स्ववियु चुनाव : बग्रेल्ती आकाङ्क्षी, एजेन्डा अन्योलमा



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन घोषणा भएपछि विद्यार्थी सङ्गठनका नेताहरू आफूले अध्ययन गरेको क्याम्पसको नेतृत्व गर्न पाउने आसमा तीव्र रूपमा लागेका छन्। विभिन्न राजनीतिक दलसँग आवद्ध विद्यार्थी सङ्गठनहरूको साझा संस्थाको रूपमा स्थापित स्ववियुको नेतृत्व गर्न आफू आवद्ध विद्यार्थी सङ्गठनबाट उम्मेदवारको आधिकारिकता लिन सङ्गठनका नेताहरू आफूलाई सभापतिको उम्मेदवारको रूपमा चिनाउँदै टिकटको लबिङ सुरु गरेका छन्।

५ चैतमा त्रिभुवन विश्विविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मितिको निर्वाचनका लागि विद्यार्थी सङ्गठनका केन्द्रीय समितिहरू घोषणापत्र, नारा, कार्यक्रम, उम्मेदवार छानोटको मापदण्ड, पर्चा, पम्प्लेटलगायतको सामग्री निर्माण गर्न केन्द्रित भएका छन्। केन्द्रीय नेतृत्वहरू यसरी लागिरहँदा क्याम्पसका नेतृत्वहरू भने आफूलाई सभापतिको आकाङ्क्षीको रूपमा परिचय दिँदै क्याम्पसमा निर्वाचन केन्द्रित विभिन्न गतिविधि गर्न थालेका छन् ।

काठमाडौं उपत्यकाका स्ववियु हुने क्याम्पसहरूमा क्रियाशील विद्यार्थी सङ्गठनहरूले यतिबेला तीव्र रूपमा स्ववियु लक्षित गतिविधिहरू गरिरहेका छन् । क्याम्पसको गतिविधिसँगै उनीहरूले आफूलाई सभापतिको टिकट दिनका लागि नेतृत्वसँग लबिङ पनि गरिरहेका छन् ।

अनेरास्ववियु एक्लै लड्ने, नेविसङ्घ र क्रान्तिकारी माहोलअनुसार चल्ने

आगामी स्ववियु निर्वाचन एमाले निकट अनेरास्ववियुले एक्लै लड्ने तयारी गरेको छ । क्याम्पसहरूमा आफ्नो राम्रो र सशक्त उपस्थिति भएको दाबी गर्दै अनेरास्ववियुले यो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको नेताहरू बताउँछन् । पाटन बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश जीसीले क्याम्पसमा अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरू ९० प्रतिशत नियमित विद्यार्थी भएका कारण पनि आफूहरू अन्य विद्यार्थी सङ्गठनभन्दा सशक्त भएको बताए । उनले विगतको निर्वाचनमा पनि अनेरास्ववियुले धेरै क्याम्पसमा एक्लै जित्ने गरेको भन्दै यो निर्वाचन पनि एक्लै लड्ने बताए ।

त्यस्तै, अमृत साइन्स क्याम्पसका अध्यक्ष रुद्रहरि पोखरेलले पनि आफूहरू विद्यार्थीमाझ एक्लै जाने बताए । आफूहरू विद्यार्थीमाझ आफ्नो एजेन्डा एक्लै लैजाने उनी बताउँछन् । अनेरास्ववियु एक्लै निर्वाचनमा जाने तयारी गरिरहँदा नेविसङ्घ र अखिल (क्रान्तिकारी) भने परिस्थितिअनुसार जाने तयारीमा रहेका नेताहरू बताउँछन् । देशको राजनीति र केन्द्रीय नेताहरूले गरेको निर्णयअनुसार आफूहरू एक्लै वा गठबन्धन गरेर जाने नेपाल कमर्स क्याम्पस नेविसङ्घका इकाइ अध्यक्ष रवीन्द्र रोकायाले बताए ।

त्यस्तै, राष्ट्रपतिको निर्वाचनलगायतका कुराहरू बाँकी भएका कारण अहिले इकाइ समितिहरूले त्यो निर्णय गर्न नसक्ने र पार्टी तथा केन्द्रीय समितिले निर्णय गरेअनुसार आफूहरू निर्वाचनमा जाने शङ्करदेव क्याम्पसका अध्यक्ष नवीन पौडेलले बताए । पदाधिकारी मिटिङ बसेर एकल निर्वाचनमा जाने निर्णय गरेको अखिल (क्रान्तिकारी) पनि आन्तरिक रूपमा भने गठबन्धन गरेरै जाने पक्षमा रहेको एक नेताले बताए । सङ्गठनलाई फाइदा हुनेगरी नेविसङ्घ वा अनेरास्ववियु जुनसुकै सङ्गठनसँग पनि गठबन्धन हुन सक्ने उनी बताउँछन् । ‘अहिले (क्रान्तिकारी) ढोक्सा खाली नहुनेगरी निर्वाचनमा जान्छ’, उनले भने ।

यी हुन् सभापतिका आकाङ्क्षी

काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरूमध्ये ललितपुरको पाटन बहुमुखी क्याम्पस प्रमुखमध्ये एक हो । यस क्याम्पसमा अहिले मुख्य गरी नेपाली कांग्रेस निकट नेविसङ्घ, नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) प्रमुख दाबेदारका रूपमा छन् ।

पाटनको नेतृत्व गर्न नेविसङ्घबाट सभापतिमा उपाध्यक्ष सुशील विष्ट प्रमुख दाबेदार छन् । उनी पाटन कलेजको सबैभन्दा बढी घुमिल हुन सक्ने नेताका रूपमा परिचित छन् । उनीसँगै नेविसङ्घबाट युवराज लामा, लक्ष्मण भुसाल, रूपक न्यौपानेले आकाङ्क्षा व्यक्त गरेका छन् । सङ्गठनमा सबैले आफ्नो आकाङ्क्षा व्यक्त गर्न पाउने भए पनि आफू सबैभन्दा बलियो र विद्यार्थीले रुचाएको उम्मेदवार हुने उपाध्यक्ष विष्टको दाबी छ ।

पाटन क्याम्पसको नेतृत्व गर्न अखिल (क्रान्तिकारी)बाट ४ जनाको दाबी रहेको क्याम्पसको इन्चार्ज सञ्जीव कार्कीले बताए। उनका अनुसार अखिल (क्रान्तिकारी)बाट अध्यक्ष वीरेन्द्र मगर, दीपक मगर, अशोक दुलाल र टीकाराम खत्री दाबेदार छन् । यस पटक पाटन क्याम्पसमा स्ववियु आफूहरूले जित्ने दाबी कार्कीको छ। पाटनमा अखिल (क्रान्तिकारी) र नेविसङ्घका २ जनाभन्दा बढी आकाङ्क्षी हुँदा अनेरास्ववियुको भने अहिलेसम्म एकल आकाङ्क्षा रहेको अध्यक्ष सुरेश जीसीले बताए।

उनले सङ्गठनको बैठकमा पनि आफूबाहेक अरूको आकाङ्क्षा नभएको बताए। उनले पाटनमा अहिलेसम्म १४ पटक स्ववियु हुँदा अनेरास्ववियुले ११ पटक नेतृत्व गरेकाले यो निर्वाचन पनि अनेरास्ववियुले जित्नेमा ढुक्क रहेकोे बताए। उनले स्ववियु जित्न अनेरास्ववियुले सबै उपाय प्रयोग गर्ने बताए। काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का नेताहरूले पनि आफू सभापति बन्नका लागि लबिङ सुरु गरेका छन्।

आरआर क्याम्पसमा नेविसङ्घका अध्यक्ष नवीन टेडीसहित दिमसिंह राई, मनीष खड्का र अशोक सिंह आकाङ्क्षी छन्। विशेषगरी अखिलको बर्चस्व मानिने यो क्याम्पस अन्यभन्दा बढी हिंसात्मक गतितिविधि हुने क्याम्पसको रूपमा हेरिन्छ। तर, यस क्याम्पसमा कोको आकाङ्क्षी छन् भन्ने विषयमा अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीले खुलाउन चाहेनन् । उनले यो विषय आफू जिम्मेवार व्यक्ति भएकाले भन्न नमिल्ने बताए । आरआरमा अखिल (क्रान्तिकारी)का तर्फबाट ४ जनाको आकाङ्क्षा रहेको इन्जार्ज देवेन्द्र शर्माले बताए । उनका अनुसार अध्यक्ष शिशिर बस्याल, मनराज पाण्डे, सुरेन्द्रबहादुर शाही र सोनी भट्टराई आकाङ्क्षी छन् ।

नेविसङ्घको किल्लाको रूपमा मानिने शङ्करदेव क्याम्पसमा नेविसङ्घका अध्यक्ष नवीन पौडेलसहित ४ जना आकाङ्क्षी छन्। आकाङ्क्षीमा प्रेम माझी, अमृतजंग कार्की र मदनराज उपाध्याय छन् । त्यस्तै, अखिल (क्रान्तिकारी)का तर्फबाट वीरेन जीसी र सविन अधिकारी आकाङ्क्षी छन्।

नेपालको पहिलो साइन्स क्याम्पस अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट अध्यक्ष रुद्रहरि पोखरेल र केन्द्रीय सदस्य कमल जोशी सभापतिका आकाङ्क्षी छन् भने अखिल (क्रान्तिकारी)बाट समुद्र न्यौपाले र प्रेम जैशीले आकाङ्क्षा व्यक्त गरेका छन्। यहाँ अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच प्रतिस्पर्धा हुने अनेरास्ववियुका अध्यक्ष पोखरेलले बताए।

नेपालको पुरानोमध्येको क्याम्पस त्रिचन्द्र क्याम्पस नेविसङ्घको किल्लाको रूपमा हेरिन्छ। तर, यस क्याम्पसमा २०७१ सालदेखि नेविसङ्घले इकाइ समिति बनाउन नसकेको नेविसङ्घका नेता सुमन बसौलाले बताए । उनले अहिले नेविसङ्घबाट आफूसहित विपीन ढुङ्गाना र सुदीपराज मिश्र आकाङ्क्षी रहेको बताए। त्रिचन्द्रमा अनेरास्ववियुबाट ४ जना आकाङ्क्षी छन्। अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य गोविन्द थपलियाका अनुसार मनराज थापा, असीम रावल, सुबोध आचार्य र जगत्जंग शाही सभापतिका प्रमुख आकाङ्क्षी छन् ।

नेपाल कमर्स क्याम्पस (एनसीसी) अर्को प्रमुखमध्येको क्याम्पस हो। यस क्याम्पसमा नेविसङ्घका इकाइ अध्यक्ष रवीन्द्र रोकायसहित ३ जना आकाङ्क्षी छन्। रोकायसहित गणेश टन्डन र विपीन बुढाथोकी प्रमुख आकाङ्क्षी हुन्। अन्य आकाङ्क्षी भए पनि उनीहरू जुनियर भएका कारण खास महŒवपूर्ण नभएको अध्यक्ष रोकायले बताए।

प्रतिक्रिया दिनुहोस्