नियुक्तिबिना नै मोन्टी देशाईले सुरु गरे प्रशिक्षण



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने प्रक्रियामा रहेका मोन्टी देशाईले नियुक्तिबिना नै टिमको प्रशिक्षण सुरु गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले फागुन २ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो ।

आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सत्रमा भारतीय प्रशिक्षक मोन्टी पनि उपस्थित थिए । उनले खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए । नियुक्ति प्रक्रियामा ढिलाई भइरहँदा आसन्न शृंखलाका लागि कम समय रहेको भन्दै क्यानले विज्ञका रुपमा मोन्टीबाट सेवा लिएको हो ।

मंसीर २९ मा मनोज प्रभाकरले राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन छ । क्यानले पुस २४ गते १ साताको समय दिएर प्रशिक्षकका लागि खुला आवेदन माग गरेको थियो ।

२४ जनाले आवेदन दिएकोमा क्यानको प्रशिक्षक छनोट समिति हुँदै कार्यसम्पादन समितिले मोन्टीलाई प्रमुख प्रशिक्षकको जिम्मा दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि मोन्टीको फाइल राखेप पुगेको छ । युवा तथा खेलकुद मन्त्रालयहुँदै मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र मोन्टीको औपचारिक नियुक्ति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्