ओलम्पिक स्पर्धा नै आयोजना गर्न सक्दैन नेपाली एथ्लेटिक्स



काठमाडौं । ओलम्पिक स्पर्धा डेकाथलन, हेक्टाथलन, २० किलोमिटर र ३५ किलोमिटर हिँडाइ नेपालमा आयोजना हुने गरेको छैन। पोलभोल्टको स्पर्धा पनि नेपालमा हुने गरेको छैन। लगभग डेढ दशकभन्दा बढी समयदेखि यी कुनै पनि स्पर्धा आयोजना गर्न नसक्ने नेपाली एथ्लेटिक्सको उँधोगति यतिसम्म देखिएको छ, अबको लामो समयसम्म विश्व च्याम्पियनसिप र ओलम्पिकमा नेपाली छनोट हुने विषय नै लगभग असम्भव लाग्छ।

भद्रपुरमा २०३६ सालमा भएको १९औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा पहिलो पटक पोलभोल्टको स्पर्धा समावेश थियो। २०औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा समावेश पोलभोल्ट २१औँ च्याम्पियनसिपमा भने समावेश थिएन । पोखरामा २०३९ सालमा भएको २२औँ एथ्लेटिक्स च्याम्पियनसिपमा समावेश पोलभोल्टको स्पर्धा २४औँ राष्ट्रिय च्याम्पियनसिपदेखि २०४६ सालमा वीरगन्जमा भएको २८औँ राष्ट्रिय च्याम्पियनसिपसम्म पनि समावेश थियो।

२०५३ सालमा झापाको चन्द्रगढीमा भएको ३२औँ राष्ट्रिय च्याम्पियनसिपमा समावेश पोलभोल्ट त्यसपछि अहिलेसम्म समावेश छैन।हिँडाइको प्रसङ्ग झन् अलि फरक छ । पोखरामा २०४० सालमा भएको २३औँ राष्ट्रिय च्याम्पियनसिपमा २० किलोमिटर हिँडाइ समावेश थियो। २०४६ सालमा वीरगन्जमा भएको २८औँ राष्ट्रिय च्याम्पियनसिपसम्म सो स्पर्धा समावेश गरिएको थियो।

एकैपटक चन्द्रगढीको राष्ट्रिय च्याम्पियनसिपमा सो स्पर्धा समावेश गरिएको थियो । २०५५ सालमा नेपालगन्जमा भएको ३३औँ तथा २०६२ सालमा काठमाडौंमा भएको ३५औँ राष्ट्रिय च्याम्पियनसिपमा सो स्पर्धा फेरि समावेश थियो । त्यसयताको कुनै पनि राष्ट्रिय च्याम्पियससिपमा सो स्पर्धा समावेश छैन ।

पोखरामा २०४० सालमा भएको २३औँ राष्ट्रिय च्याम्पियनसिपमा डेकाथलन समावेश गरिएको थियो । २०४३ सालमा काठमाडौंमा भएको २६औं राष्ट्रिय च्याम्पियसिपमा पनि डेकाथलन समावेश गरिएको थियो । त्यसपछिका लगातार २ राष्ट्रिय च्याम्पियनसिपमा डेकाथलन समावेश थिए । २०४६ सालमा भएको २८औँ राष्ट्रिय च्याम्पियनसिप यता डेकाथलन समावेश गरिएको छैन। १० किलोमिटर हिँडाइ अहिलेसम्म ३ राष्ट्रिय च्याम्पियनसिप समावेश गरिएका छन् । २७औँ र २८औँ राष्ट्रिय च्याम्पियनसिपमा समावेश स्पर्धा अन्तिम पटक २०५५ को राष्ट्रिय च्याम्पियनसिपमा समावेश भएको थियो ।

डेकाथनल पहिलो पटक २०४० सालमा २३औँ राष्ट्रिय च्याम्पियनसिप तथा २६औँ देखि २८औँ च्याम्पियनसिपसम्म समावेश थियो। हेप्टाथलन पनि सोही समयमा समावेश भएका थिए। यी तथ्याङ्कलाई आधार मान्ने हो २०४६ सालसम्मको नेपाली एथ्लेटिक्स च्याम्पियसिपका आयोजना तथा नेपालको प्रदर्शनका आधारमा उत्कृष्ट थियो।

देशमा ओलम्पिक इभेन्ट नै वर्षौंदेखि गर्न असमर्थ नेपाली अधिकारी भने अहिले एसियाली क्रसकन्ट्री दौडका लागि लागेका छन्। नेपाल एथ्लेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह अहिले बैंककमा छन्। नेपाली एथ्लेटिक्सको यो उँधोगतिको मुख्य कारण दृष्टिकोण र विचारहीन नेतृत्व भएको एथ्लेटिक्सका पूर्व राष्ट्रिय च्याम्पियन सिद्धान्त अधिकारी बताउँछन् । नेतृत्वको स्वरूप नै परिवर्तन हुनुको कुनै विकल्प नभएको एथ्लेटिक्सका ज्ञातासमेत रहेका अधिकारीको मत छ।

लामो समयदेखि एथ्लेटिक्स सङ्घले कार्यसमितिको बैठकमार्फत कुनै काम गर्न सकेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको शैली र प्रक्रिया नै नबुझ्नेहरू सङ्घको जिम्मेवार निकायमा छन्। ओलम्पिक र विश्व च्याम्पियसिपमा कुनै नेपाली छनोट हुने सम्भावना अझै देखिएको छैन। सङ्घको साधारणसभा गुपचुप हुने गरेको छ।

राष्ट्रिय टोलीको निरन्तर प्रशिक्षण हुने गरेको छैन। थुप्रै प्रतियोगितामा प्राविधिक कमजोरी यत्रतत्र देख्न सकिन्छ । प्राविधिक रूपले दक्ष जनशक्ति सङ्घको गतिविधिबाट टाढा छन् । अधिकारी भन्छन्, ‘यी सबैको विकल्प भनेको सङ्घमा पूर्ण परिवर्तन नै हो।’

प्रतिक्रिया दिनुहोस्