अधिवेशनको चटारोमा विद्यार्थी सङ्गठन



  • रमेश पौडेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नजिकिँदै गर्दा दलगत विद्यार्थी सङ्गठन भने अधिवेशनको चटारोमा छन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनलाई अहिले अधिवेशन लागेको छ । त्रिविअन्तर्गत विद्यार्थी कल्याण परिषद्ले स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय गरेसँगै विद्यार्थी सङ्गठनहरू अधिवेशनको तयारीमा लागेका हुन् ।

त्रिविले निर्वाचनको कार्यतालिकासमेत प्रकाशन गरिसकेको छ । कार्यतालिका प्रकाशन गरेको १ हप्ताभित्र ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा भर्ना गरिसक्नुपर्ने प्रावधान छ ।

त्रिविले स्ववियु चुनावमा उम्मेदवार बन्नलाई २८ वर्षे उमेर हद राखेको छ । स्ववियु सभापति, सचिव र कोषाध्यक्ष १–१ जना तथा न्यूनतम ९ देखि १९ जनासम्म सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् । उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । त्यसरी निर्वाचित स्ववियु पदाधिकारीले क्याम्पस प्रशासन र विद्यार्थीबीचको दुरी कम गर्ने गर्छन् । विद्यार्थीको समस्याका विषयमा पनि स्ववियुले क्याम्पस प्रशासनसँग सहजीकरण गर्ने गर्छ ।

अनेरास्ववियुको महाधिवेशन २ र ३ फागुनमा

एमाले निकट अनेरास्ववियुलाई २३औँ महाधिवेशनको चटारो छ । ७ वर्षसम्म महाधिवेशन हुन नसकेको अनेरास्ववियु अहिले नेतृत्वविहीन छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल प्रतिनिधिसभा सांसद भएसँगै अहिले सङ्गठन अध्यक्षविहीन बनेको छ । अनेरास्ववियुको नेतृत्वका लागि धेरै जना आकाङ्क्षी देखिएका छन् । विशेष गरी कार्यकारी पद अध्यक्ष र महासचिवमा बढी आकाङ्क्षी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेमा कुनै गुट नभएको र सहमतिका आधारमा विद्यार्थी सङ्गठनको नेतृत्व छान्नुपर्ने’ बताइसकेका छन् । त्यही कारण विद्यार्थी नेताहरू नेतृत्वलाई रिझाउन लागिपरेका छन् ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि रत्नराज्य क्याम्पसबाट विद्यार्थी राजनीतिमा उदाएका हाल वरिष्ठ उपाध्यक्ष रहेका आरसी लामिछानेले आफ्नो प्रचार थालिसकेका छन् । त्यस्तै त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीतिमा उदाएका हालका उपमहासचिव समिक बडाल र पाटन क्याम्पसबाट उदाएका झपिन्द्र खत्रीले पनि अध्यक्षको उम्मेदवारका रूपमा प्रचार तीव्र बनाएका छन् ।

अध्यक्ष पदका लागि हालका उपाध्यक्षहरू वाङ्छु योञ्जन, मोती विक, उमेश आचार्य र लोकेश निरौला पनि आकाङ्क्षी देखिएका छन् । मर्यादा विष्ट र जेनिश लामा अहिले उपाध्यक्षको लबिइङमा छन् । महासचिवका लागि हालका उपमहासचिव सबैले उम्मेदवारी घोषणा गरेका छन् । हालकी उपाध्यक्ष कल्पना वाइबा पनि महासचिवको दौडमा छिन् । विदेश विभाग प्रमुख सुदर्शन सिवाकोटी, हालका प्रचार विभाग प्रमुख नरेश रोकाया, प्रकाशन प्रमुख भाष्कर खनाल, सङ्गठन विभाग प्रमुख नारायण घर्ती र विश्वविद्यालय समन्वय प्रमुख धर्म गिरी महासचिवका आकाङ्क्षी छन् ।

अनेरास्ववियुमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष १–१ जना हुन्छन् । उपाध्यक्ष ४ जना, सचिव १० जना गरी १७ जना पदाधिकारी बनाउने नेताहरू बताउँदै आएका छन् । विगतको ५०० भन्दा बढीको केन्द्रीय कमिटीलाई घटाएर १९९ सदस्यमा झार्ने अनेरास्ववियुले बताएको छ ।

राप्रावि सङ्गठनको अधिवेशन २७ र २८ माघमा

राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रावि सङ्गठन पनि अहिले नेतृत्वविहीन छ । विगत लामो समयदेखि अधिवेशन गर्न नसकेको सङ्गठन करिब १ महिनाअघि मूल पार्टीले जिम्मा लिएको छ । मूल नेतृत्वले सङ्गठनको जिम्मेवारी लिएसँगै २७ र २८ माघमा काठमाडौंमा महाधिवेशन मिति तोकेको छ । राप्रावि सङ्गठनमा पनि नेतृत्वका लागि अहिले केही विद्यार्थी नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् । ऐश्वर्य बहुमुखी क्याम्पस कैलालीका स्ववियु सभापतिसमेत रहेका कलम बम राजवार र राजन बम अध्यक्षको मुख्य प्रतिस्पर्धीका रूपमा छन् । हाल दुवै जना महाधिवेशन आयोजक कमिटीका सल्लाहकार छन् ।

हाल महाधिवेशन आयोजक कमिटीका संयोजक रहेका जेपी बगाले र सहसंयोजक उमेश विष्ट पनि अध्यक्षको लाइनमा छन् । तर मुख्य प्रतिपर्धा भने कमल र राजनबीच नै हुने विद्यार्थी नेताहरू बताउँदै आएका छन् । राप्रावि सङ्गठनमा नयाँ विधानअनुसार अध्यक्ष र कोषाध्यक्ष १-१ जना, उपाध्यक्ष ९ जना (७ जना प्रदेश संयोजकसहित) महासचिव ४ जना (२ जना मनोनीतसहित), प्रवक्ता १ जना र सचिव २ जना मनोनीत गरेर ९९ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

९९ सदस्यीय कमिटी भए पनि मुख्य पद अध्यक्षबाहेक अन्यमा त्यति धेरै आकाङ्क्षी देखिएका छैनन् । महासचिवमा मोरङका सुरेश मिश्र, सुदूरपश्चिमका दीपेश शाह र धादिङबाट पञ्च तामाङको नाम आएको भए पनि सहमतिका आधारमा नेतृत्व छान्ने विद्यार्थी नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्