थ्य संयोजक हुन् ।

रत्न राजमार्गमा छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को उक्त जिप आइतबार बिहान साढे २ बजे झुप्रा खोला नजिक दुर्घटनामा परेको थियो । प्रहरीका नुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

प्रहरीकाअनुसार भगवतीमाई गाउँपालिकाका संयोजक समेत रहेका बबिनको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारका बिहान ५ बजेतिर मृत्यु भएको थियो । डुङगेश्वर गाउँपालिकाको स्वास्थ्य संयोजक दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको थियो भने गुराँस गाउँपालिका स्वास्थ्य संयो बिसीको पनि टाउको, शरीरको विभिन्न भागमा चोट देखिएको प्रहरीको भनाइ छ ।

शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले एचएमआइएस, भिएसआइएस, इएलएस सम्बन्धी ३ दिने समीक्षा गोष्ठीको प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको थियो । उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई बोलाइएको थियो ।

सोही गोष्ठीमा सहभागी हुन् आएका थिए, उनीहरु । सागर भैरवीकै भएपनि वीरेन्द्रनगर बस्छन् र यतै स्वास्थ्य रारा मेडिकल सप्लायर्र्स चलाउँछन् । शनिवारको गोष्ठी सम्पन्न भएपछि स्वास्थ्यकर्मी नै भएको नाताले बेलुकीपख सागरसँग भेट भयो । लामो समयपश्चात भेट भएको भन्दै सागरकै गाडीमा उनीहरु साँझपख भेरीगंगा नगरपालिका १ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै वीरेन्द्रनरबाट निस्किए । राति अबेरसम्म खानपिन गरेर करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै थिए । उनीहरु सवार गाडी सागर शाहीले नै चलाएका थिए ।

सवार गाडीले भेरी नदी क्रस गर्‍यो । रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा जब उनीहरु झुप्रा खोला जाने बाटो क्रस गरेर करिब तीन सय मिटर अगाडि पुगे, सडक छेउमा निर्माण गरिएको डिभाइडरमा गाडी एकाएक बजारिन पुगेको थियो ।

बउ गाडी ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल बजारियो । ४ जना गाडी चालक सागर, राजेन्द्र, दिपेन्द्र र बबिन गम्भीर घाइते भइसकेका थिए । वीरेन्द्रले प्रहरीलाई फोन गरेपछि बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको पनि चार जनालाई बचाउन नसकिएको अधिकारी माधव प्रसाद श्रेष्ठले बताए ।

उनीहरुले मदिरा सेवन समेत गरेको प्रहरीको भनाइ छ । प्रदेश अस्पतालमा उपचारत घाइते वीरेन्द्रले भने,‘गाडी स्पिडमा पनि थिएन, हस्सु पनि लागको थियो, गीत सुन्दै यात्रा गरिरहँदा, खै एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइडवालतिर परेछु, जसोतसो गरी उठेजस्तो लाग्छ, पछि प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’

चार जना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै चार जनाको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत मृतकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्