नेपालका आसिफ शेखलाई आईसीसी स्प्रिरिट अफ क्रिकेट अवार्ड



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड हात पारेका छन् ।

आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो । आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनियनमा परेका हुन् ।

आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । खेलको १८ ओभरमा ११३-८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । तर आसिफले रन आउट गरेनन् । आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्