संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔं : महासचिव गौतम



काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्। शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरूलाई आग्रह गरे।

उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे। महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठूलो संकटमा पर्ने बताए। संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको बताए।

‘संघीयता भएपछि ७ प्रदेश छन्, ७ हुँदा पनि चलाउन सकेनौ भनेका छौं, यसमा म अप्रेशनल कुरा देख्छु। अब संघीयतालाई फेरि अर्को क्वेशन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौंला ? हामी सधैं १०–१५ वर्षमा कन्स्टिट्युशन फेर्दै जाने ?,’ उनले प्रश्न गरे,‘ हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौं न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरू के हुन्छन् ? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ। संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौं।’

यस्तै फरक प्रसंगमा उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्नेकुरा अदालतले फैसला गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्