समुन्नतिका ३ खम्बा



कृष्ण उप्रेती । समृद्धिको मापन गर्ने हो भने यसमा थुपै्र आयामहरू छन् । समृद्धिको मापनका आधारहरू यिनै हुन् भनेर ठकुवा गर्न सकिँदैन । यसमा देश, समाज, संस्कृति र भूगोल निर्णायक हुन्छन् । मानव सभ्यतामा समृद्धिको कुनै पनि सीमा हुँदैन । कुनै देश समृद्ध हुनका लागि कुनकुन र कति खुड्किला पार गर्नुपर्छ भन्ने विषयमा फरकफरक मत हुन सक्छन् । समृद्धिको ठेट अर्थ सम्पन्नता भन्ने हुन्छ । तर, केके भयो भने सम्पन्नता हुन्छ भन्ने विषयले समय र परिस्थितिअनुसार त्यसलाई अथ्र्याउँछ ।

शताब्दीअघिको समृद्धिको परिभाषा र अहिलेको परिभाषामा आकाश-जमिनको फरक छ । २ छाक खान पुग्ने समयमा त्यसैलाई सम्पन्नता भनिन्थ्यो तर अहिले त्यो अवस्था छैन । नेपाल जस्तो विकासोन्मुख र अमेरिका जस्तो विकसित देशमा समृद्धिका मापन आधारहरू पनि फरक छन् । महँगा र ‘लक्जरियस’ कार, महँगा स्मार्ट फोन, टेलिभिजन जस्ता सामान नेपालमा विलासिताका वस्तुअन्तर्गत परे पनि विकसित देशमा यी अत्यावश्यकमा पर्छन् । यसले पनि समृद्धि मापनका सूचकहरूमा भिन्नता देखाउँछ ।

अहिलेको समयमा विज्ञान तथा प्रविधिको विकासलाई जापान, अमेरिका, बेलायत जस्ता विकसित देशहरूले आफ्नो देशको समृद्धिका आधारहरूमा समावेश गरिसकेका छन् । तर, नेपाल जस्ता विकासोन्मुख देशहरू त्यसता विषयलाई अहिले नै समावेश गर्ने पक्षमा छैनन् । नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, खाद्यान्न, भौतिक पूर्वाधार, आवास जस्ता विषयलाई सामान्यतया सम्पन्नताका सूचक मानिन्छ ।

समग्र देशको अवस्था र अर्थतन्त्रलाई मध्यनजर गर्ने हो भने अहिलेकै अवस्थामा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई नै मूलभत रूपमा समृद्धिका आधारका रूपमा व्याख्या गर्नु उचित हुने विकास अर्थशास्त्रीहरूको मत छ । यी ३ वटै विषयले देशको सतही विकासलाई उजागर गर्छन् । बाँकी सूचकहरूका लागि यिनै ३ वटा विषयले आधार पनि तयार पार्ने अर्थशास्त्रीहरूको धारणा छ ।

शिक्षा, स्वास्थ्य र भैतिक पूर्वाधार हरेक समुदायको विकासका निम्ति आवश्यक महत्वपूर्ण पक्षहरू हुन् । यी ३ वटै आयामहरू एकआपसमा जोडिएका छन् । शिक्षाले समुदायको सामाजिक, आर्थिक र राजनीतिक विकासमा सहयोग गर्छ भने स्वास्थ्यले समाजको यथार्थ ऐना देखाउँदै सुरक्षित वातावरणमा बस्न सिकाउँछ । त्यस्तै, विकासको भौतिक र प्रगतिको दृष्टिगत तथ्यलाई पूर्वाधारले औँल्याउँछ ।

शिक्षा

शिक्षा भन्नेबित्तिकै हामी विद्यालय, कलेज आदिलाई बुझ्छौँ । तर, जन्मदेखि मृत्युपर्यन्त दैनन्दिनका हरेक क्रियाकलापबाट प्राप्त गरिने सम्पूर्ण अनुभव नै शिक्षाका आयामहरू हुन् । विद्यालयमा दिइने शिक्षा त औपचारिकतामा सीमित हुन्छ । यसलाई अर्को अर्थमा ‘चौघेराको शिक्षा’ पनि भनिन्छ । अहिलेको सन्दर्भमा त्यस्ता किताबी ज्ञानलाई पढेको प्रमाण देखाउनका लागि प्रमाणपत्र लिने थलोका रूपमा विद्यालय शिक्षा सीमित छ ।

शिक्षाको वास्तविक परिभाषा भनेको मानिसको आन्तरिक स्वभाव, सर्वाङ्गीण र प्रगतिशील विकास हो । यसरी हेर्दा शिक्षा जीवनपर्यन्त चलिरहने एउटा प्रक्रिया हो । शिक्षाबिनाको समाज हामी परिकल्पना गर्न सक्दैनौँ । सीप र व्यवहारसँगै समाज र सामाजिक दायित्वबोध गराउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । अशिक्षाले यथास्थितिमै रहन उत्प्रेरणा दिन्छ । तर, शिक्षाले व्यक्तिगत र सामाजिक परिवर्तन खोज्छ । त्यसैले पनि विकसित र अविकसितलाई शिक्षाले नै प्रष्टसँग छुट्याउँछ ।

हाम्रा अग्रजहरूले भन्ने गरेको एउटा उक्ति छ, ‘शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ लम्काउँछ ।’ यस उक्तिको शाब्दिक अर्थले कुनै अर्थ नराख्ला तर व्यावहारिक रूपमा हेर्ने हो भने आफ्नो कर्तव्य, दायित्व, अधिकार, धर्म-संस्कृति, समाज जस्ता विषयमा जानकार भएको अवस्थामा जीवनयापन सरल बन्न सक्छ । ‘अन्धकारबाट उज्यालोतर्फ लम्काउँछ’ भन्नुको मूल भाव पनि यही नै हो । अहिलेको सन्दर्भमा भन्ने हो भने, विद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् । वर्षमा लाखौँले माध्यमिक तह उत्तीर्ण गर्छन् र हजारौँले उच्चशिक्षा पूरा गर्छन् । तर, यसले जागिरका लागि हातमा सर्टिफिकेट बेकेर हरेक कार्यालय धाउनेको भिड बढाउनेबाहेक कुनै उपलब्धि दिन सकेको छैन ।

शिक्षा घोकन्ते होइन, प्रयोगात्मक हुनुपर्छ

अधिकांश अभिभावक र विद्यार्थीमा ‘पढेर के गर्ने ?’ भन्ने प्रश्न उब्जिएको छ । यसो हुनुमा मुख्य समस्या भनेको नेपालको शिक्षा प्रणाली नै हो । नेपालको शिक्षा प्राणाली प्रयोगात्मक र
व्यावहारिक हुन सकेको छैन । घोकन्ते शिक्षाले परीक्षा पास गर्न मद्दत गरे पनि जीवन उपयोगी सिकाइका विषयमा भने यस्तो शिक्षाले सीमित बनाउँछ । सरकारी र निजी गरी २ वटा माध्यममार्फत नेपालमा शिक्षा प्रणाली चलिरहेको छ, जसमा निजी विद्यालय राम्रो नतिजा ल्याउनुपर्ने बाध्यतामा छन् भने सरकारी विद्यालयहरू नतिजा भन्दा पनि जेनतेन सञ्चालन गर्ने पक्षमा बढी देखिन्छ । किनकि, निजी विद्यालय नतिजाको आधारमा आफ्नो व्यवसाय सञ्चालन गर्ने दाउमा हुन्छ तर सरकारी विद्यालयलाई यस विषयमा खासै चिन्ता हुँदैन ।

शिक्षालाई व्यवसायको रूपमा मात्र हेरिँदा विद्यार्थीहरूले जीवन उपयोगी शिक्षा पाउन सकिरहेका छनन् । अर्कोतर्फ सरकार पनि शिक्षामा आमूल परिवर्तनसहित सीपयुक्त शिक्षा प्रणालीको विकास गर्ने विषयमा मौन छ । यसले गर्दा शिक्षितको सङ्ख्या मात्र बढ्ने काम भइरहेको छ । सरकार आफैँले उत्पादनमुखी शिक्षामा लगानी र भविष्यको अवश्यकताका बारेमा नसोच्ने हो भने नेपालको शिक्षा यथास्थितिमै रहने देखिन्छ ।

शिक्षा क्षेत्रलाई समयानुकूल सुधार गर्दै प्रयोगात्मक तथा व्यावहारिक शिक्षालाई प्राथमिकता दिनु अहिलेको टड्कारो आवश्यकता हो । ठाउँ विशेष विद्यालय तहमा प्राविधिक शिक्षालाई समावेश गर्न सकिएन भने नेपालको शिक्षा क्षेत्र ठूलो दुर्घटनामा पर्ने निश्चित छ । शिक्षकलाई समय सापेक्ष बनाउन सरकारी तहबाट गर्नुपर्ने काम धेरै छ । तर, अहिलेकै अवस्थामा कमसेकम स्वरोजगार बन्न सक्ने सीपसहितको पाठ्यक्रम चाँडोभन्दा चाँडो लागू गर्नै पर्छ ।

स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार स्वास्थ्यको अर्थलाई केलाउने हो भने रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्तीको अवस्थालाई नै स्वास्थ्य भनेर अथ्र्याएको छ । हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्छ । मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको र समुदायलाई उन्नत बनाउन सक्छ ।

स्वास्थ्य र शिक्षालाई जोडेर हेर्दा यी २ वटा विषय एकआपसमा अन्तरनिहित छन् । स्वस्थ रहन शिक्षाले मद्दत गर्छ । नेपालका कतिपय दुर्गम भेगमा शिक्षाकै अभावले समान्य रोगका कारण पनि मानिसहरूको ज्यान गइरहेको छ । झाडापखाला, रजस्वला, ज्वरो जस्ता सामान्य अवस्थामा पनि मानिसहरूले मृत्य वरण गर्नुपरेको तितो यथार्थ हाम्रै समुदायमा छ । त्यस्ता अवस्थामा के गर्ने भन्ने विषय थाहा नपाउँदा यसले विकराल अवस्था लिन्छ । यस्ता सामान्य विषयमा नागरिक आफैँ जागरुक हुनुपर्ने हो । तर, जनचेतना दिने दायित्वमा रहेको सरकार यसमा चुक्दा यी विषय नै हाम्रालागि ठूला समस्या बनेका छन् ।

नागरिकको स्वास्थ्यप्रति मौन सरकार

नेपालको संविधानमा मौलिक हकअन्तर्गत नै नागरिकको स्वास्थ्यलाई समावेश गरिएको छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन भनेर व्याख्या गर्छ । त्यस्तै, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक जस्ता विषय पनि समेटिएको छ ।

तर, संविधानमा व्यवस्था भएका ती सबै विषयले भुइँमान्छेलाई छोएको छ कि छैन भनेर नियाल्ने दायित्व सरकारको हो । स्वास्थ्य जनताको नैसर्गिक हक हो । तर, सरकार मूक दर्शक भइदिँदा नागरिकहरू आफ्नो मौलिक हकबाट बञ्चित हुँदै आएका छन् । नागरिक स्वास्थ्य समस्याबाट ग्रसित हुँदा त्यसको प्रत्यक्ष असर राज्यलाई नै पर्छ । उत्पादनका क्षेत्रमा लाग्नुपर्ने जनसङ्ख्या अस्वस्थ हुँदा देशको अर्थतन्त्र पनि बढ्न सक्दैन । त्यसैले जनताको स्वास्थ्यप्रति सरकार सजग बन्नै पर्छ ।

के सबै जनताको पहुँचमा स्वास्थ्य सेवा छ ? सरकारप्रति तेर्सिने पहिलो प्रश्न नै यही हो । सरकारी अस्पतालमा आवश्यक सेवा पाइँदैन, निजी अस्पताल छोई सक्नुछैन यस्ता समस्या त कति छन् कति । राज्य यसप्रति गम्भीर नहुने हो भने समुन्नत राष्ट्र निर्माणको सरकारी नारा निरर्थक हुने देखिन्छ । आमनागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल तथा स्वस्थ्य संस्थाहरू सम्वेदनशील नहुँदा पैसा तिर्न सक्नेले मात्र उपचार गराउन पाउने र पैसा नहुनेहरू सामान्य रोगकै कारण मृत्यु वरण गर्नुपर्ने बाध्यतामा छन् । सबै जनताको निजी अस्पतालमा पहुँच छैन र भएका सरकारी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा नै छैन । अहिले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको वास्तविक चित्र यही नै हो ।

भैतिक पूर्वाधार

भैतिक पूर्वाधार आफैँमा विकासको मेरुदण्ड हो । समाजिक विकासपछि भैतिक पूर्वाधारको अवस्थाले समृद्धिको निक्र्योल गर्छ । शिक्षा र स्वास्थ्य जस्ता विषयलाई समाजिक विकासअन्तर्गत राखिन्छ र भौतिक पूर्वाधारलाई आर्थिक विकाससँग जोडेर हेरिन्छ । यो समाज र अर्थतन्त्रका लागि आवश्यक पर्ने आधारभूत संरचना हो । कुनै पनि देशको विकासका लागि भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ र यसले देशको समग्र आर्थिक तथा सामाजिक गतिविधिलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

भौतिक पूर्वाधार विकासका हरेक सूचकाङ्कसँग जोडिएर आउँछ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी आदिका मूल आधार भनेकै भैतिक पूर्वाधार हो । पूर्वाधारको क्षेत्रमा भएका र देखिने विकास नै भौतिक पूर्वाधार हुन् । शिक्षाका लागि विद्यालय, स्वास्थ्यका लागि अस्पताल, यातायातका लागि सडक, सिँचाइ, विद्युत् तथा सञ्चारका लागि आवश्यक संरचना नै भैतिक पूर्वाधार हुन् ।

भौतिक पूर्वाधारले समाजलाई धेरै तरिकाबाट मद्दत पुर्‍याइरहेको हुन्छ । विशेषगरी पूर्वाधारले मानिसहरूको जीवनस्तरमा सुधारसहितको सहजता ल्याउँछ । खानेपानी र सरसफाइमा मानिसको सहज पहुँच भएको अवस्थामा ७० प्रतिशतभन्दा बढी रोगहरू घटाउन सकिन्छ । यसको आधार भनेको उही भौतिक पूर्वाधार नै हो ।
भैतिक पूर्वाधारमा भएका विकासलाई नै समृद्धिको मुख्य आधार मानिन्छ । आर्थिक, सामाजिक जस्ता पक्षलाई सबल बनाउने तत्व नै भौतिक पूर्वाधार हुन् र त्यो नै समृद्धिको मापनका सूचकहरू हुन् ।

सडकका पूर्वाधार तयार भएको अवस्थामा त्यसले शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यकीय सेवामा सहजता ल्याउँछ भने सिँचाइको सुविधा भएको अवस्थामा कृषि उत्पादनमा बढोत्तरी हुन सक्छ । यसको प्रत्यक्ष प्रभाव भने देशको अर्थतन्त्रम नै पर्छ । भौतिक पूर्वाधार समृद्धिमा योगदान पुर्‍याउने महत्वपूर्ण कारक तत्व भए पनि यसको असमान वितरण र उपभोगले गर्दा अहिलेको समयमा यसको सीमा असीमित छ । तसर्थ, यसले मात्र देशको समृद्धिको यात्रा तय गर्न सक्दैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, खाद्यान्न, आवास जस्ता विषयसँग भौतिक पूर्वाधारलाई समानान्तर रूपमा डहो¥याउने हो भने समृद्धिको यात्रा तय गर्न पक्कै पनि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्