माओवादीमा रूपान्तरण बहस : अध्यक्षको प्रस्तावमा पदाधिकारी विभाजित



काठमाडौं । रूपान्तरणको रटान लगाइरहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेकपा माओवादी’ गठन भएको २८ वर्ष भएसँगै ‘माओवादी’ शब्द छाड्ने तयारी गरेको छ। गत १२ देखि २१ माघसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको नाम, चुनाव चिह्न, झन्डा तथा माओवादी शब्द छाड्ने निर्णय गरेको छ। स्थायी समितिमा पार्टी रूपान्तरण गर्ने प्रचण्डको लिखित प्रस्ताव आएपछि यो विषयले पार्टीभित्र आधिकारिक प्रवेश पाएको हो।

२०५१ सालमा नेकपा एकता केन्द्र विभाजन गरेर माओवादी गठन भएको २८ वर्ष पुग्दै गर्दा प्रचण्ड आफैँले सुरु गरेको माओवाद छाडेर अर्कै बाटो प्रस्ताव गरेका छन् । २०५१ सालमा माओवादी गठन भएपछि १ फागुन २०५२ सालमा सशस्त्र विद्रोह सुरु गरेको माओवादीले १० वर्ष लामो विद्रोह गरेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १७ वर्षपछि कस्तो बाटो अपनाउने भन्ने व्याख्या भने गरेको छैन।

२०६२–६३ सालको जनआन्दोलनसँगै १२ बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको माओवादीले त्यसयता सधैँ रूपान्तरण हुने कुरा गरिरह्यो। ठोस रूपमा माओवादीले खोजेको रूपान्तरण के हो भन्ने व्याख्या छैन । तर, माओवादीको विगतले उसले भनेको रूपान्तरण भनेको पार्टी विघटन वा पुनर्गठन हो। भइरहेको पार्टीबाट अन्य पार्टीसँग एकता वा सहकार्य गर्नु र तत्कालीन आश्यकताअनुसारको लाभ–हानिको राजनीति गर्नु माओवादीको रूपान्तरण भएको देख्न वा बुझ्न सकिन्छ।

शान्तिपूर्ण राजनीतिमा आएको पार्टीले २०६५ मा नेकपा एकता केन्द्रसँग एकता गरेर एकीकृत माओवादी गठन गर्‍यो, जुन ५०५१ सालमा विद्रोहमा भाग नलिने भन्दै विभाजित भएको थियो। त्यसपछि आफ्नै पार्टीका नेताहरू रामबहादुर थापासहितका नेताहरूलाई भित्र्याउँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठन भएको थियो । लगत्तै २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएका माओवादी र एमाले २०७५ सालमा एकीकृत भएर नेकपा गठन भयो । २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गरेपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किए।

शान्तिपूर्ण राजनीतिमा यी आरोह–अवरोह झेल्दै अघि बढेको माओवादीले अब सैद्धान्तिक र वैचारिक रूपमै ‘माओवाद’ त्याग्ने निर्णय गरेको छ। माओवादीले सैद्धान्तिक रूपमा माओवादका २ वटा प्रयोगमध्ये एउटा जनयुद्धको प्रयोग सफल भएको निष्कर्ष निकालेको पोलिटब्युरो सदस्य रामदीप आचार्य बताउँछन् । उनका अनुसार अब अर्को चरणमा बृहत् समाजवादी केन्द्र निर्माण गरेर समाजवाद निर्माण गर्ने लक्ष्यमा पार्टी लाग्ने उनी बताउँछन्।

माओवादी विघटन गरेर समाजवादी केन्द्र निर्माण गर्ने यही प्रस्ताव पार्टीभित्र फेल भएपछि डा. बाबुराम भट्टराईले २०७२ सालमा संविधान निर्माण भएसँगै माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए। अहिले पुनः भट्टराई माओवादीसँग एकता गर्ने तयारी गरिरहेका छन्। यही बेला माओवादीले पार्टीको सबै कुरा त्यागेर नयाँ अभियानमा जाने तयारी गरेको छ। यद्यपि पार्टीको केन्द्रीय समितिभित्र भने व्यापक बहस र छलफल गर्न बाँकी छ।

स्थायी समिति सदस्य चक्रपाणि खनाल ‘बलदेव’ माओवादको प्रयोग गरेर एउटा चरण पार गरेको र अब त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा पार्टीभित्र बहस खुला गरेको बताउँछन्। उनी भन्छन्, ‘पार्टीलाई यसरी नै लैजाने कि के कसरी लैजाने भन्ने विषयलाई बहस खुला गरेका छौँ, पार्टीको नाम, चुनाव चिह्न वा माओवाद छोड्ने निर्णय गरेको होइन।’ माओवाद मान्ने विषयमा २०५० सालमा गरेको निर्णयपछिका विविध विषय पूरा भएको र माओवाद प्रयोगको एउटा चरण पूरा भएको उनको भनाइ छ।

माओवादी नै भनिरहन पर्छ कि पर्दैन भन्ने विषयमा बैठकमा कुरा चलेको खनाल बताउँछन्। पार्टीको नाम, चुनाव चिह्न र माओवाद छाडेर नयाँ प्रयोग गरेका बाबुराम भट्टराई र नेत्रविक्रम चन्द्र ‘विप्लव’ समेत असफल भएको विषयसमेत पार्टीमा समीक्षा भएको र माओवादीको भावी योजना तयार गर्न बहस खुला गरेको खनाल बताउँछन्। माओवादीका महासचिव देवप्रसाद गुरुङ भने पार्टीको बैठकमा पार्टीको नाम फेर्ने, चुनाव चिह्न फेर्नेलगायत विषय नउठेको बताउँछन्।

उनी भन्छन्, ‘बैठकको माइन्युट उठाउने मै हुँ, यो विषय मलाई थाहा भएन ।’ तर, महासचिवले थाहा नपाएको उक्त विषय अध्यक्ष प्रचण्ड आफैँले प्रस्ताव गरेका हुन्। बैठकमा अध्यक्षले लिखित प्रस्ताव गर्दै भनेका छन्, ‘बैठकमा निर्वाचनको समीक्षाका अतिरिक्त विचार, राजनीति र संस्कृतिका क्षेत्रमा बढ्दै गएको औचित्यलाई अन्त्य गर्न, भद्दा र अस्तव्यस्त रहेको सङ्गठनलाई व्यवस्थित गर्न विधि, पद्धतिविहीनको हाम्रो कार्य प्रणालीलाई न्यूनतम मापदण्डभित्र ल्याई अगाडि बढ्न जनताबाट अलग–थलग हुने हाम्रो कार्यशैलीलाई फेर्ने, सरकार र पार्टीको काममा तालमेल गर्न संसदीय कामलाई प्रभावकारी बनाउने, पार्टी एकता, संयुक्त मोर्चा निर्माणका काममा ध्यान पुर्‍याउने विषयहरूका साथ विज्ञान र प्रविधिको प्रयोगमा दक्षता हासिल गर्ने, उत्पादन, रोजगार र समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरण अभियानमा आमजनतालाई जोडी जनताको पहलकदमी कायम गर्ने विषयमा गम्भीर छलफल गरी प्रारम्भिक योजना तयार गर्नु छ।’

यसरी माओवादीले ‘माओवाद’ शब्द छाड्ने कि नछाड्ने भन्ने बहस चलिरहँदा माक्र्सवादी चिन्तक रमेश सुनुवार भने ‘माओवाद’को सान्दर्भिकता सकिएको बताउँछन्। चीनबाहेक विश्वमा कतै सफल नभएको ‘माओवाद’ नेपालमा पनि असफल भएको उनी बताउँछन्। उनी भन्छन्, ‘तत्कालीन मालेको नेतृत्वमा भएको २०२८ सालको झापा विद्रोह, २०५२ सालको माओवादी सशस्त्र विद्रोह माओवादको असफल प्रयोग हो ।’ पेरु, फिलिपिन्स, भारतलगायत देशमा समेत असफल माओवादको सान्दर्भिकता सकिएको उनी बताउँछन्।

अर्ध–सामन्ती, अर्ध–उपनिवेश र राष्ट्रिय पुँजीपति वर्गका विरुद्ध माओले नयाँ जनवादको कार्यक्रम प्रयोग गर्दा सफल भएको, तर त्यसपछि राष्ट्रिय पुँजीपति वर्ग दलाल पुँजीपति वर्ग र भूमण्डलीकृत पुँजीपति वर्गमा परिणत भएकाले अब माओवादको सन्दर्भिकता सकिएको उनको तर्क छ। पार्टीको नाम, सिद्धान्त, कार्यक्रम परिवर्तन गर्ने विषय पार्टीको केन्द्रीय समितिमा लैजाने माओवादीको तयारी छ।

पार्टीले अँगाल्दै आएको सिद्धान्त नै परित्याग गर्ने विषयमा भने माओवादी नेताहरू खुलेर सावर्जनिक रूपमा बहस गर्दैनन् । महासचिव यस विषयमा थाहा नभएको प्रतिक्रिया दिन्छन् । पोलिटब्युरो सदस्य आचार्य विषय गम्भीर भएकाले पार्टीको संयन्त्रभित्र छलफल गर्नुपर्ने विषय भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्