राष्ट्रपतिको उम्मेदवारबारे एमालेभित्रै अन्योल



काठमाडौं । सत्तारूढ गठबन्धन दलका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति चुनावका लागि तीव्र दौडधुप गरिरहेका छन्। सरकार गठनको भागबन्डामा आफ्नो दलको भागमा राष्ट्रपति पारेको एमालेले प्रधानमन्त्रीदेखि सत्तारूढ दलका अन्य नेतासँग छलफल गरिरहेको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति चुनावको विषयमा पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन्। त्यही रफ्तारमा उनले सत्तारूढ गठबन्धन दलका नेतासँग पनि छलफल गरिरहेका छन् । निर्वाचन आयोगले २५ फागुनका लागि राष्ट्रपति चुनावको मिति घोषणा गरिसक्दा समेत एमालेले आफ्नो भागमा परेको राष्ट्रपति उम्मेदवारको नाम गठबन्धन दलभित्र प्रस्ताव गर्न सकेको छैन।

सरकार गठन गर्दा भएको भागबन्डामध्ये एमालेको भागमा परेको सभामुख र मन्त्रीहरू छानिइसकेका छन् । राष्ट्रपति बाँकी छ। राष्ट्रपतिमा भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति खोज्ने बताइरहेका छन् । उनले भनेको राष्ट्रिय सहमति एमालेलाई राष्ट्रपति नदिने रूपमा चर्चा भइरहेको छ।

स्वयं माओवादी नेता–कार्यकर्तासमेत एमालेलाई राष्ट्रपति दिनुहुन्न भन्ने पक्षमा छन् । कतिपयले पूरा कार्यकाल प्रधानमन्त्री बन्ने प्रचण्डको रणनीतिका रूपमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्रीमा प्रचण्ड–ओली आधाआधा कार्यकाल चलाउने सहमति छ। एमालेका सचिव योगेश भट्टराई भने प्रधानमन्त्रीले राष्ट्रपतिको विषयमा प्रतिपक्षी दलसहितको सहमति खोज्नु स्वाभाविक रहेको बताउँछन्।

अहिले प्रधानमन्त्रीले विपक्षी दललाई समेत समेटेर लाने विषय उठाएका कारण एमालेले राष्ट्रपति उम्मेदवारको विषयमा छलफल नगरेको उनी बताउँछन् । एमालेलाई राष्ट्रपतिको उम्मेदवार छान्न सकस भएको हो ? भन्ने प्रश्नमा उनी हाँस्दै प्रतिप्रश्न गर्छन्, ‘हामीले राष्ट्रपतिको उम्मेदवार उठाउनै नसक्ने हुन्छ त ?’ राष्ट्रपतिमा सत्तारूढ दलको साझा उम्मेदवार हुने र त्यसमा कांग्रेसको पनि समर्थन जुटाउने कोसिस हुने उनको भनाइ छ । भट्टराईले भने, प्रधानमन्त्रीको आशय पनि जो राष्ट्रपति भए पनि एउटै होस् भन्ने हो ।’

उम्मेदवार तय गर्न अझ धेरै समय बाँकी रहेका र साझा उम्मेदवारकै विषयमा छलफल भइरहेको उनी बताउँछन् । प्रधानमन्त्रीले राष्ट्रपति चुनावमा सबैको सहमति लिएर अगाडि जाने प्रयास गर्नु राम्रो विषय भएको उनी बताउँछन् । भट्टराईले प्रधानमन्त्री प्रचण्डको यो कदमलाई सामान्य रूपमा लिए पनि अध्यक्ष ओलीको गतिविधिले एमाले सशङ्कित भएको देखिन्छ। सामान्यतया आफू प्रधानमन्त्री हुँदाबाहेक प्रधानमन्त्रीको सरकारी निवास नजाने ओली प्रचण्ड प्रधानमन्त्री भएपछि दर्जनभन्दा बढी पटक पुगिसकेका छन्।

कतिपय भेट प्रधानमन्त्रीलाई आफ्नै निवासमा समेत बोलाएर गरेका छन्।अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई विभिन्न कोणबाट दबाब दिइरहेका छन्। उनले उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत् समेत दबाब दिएका छन्। केही दिनअघि बसेको संयन्त्र बैठकमा ओलीले सबैलाई आफू पक्षमा राखेर प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार र राष्ट्रिपतिमा पहिलेकै सहमति दायाँबायाँ नगर्न दबाब दिए।

राष्ट्रपतिको विषयमा पहिलेकै सहमति अनुसार अघि बढ्नुपर्ने राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक रूपमै एमालेलाई दिनुपर्ने बताएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पूर्वसहमतिभन्दा दायाँबायाँ गर्न नहुने बताइसकेका छन् ।

राष्ट्रपतिप्रति कांग्रेस मोह, सशङ्कित एमाले
नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्ड चुनावपछि आफूले प्रधानमन्त्री नपाउने भएपछि गठबन्धन छाडेर एमालेलगायत दलको साथ लिएर प्रधानमन्त्री बने। संसद्मा सबैभन्दा ठुलो दल भएको हैसियतले अन्तिमसम्म प्रधानमन्त्री पाउनुपर्ने अडानमा बसेको कांग्रेस माओवादी सहमत नभए एमालेको साथ लिएर भए पनि सरकारको नेतृत्व गर्ने तयारीमा थियो।

एमाले अध्यक्ष ओलीले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वासन दिएका थिए। तर, अन्तिममा एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे। ओलीले आफूलाई धोका दिएको निष्कर्ष निकालेको कांग्रेस यो सरकार जे गर्दा भत्काउन सकिन्छ, त्यो गर्न तयार छ। कांग्रेस यो सरकार भत्काउने तिथिमिति तोकेरै सार्वजनिक रूपमा जे गर्नुपर्छ, गर्ने घोषणा गरेर लागेको छ।

कांग्रेस यसरी लाग्दै गर्दा प्रधानमन्त्री प्रचण्ड यसबीचमा खेलेर फाइदा लिने मुडमा देखिन्छन्। उनी सकेसम्म राष्ट्रपति आफ्नै पार्टीका नेतालाई बनाउने, त्यसो हुन नसके एमालेबाहेकका उम्मेदवारलाई राष्ट्रपति बनाउने मुडमा उनी देखिन्छन् । किनकि उनी साढे २ वर्षपछिको राजनीतिक परिस्थितिसँग सचेत देखिन्छन्। गत २६ माघमा भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकमा यस्तो आशय व्यक्त गरेको माओवादीका एक नेता बताउँछन्।

केन्द्रीय समितिमा नेकपाकालमा ओलीलाई तानाशाह घोषणा गरेर सडक आन्दोलनमा लाग्दा राष्ट्रपतिका कारण दुःख पाएको स्मरण गरेका प्रचण्डको मुड राष्ट्रपति आफ्नै पार्टी, नभए एमालेबाहेक र एमालेलाई नै दिन परे पूरा कार्यकाल आफूले प्रधानमन्त्री पाउने सुनिश्चतता खोज्ने देखिन्छ। कांग्रेस र प्रधानमन्त्रीको गतिविधिलाई नजिकबाट हेरिरहेको एमाले भने सशङ्कित देखिन्छ।

सभामुखलाई हराउने घोषणा गरेर लागेको कांग्रेस यो सरकार भत्काउन माओवादीले सिफारिस गरेको व्यक्तिलाई समर्थन गर्नसमेत तयार छ। कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनु र प्रदेश सरकार गठनमा माओवादीको उम्मेदवारलाई कांग्रेसको समर्थन रहनुले पनि एमाले सशङ्कित देखिन्छ । त्यसकारण ओली प्रत्येक भेटमा प्रचण्डलाई सहमति गरेको विषय कार्यान्वयन गर्न जोड दिइरहन्छन्।

प्रतिक्रिया दिनुहोस्