रेबिजका कारण गोरखामा ४ वर्षीय बालकको मृत्यु



गोरखा । गोरखामा रेबिजका कारण १ बालकको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ का चार वर्षीय बालकको रेबिजका कारण मृत्यु भएको हो ।बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा मृत्यु भएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका-४ को बालुवा बजारमा कुकुरले टोकेको थियो ।

स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो । अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो ।

काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो । रेबिजका कारण बालकको ज्यान गएपछि अजिरकोट गाउँपालिका-४ बालुवा बजार र बालकको घर भएको ठाउँ बारपाक सुलिकोट गाउँपालिका(४ मा पनि अभिमुखीकरणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्