माधव नेपाल भन्छन्- राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शनिबार बिहान सिंहदरबारमा विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपाली राष्ट्रियसभा उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबी नरहेको बताएका हुन्।

विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार को हुन्छ भन्ने प्रश्नमा उनले छलफल सुरु भएको र टुंगोमा पुग्न बाँकी रहेको बताए। ‘हामीहरू सबै पक्षको कुरा बुझ्ने, बुझिसकेपछि एउटा टुंगोमा पुग्ने कुरा छ’, अध्यक्ष नेपालले भने, ‘अहिलेसम्म हामीलाई कुनै राजनीतिक दलले मत मागेको छैन। राष्ट्रियसभाको उपाध्यक्षमा हाम्रो दाबी छैन।’

राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयनबारे छलफल गर्न शनिबार बिहान कांग्रेसको संयोजनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीसहितको विपक्षी दलको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्