अपहरणको २ सातापछि हत्या, २० लाख फिरौती माग्ने ५ जना पक्राउ



जनकपुरधाम । आफन्तलाई भेट्न भारतको सीतामढी जिल्लाको बेला परिहार गएका धनुषाका २ युवक कहिल्यै घर नफर्किने गरी अस्ताए। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ निवासी २५ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी २२ वर्षीय विष्णु साह २ सातापछि भारतमै मृत फेला परेका हुन्।

भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको मैदानमा दुवै युवकको शव आइतबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार दुवै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो। भारत गएलगत्तै सम्पर्कविहीन भएका उनीहरू अपहरणमा परेको खबर आफन्तहरूले प्रहरीलाई दिएका थिए।

अपहरणकारीले सुरुमा ५० लाख फिरौती रकम माग गरेको र पछि २० लाखसम्म बुझाउन आफन्त तयार भएको छानबिनको क्रममा खुलेको छ। मृतकका आफन्त देवनारायण साहका अनुसार फिरौती रकम माग्न भारतीय नम्बरबाट फोन आएको थियो। आफन्तले अपहरणमा परेकाहरूसँग कुरा गराउन आग्रह गर्दा पनि नमानेको र पछि विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको पाइएको छ।

त्यसपछि विष्णुको परिवारले फिरौती रकम जोहो गर्दै प्रहरी र नेता गुहारेका थिए। फिरौती रकम बुझाउने भनिएपछि अपहरणकारीले सर्लाहीको मलङ्गवा नाकामा बोलाएका थिए। तर, बैंक बन्द भएका कारण पैसा झिक्न नपाउँदा १ दिन ढिलो हुन गएको परिवारका सदस्यहरूको प्रतिक्रिया छ। त्यसपछि अपहरणकारी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको मृतकका आफन्तहरूले बताए। मोबाइल अफ भएको ४ दिनपछि उनीहरूको शव फेला परेको हो ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए। महोत्तरीको मनरा सिसवा नगरपालिका– २ इटहर्वा निवासी २४ वर्षीय किसनकुमार पण्डित र सोही ठाउँका २४ वर्षीय मुकेश पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको छ भने भारतीय प्रहरीले पक्राउ गरेका ३ जनाको परिचय खुलाइएको छैन । ४ जना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्