प्रेमप्रसाद : आफैँलाई मारे कि मारिए ?



काठमाडौं । १२ वर्षअघि अरबी देश ट्युनिसियाको सडक किनारामा ठेलामा राखेर तरकारी बेच्ने १ जना व्यापारीले प्रहरी ज्यादतीको विरोध गर्दै सडकमै आत्मदाह गरे। ४ जनवरी २०११ मा २६ वर्षीय मोहमद बोआजीजीको आत्मदाहबाट सिर्जना भएको आन्दोलनले सो देशका राष्ट्रपतिलाई सत्ताच्यूत मात्र गरेन, अरबी देशमा सङ्घर्षबाट सत्ताच्यूत हुने पहिलो राष्ट्रप्रमुख पनि बने राष्ट्रपति जिने एल अबिदिन बेल अली ।

१२ वर्षपछि राज्यका हरेक प्रणालीविरुद्ध विद्रोहको नोट लेख्दै मङ्गलबार संसद् भवनबाहिर इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे। चिच्याउँदै जलिरहेका आचार्यलाई उद्धार गरेर अस्पताल त लगियो । तर, बुधबार बिहानै उपचारका क्रममा उनको मृत्यु भयो। आचार्यको आत्मदाह र मृत्युपछि उनको कदमलाई कायरतापूर्ण र विद्रोह भनेर परिभाषित गर्दै समाज २ भागमा विभक्त छ भने शासन अहिलेसम्म मौन छ ।

आचार्यले भन्दा अघि काठमाडौंका सडक र सार्वजनिक स्थलमा थुप्रैले पटक–पटक आत्मदाह प्रयास गरेका छन्। ती सबै धार्मिक आवरण र घरायसी समस्याबाट सिर्जित थिए । तर आचार्यले आत्मदाहको निर्णयमा पुग्नुका पछाडि जे–जति कारण उल्लेख गरेका छन्, त्यसले सिङ्गो राज्य प्रणालीको सुधारका लागि एउटा ‘शान्त विद्रोह’को आवश्यकता मात्र देखाएको छैन, ठुला भनिएका र व्यापारिक सिन्डिकेटधारीहरूलाई आत्महत्या दुरुत्साहन अभियोगमा कारबाहीको दायरामा ल्याउनसमेत बाटो खोलेको छ।

आचार्यले निराशा उपचारका लागि जुन बाटो रोजे, त्यो गलत छ । उनको आत्महत्यालाई जायज मान्न सकिन्न । व्यक्तिगत र मानवीय हिसाबले उनले आफैँमाथि अपराध गरेका हुन्। तर आत्मदाहअघि उनले सामाजिक सञ्जालमा ६ हजारभन्दा बढी शब्दमा जे व्यक्त गरे, यसको सम्बोधनमा सरकार र सिङ्गो राज्य संयन्त्र कति जिम्मेवार बन्ने भन्ने अबको बहसको विषय बन्नुपर्छ। उनको मृत्युपछि सामाजिक सञ्जालमार्फत नागरिकका आक्रोशले भन्छ– अधिकांश नागरिक आचार्यकै जस्तो पीडा बोकेर बाँचेका छन्, जहाँ राज्य संयन्त्रको उपस्थिति शून्यप्रायः छ।

आत्मदाहअघि प्रहरीले आचार्यलाई लामो परामर्श दिएको सार्वजनिक भएको छ । तर निराशा बोकेर बाँचेको नागरिकको २ दिनसम्म चियोचर्चो गर्ने फुर्सद पनि सुरक्षा संयन्त्रसँग भएन। आत्मदाह गर्नु अघिसम्म उनका गतिविधि नियाल्ने र उनलाई पछ्याइरहने नीति सुरक्षा संयन्त्रले नगरेकामा समेत कतिपयले आक्रोश पोखेका छन्। योभन्दा बढी आक्रोश आत्मदाहको कारणमा उनले जे लेखे, त्यसको सम्बोधनमा लाग्ने प्रण गर्नुभन्दा बोतलमा पेट्रोलियम पदार्थ बेच्न रोक लगाउने हास्यास्पद निर्णय गरेर सुरक्षा संयन्त्रले अर्को खेलाँची गरेको छ।

प्रहरीको निर्णयमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘सरकार मान्छे झुन्डिएर मर्ने सम्भावना भयो, बजारमा डोरी बेच्न प्रतिबन्ध लगा, सबै रूख काट्…।’ स्वरोजगार बन्न सङ्घर्षरत ‘स्टार्टअप’ आचार्यले नेपालको कर, बैंकिङ, व्यवसाय नीति, अनुगमन, लाइसेन्स वितरणदेखि व्यापारिक आचारसंहितासम्मका जे–जति विषय उल्लेख गरेका छन्, त्यो आचार्यको मात्र भोगाइ र समस्या होइन । तर, सरकार भने उनको मृत्युमा दुःख व्यक्त गर्नबाहेक यी समस्या समाधानका लागि प्रतिबद्धतासमेत व्यक्त गर्न सकिरहेको छैन ।

आगोले जलेर उपचाररत अवस्थामा अस्पतालसम्म पुगेर सहानुभूति दिन नसकेका गृहमन्त्री रवि लामिछानेले आचार्यका परिवारलाई भेटेर आचार्यले उठाएका एजेन्डालाई सम्बोधन गर्ने बाचा गरे पनि विश्वास गर्ने आधार दिन सकेका छैनन्। आचार्यले आत्मदाहका कारण भन्दै लेखेको नोटमा उल्लेख गरिएका व्यापारिक र व्यावसायिक संस्था र व्यक्तिमाथि आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा लचाउनुपर्ने नागरिकको आवाज छ। आचार्यकी श्रीमती र परिवारबाट किटानी जाहेरी दर्ता भएको अवस्थामा गृहमन्त्री लामिछाने मृतकका परिवारको पक्षमा उभिन सक्छन् ? उनको मृत्युपछि उब्जिएको सबैभन्दा ठुलो र अहम् प्रश्न गृहमन्त्रीमाथि छ।

आचार्यले भनेजस्तै केही आशलाग्दा नेतामध्येका गृहमन्त्री लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता योगेश भट्टराईलगायतले समेत समवेदनाका २ शब्दबाहेक उनले उठाएका विद्रोहको आवाज सम्बोधनको कुनै प्रतिबद्धता जनाएका छैनन्। र, सबैभन्दा ठुलो प्रश्न गरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत यो विषयमा नबोल्दा माइतीघर मण्डला आन्दोलनमय बनेको छ।

माइतीघर मण्डलाको अन्दोलन त केही सातामा साम्य होला, तर आचार्यले गलत बाटोमा पुग्नुअघि जुन विद्रोहको र अन्यायको चित्रसहित सरकार र राज्य संयन्त्रलाई सुझाव दिए, ती अधिकांश नेपालीका साझा समस्या हुन् ।

प्रश्न उठ्छ, व्यावसायिक असफतला खप्न नसकेर प्रेम प्रसादले आफैँलाई मारे कि एउटा नागरिकमाथि सरकार राज्यले तय गरेका विभेदकारी नीति, नियम, दमन अन्यायबाट मारिए ? अब यसको उत्तरसँगै समाधान पनि खोज्न जरुरी छ । के यी विषयलाई हाम्रो सरकार र सिङ्गो राज्य सयंन्त्र सम्बोधन गर्न तयार छ ?

प्रतिक्रिया दिनुहोस्