पर्यटन दिगोपनाका आधार



  • अमृतनाथ तिमल्सिना

काठमाडौं । विकासको बहसमा असीमित सम्भावनाको क्षेत्रका रूपमा पर्यटनलाई हेर्ने र विश्लेषण गर्ने काम पछिल्ला दिनमा तीव्र रूपमा भएको छ । पर्यटन विकासका कोणबाट नेपाली सम्भावना अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित भइसकेको छ । पर्यटनमा प्राकृतिक स्रोत अनुपम वस्तु हो । निर्मितभन्दा प्राकृतिक वस्तु पर्यटनका दृष्टिले उच्च कोटीको हुन्छ । पर्यटन वस्तु कम, प्रचार बढी हो । यद्यपि, वस्तु नै ओजपूर्ण हुँदा प्रचारले न्याय पाउने पक्का हुन्छ ।

उच्च स्थानमा पुगेर चारैतिर देख्ने मन कसलाई हुँदैन र ? को नराम्रो मान्ला र यस्तो ठाउँमा पुग्दा ? साँच्चै, यस्ता ठाउँहरू आफैँमा रमाइला हुन्छन् र महत्वपूर्ण पनि । तर पनि कतिपयले यस्तो स्थानमा पुग्ने कल्पनासम्म पनि गर्न सक्दैनन् । भौतिक रूपले नै कतिपयको मन भएर पनि यस्ता ठाउँहरू हुँदैनन् ।

राजधानीमै रहेर पहाडी क्षेत्रको अनुभव लिनका लागि ललितपुरका विभिन्न यस्ता प्राकृतिक स्रोतहरू छन्, जहाँबाट भरपूर आनन्द अनुभव गर्न सकिन्छ । त्यस्ता स्थानहरूमा गएर पनि रूख तथा बुट्यानहरूकै कारण र सानातिना अवरोधले पनि त्यस्तो देख्न नसकिने अवस्थामा भ्यु टावर (दृश्यावलोकन गर्ने स्थान) र दूरबिनको व्यवस्था गर्ने गरिन्छ ।

ललितपुर जिल्लाको शहरी क्षेत्रलाई उपत्यकाको रूपमा परिभाषित गर्ने सौभाग्य जुराइदिएका भञ्ज्याङ र थुम्काहरू राजधानीको दृश्यावलोकनका लागि प्रथम चरणका पर्वत रहेका छन् । पदमार्गमा पर्ने तथा मोटरबाटोबाट पुग्न सकिने यी ठाउँहरूमा सबैभन्दा नजिक महालक्ष्मी नगरपालिका– १० लामाटारको लाँकुरीभञ्ज्याङ हो, जहाँ मोटरबाटोबाट पुग्न सकिन्छ।
ग्वार्कोबाट १५ किलोमिटर मोटरबाटोबाट यस स्थानमा पुग्न सकिन्छ । यहाँ ठूलासाना रिसोर्ट, होमस्टेहरू र रेस्टुरेन्ट तथा खाजाघरहरू छन् । बिहान सूर्योदय र साँझ सूर्यास्तको दृश्य हेर्ने राम्रो अवसर पाइने लाकुरीभञ्ज्याङमा मनमोहन स्मृति भ्यु टावरको व्यवस्थाले उपत्यका र हिमाल एकै स्थानबाट हेर्न सकिन्छ । यस्तै, महालक्ष्मी– १० र गोदावरी नगरपालिका– २ को सीमाक्षेत्रमा रहेको भीमेश्वरधाम धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको नमुना स्थान हो । बासुकीबाट २ किलोमिटर पूर्व–दक्षिणतर्फ डाँडामा विपश्यना ध्यानकेन्द्र नजिकै रहेको यो पर्यटकीय सम्भाव्यतायुक्त ठाउँले यहाँको पर्यटन विकासको दिगोपनमा पर्याप्त योगदान गर्न सक्छ ।

विशङ्खुनारायणको कोटडाँडा अर्को यस्तो सम्भाव्यतायुक्त स्थान हो । यो पदमार्गमा पर्छ । १ दिने पदयात्रामा जाँदा विशङ्खुनारायण मन्दिरबाट माथि थुम्कामा पुगिने यो स्थान उपत्यकाका ३ वटै जिल्ला र हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिने ‘भ्यु प्वाइन्ट’ हो । यहाँ होमस्टेको सम्भावना विकास गर्न सकिन्छ । तामाङ समुदायको वस्ती रहेको यस स्थानमा अर्गानिक खेती र लोकल कुखुराको मासु, ढिँडो र कोदोको रक्सी पाइन्छ । गोदावरी– १ ढुङ्गेसाँघुमा रहेको १०८ धारा मुक्तिनाथ मन्दिरको दर्शन गर्दै मूलपानी हुँदै पुग्न सकिने यो भ्यु प्वाइन्टमा कोटडाँडा रिसोर्ट, जीपलाइन र जङ्गलयात्राको अनुभव गर्न सकिन्छ । यस स्थानमा साहसिक खेल प्याराग्लाइडिङको परीक्षण उडान पनि भइसकेको छ ।

फुल्चोकी उपत्यकाको नजिकको अर्को पर्यटकीय गन्तव्य हो, जहाँबाट काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यो उपत्यकातर्फ फर्किएका स्थानहरूमध्ये सबैभन्दा अग्लो स्थान हो । नेपाली सेनाद्वारा सुरक्षा प्रदान गरिएको राष्ट्रिय सूचना प्रविधिको महत्वपूर्ण स्थान फुल्चोकी पर्यटकीय, धार्मिक तथा पर्यावरणीय महत्वको स्थान हो ।
यस्तै अर्को महत्वपूर्ण स्थान बडिखेल र लेलेबीचको भञ्ज्याङ हो । बडिखेलको तपेश्वर महादेव मन्दिर, गोदावरी– १३ झरुवारासीको सन्तानेश्वर मन्दिर, गोदावरी– ३ को अघोरनाथ गुफालगायतका स्थानहरू काँठ क्षेत्रका पर्यटकीय महत्वका क्षेत्र हुन् ।

गोदावरी नगरपालिका– ७ मा पर्ने अर्को उपयुक्त पर्यटकीय स्थल सुन्तोलीडाँडा देउराली हो । देवीचौरको यो सुन्तोलीडाँडा देउराली क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालयलगायतको सहकार्यमा विभिन्न कामहरू भइरहेका छन् । कोञ्न्ज्योसोम गाउँपालिका– ४ नल्लुको लभ डाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यका हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । यस्तै, वडा– ३ दलचोकी अर्को यस्तो महत्वपूर्ण स्थान हो, जहाँबाट उत्तरतर्फ लहरै हिमशृङ्खला देख्न सकिन्छ भने काठमाडौं उपत्यकाको दृश्यपान गर्न पनि निकै राम्रो स्थान छ । यसको दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ । यो ललितपुरको मध्यभागमा रहेको उपयुक्त दृश्यावलोकन स्थल हो । कोञ्जोसोम गाउँपालिकाको पहिचानको रूपमा स्थापित कोञ्जोसोम पनि आफैँमा पर्यटकीय महत्वको स्थान हो ।

यस्तै, बाग्मती गाउँपालिका– १ घुसेल, वडा– ३ भट्टेडाँडा र गोदावरी नगरपालिका– ७ देवीचौरको मध्यभागमा पर्ने राडार क्षेत्र पछिल्लो समय व्यापक चर्चामा रहेका पर्यटकीय गन्तव्य हुन् । उपत्यकाबाट हेटौँडा जाने छोटो बाटो कान्ति लोकपथको तीनपाने भञ्ज्याङबाट १ किलोमिटर पश्चिमतर्फको डाँडामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार क्षेत्र गुराँस अवलोकनको समयमा झनै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ । बाग्मती गाउँपालिका– ५ इकुडोलको रमिते डाँडा अर्को भ्यु प्वाइन्ट हो । बाग्मती– ७ को चमेरे गुफा पनि प्रवद्र्धनको पर्खाइमा छ ।

महाँकाल गाउँपालिका– ३ गोटीखेलको बुर्जाको डाँडो, महाँकाल– १ बुखेलको बिमिरे भ्यु प्वाइन्टका रूपमा महत्वपूर्ण तर प्रवद्र्धनको पर्खाइमा रहेका उपयुक्त स्थानहरू हुन् । महाँकाल– २ मानिखेलमा रहेको सिम्बा झरना, महाँकाल– १ बुखेलको पालाजु झरना मनमोहक प्राकृतिक पर्यटकीय स्थल हुन् । महाँकाल– २ गोटीखेलको कालेश्वर महादेवस्थान, वैतरणीधाम, महाँकाल– ४ को लोङ्तुक गुम्बालगायतका स्थानहरू धार्मिक महत्वका पर्यटकीय स्थलहरू हुन् । कालेश्वर महादेवस्थान दक्षिण ललितपुरको यस्तो महŒवपूर्ण भ्यु प्वाइन्ट हो, जहाँबाट हिमालदेखि तराईसम्म एकै स्थानबाट अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक पर्यटकीय स्थानहरूमा दलचोकी, लभडाँडा, पाथीभरा, बुर्जाको डाँडा, रमिते, कालेश्वर महादेवस्थान आदि स्थान आफैँमा अग्ला भ्यु प्वाइन्ट हुन् । व्यवस्थित बिसौनीहरू र अवलोकनस्थल मात्र व्यवस्थित भए पनि यी क्षेत्र आसपासमा पर्यटकलाई बास व्यवस्था, खानपिनका व्यवसायहरू र कोसेलीजन्य उत्पादनको अभिवृद्धिको प्रशस्तै सम्भावना छ ।
यस्तै, महाँकाल– ४ कालेश्वरमा रहेको मृगबिसौना र काभ्रेसँगको सीमास्थल मानिने देउरालीको थुम्का जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हुन् । यहाँबाट उत्तरमा हिमशृङ्खलाहरू, पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थानहरू, पश्चिममा मकवानपुरका विभिन्न स्थान र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थानहरू देख्न सकिन्छ । यस्तै, मानिखेलको खोरभञ्ज्याङलाई पनि पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ ।

दृश्यावलोकन स्थलबाहेक प्राकृतिक सम्पदालाई पर्यटकीय रूपमा उपयोग गर्नका लागि ऐतिहासिक तथा पुराताŒिवक गुफाहरूलाई लिन सकिन्छ । जिल्लाका केही स्थान यस्ता प्राकृतिक वरदान छन्, यिनको प्रचारप्रसार हुन सकेको छैन । यस्ता स्थानहरूमा गोसाइँकुण्ड पुग्ने गुफाको एक बिन्दुका रूपमा कुम्भेश्वर मन्दिर छेउको कुवालाई लिन सकिन्छ । यहाँ जीर्णोद्धार गर्ने हो भने गुफा छ भन्ने विश्वास छ । कुम्भेश्वर मन्दिर निर्माणका क्रममा गुफा पुरेर पानी आउने स्थान मात्र बाँकी राखिएको भनाइ छ ।

यस्तै, महालक्ष्मी– १० लामाटारमा रहेको शृङ्ग ऋषि गुफा, गोदावरीको अघोरी गुफा, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा र प्युटारको नाग गुफा जिल्लालाई चिनाउन सकिने सम्भावनायुक्त गुफाहरू हुन् । चमेरे गुफा र नाग गुफा कालेश्वर प्युटार पदमार्गमा पर्छन् भने गुप्तेश्वर गुफा तिलेश्वर वैतरणी पदमार्गमा पर्छ ।

शृङ्ग ऋषि गुफा र अघोरी गुफा लाँकुरी–गोदावरी रिङ रेञ्ज पदमार्गमा पर्छन् । यी गुफाहरूमा कतै ऋषिका आश्रमको आकृतिका चट्टान त कतै महादेव मन्दिरका आकृतिका चट्टान अनि कतै नागका आकृतिका चट्टान त कतै चमेरा रहेका छन् । दिगो पर्यटनका सम्भाव्यता पहिचान गर्दा जङ्गल सफारी तथा जङ्गलयात्राको सम्भावनालाई नकार्न सकिँदैन । ललितपुर जिल्लाको बढी क्षेत्र पहाडी क्षेत्रमा रहेको र अधिकांश जङ्गल रहेका केही क्षेत्रहरूलाई समेटेर जङ्गल सफारीको प्याकेज बनाउन सकिन्छ ।

चौघरेदेखि ठोस्नेखोलासम्मको सडकका आसपासमै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ नै मृग, खरायो, कालिज, तित्रा जस्ता वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न सकिने यी स्थानबाट भित्री जङ्गलमा यात्रा गर्न सकिने सम्भावना देखिन्छ । भारदेउबाट गुप्तेश्वरको डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगबिसौनासम्म हुँदै बतासेडाँडासम्मको १ दिने जङ्गल सफारी रुट विकास गर्न सकिन्छ । अहिले जङ्गल सफारीका लागि पूर्वाधार पर्याप्त नभएको अवस्थामा पनि पानी, खुला चौर (जहाँ बस्न र शिविर सञ्चालन गर्न सकियोस्) भएको स्थान चयन गरी सुरु गर्न सकिन्छ । यस्तै, झाडीमा गरिने ‘बुस वाकिङ’, चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

यस्ता स्थानहरूमा आएका पर्यटकहरूलाई नजिकको जनजाति समुदायका झाँकी, पहिरन तथा नाचहरूको अवलोकन गराउने व्यवस्था र सांस्कृतिक कार्यक्रम राख्न सकिन्छ । जस्तै : चौघरेबाट जङ्गल सफारी गरेर मृगबिसौना पुगेका पर्यटकहरूलाई देउरालीमा तामाङ समुदायको ढ्याङ्ग्रो नाच र झाँक्री नाच देखाउन सकिन्छ । यस्ता रुटहरूमा यस्ता केही खुला ठाउँहरूमा सरकारी जग्गामै आवासको व्यवस्था गर्ने तथा तत्कालका लागि पाल गाडेर बस्न सकिने र नजिकै जनावर अवलोकन गर्न सकिने अवस्था भएको राम्रो हुन्छ । राजधानीमा उपलब्ध पर्यटकहरू जङ्गल सफारीका लागि सौराहा पुग्नुपर्ने वा अन्यत्र जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यी स्थानमा जङ्गल सफारीको अनुमति दिने र यी क्षेत्रमा जङ्गली जनावरको संरक्षण गर्नका लागि स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूलाई हरिण, जरायो, मृग आदिको पालन गर्न उत्साही बनाउने हो भने जङ्गल सफारीको रोयल्टीले सामुदायिक वनमा आश्रित समुदायको पनि हित हुन्छ ।

छोटो दुरीको जङ्गल सफारीका लागि फुल्चोकीको जङ्गल पनि उपयुक्त नै हुन्छ । विशङ्खुको छेउबाट प्रवेश गरेर लेले निस्कने गरी जङ्गल सफारीको रुट विकास गर्न सकिन्छ । यस्ता स्थानहरूमा पहाडी बाटो भएका कारण बाटो निर्माण गरेर, घोडा, गधा, हात्ती आदिको प्रयोग गर्नेतर्फ अलिक मिहीन योजना बनाउन जरुरी हुन्छ । चट्टान आरोहण पर्यटन प्रवद्र्धनको अर्को सशक्त क्षेत्र हो । साहसिक पर्यटनको सशक्त क्षेत्र भएकाले यसको पहिचान र प्रवद्र्धन हुन जरुरी छ । महाँकाल गाउँपालिका– ४ कालेश्वरमा रहेको भैरव डाँडा, ठूलादुर्लुङ र गोटीखेलमा पर्ने शिसवनपारिको कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना देखिन्छ ।
छोटो दुरीको चट्टान आरोहणको सम्भावना गोदावरी– १३ झरुवारासीको सन्तानेश्वर महादेव मन्दिरको उत्तर–पूर्वी मोहडाको कोड्कुखोलाको पहरामा पनि छ ।

पर्यटनको अर्को सशक्त क्षेत्र जलयात्रा र डुङ्गा शयर पनि हो । जिल्लामा पर्यटन उद्योगकै रूपमा विकास गर्नका लागि ठाडा र वर्षे खोला मात्र धेरै भएका कारण धेरै उपयुक्त नभए पनि डुङ्गा शयरका लागि धापाखेलको नागदहलाई मिनी फेवाकै नामबाट चलाउन सकिन्छ । पाटनका पोखरीहरू साना डुङ्गा शयरका उपयुक्त स्थानहरू हुन सक्छन् । पिम्बहाल पोखरीमा धेरै व्यवस्थित रूपमा डुङ्गा शयर सुरु गरेपछि त्यस क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको चाप बढेको छ । यसलाई नै उदाहरण लिएर पाटनका सबै पोखरीहरूलाई पर्यटकीय रूपमा आकर्षक र व्यवस्थित बनाएर डुङ्गा शयर गराउन सकिन्छ ।

बाग्मती सफाइ अभियानले पूर्णता पाएपछि स्वच्छ बाग्मती बहन लागेपछि बल्खुबाट माल्टासम्म जलयात्रा सञ्चालन गर्न सकिन्छ । यो जलयात्रा र डुङ्गायात्राले मात्र पर्यटकलाई मज्जा हुनेबाहेक स्थानीय समुदायलाई अरू लाभ केही नहुने भएकाले यसको अन्तिम गन्तव्यमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नुपर्छ । बल्खु–माल्टा जलयात्रापछि माल्टामा मगर संस्कृति र मगर नाच झल्कने परिकारसहित कार्यक्रम गर्नुपर्छ । यता, ठैवदेखि हात्तीवनसम्मको कर्मानासामा पनि जलयात्रा र डुङ्गा शयरको सम्भावना राम्रो छ । तर, यी स्थानमा हिउँदमा पानीको सतह निकै कम हुने भएकाले जलयात्राको सम्भावना भने वर्षा याममा मात्र हुन्छ ।

समुदायको परिचालन गरेर नदी सरसफाइ गर्ने र जलयात्रा गराउने काम गर्न थालेपछि स्थानीय समुदाय स्वतः जागृत हुन्छ । स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढ्छ । प्याराग्लाइडिङ साहसिक खेलका रूपमा संसारभर पर्यटक तान्ने खेल हो । प्याराग्लाइडिङ आजभोलि निकै लोकप्रिय खेलको रूपमा चिनिएको छ । पोखरालाई प्याराग्लाइडिङले नै पनि चिनाएको छ भन्ने पनि गरिन्छ । विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योगअन्तर्गत प्याराग्लाइडिङको परिचय जोड्ने हो भने पोखरा नै आउँछ । तर, ललितपुरमा पनि प्याराग्लाइडिङको सम्भावनालाई व्यवसायीहरूले आकार दिइसकेका छन् । विशङ्खुनारायणको कोटबाट तल फाँटसम्म आउनेगरी ग्लाइडर सुरु भइसकेका छन् । सुरु भइसकेको प्याराग्लाइडिङको प्रचारप्रसारलाई तीव्रता दिने काम गर्नुका साथै नयाँ सम्भाव्यता खोज्न सकिन्छ ।

दुरी छोटो भएकाले त्यसभन्दा अर्को उपयुक्त स्थानको खोजी गर्दा हावाको बहावको सन्तुलन मिलेको खण्डमा फुल्चोकीबाट गोदावरी ल्यान्ड गर्दा निकै राम्रो हुने देखिन्छ । ललितपुरको दक्षिणी भेगमा रहेको बिमिरेचौरबाट मानिखेल फाँटमा ल्यान्ड गर्नेगरी पनि प्याराग्लाइडिङ गराउन सकिन्छ । दिगो पर्यटनको आधार माउन्टेन बाइकिङ पनि हो । पर्वतीय क्षेत्रमा साइकलको प्रयोग गरेर यात्रा गर्न रुचाउनेहरूका लागि राजधानीमै माउन्टेन बाइकिङको सम्भावना उपलब्ध गराउन सक्छ । ग्रामीण कच्ची सडक र पहाडी बाटोका कच्ची सडकमा माउन्टेन बाइकिङ अहिले पनि भइरहेको छ ।

यस्ता सडकहरूमा दक्षिण ललितपुर बाहिरी चक्रपथ, टीकाभैरव–दलचोकी–शङ्खु–इकुडोल सडक, गोटीखेल–बुखेल–इकुडोल–भट्टेडाँडा सडक उपयुक्त मानिन्छन् । छोटो दुरीको माउन्टेन बाइकिङका लागि चापागाउँ–देवीचौर–घुसेल, चापागाउँ–टीकाभैरव–नल्लु, चापागाउँ–टीकाभैरव–दलचोकी हुन सक्छन् । दिगो पर्यटनमा वन्यजन्तु र चराचुरुङ्गी अवलोकन पनि सशक्त क्षेत्र हो । जैविक विविधतायुक्त पर्यापर्यटकीय वातावरण, सिमसार, समशितोष्ण र शितोष्ण हावापानी तथा पृथक् पारिस्थितिकीय प्रणाली र बासस्थान रहेकाले ललितपुर जिल्ला जैविक विविधताले धनी छ ।

यी सबै पर्यावरणीय वातावरणहरू चराचुरुङ्गीका लागि उपयुक्त हुन्छ । ललितपुरको सबैभन्दा चिसो र अग्लो स्थान फुल्चोकी र कालेश्वरको देउराली तथा सबैभन्दा होचो र गर्मी क्षेत्र गिम्दीको हेल्टार र माल्टा क्षेत्रमा पाइने सबै चराचुरुङ्गीहरू जिल्लाका पर्यटन सम्पत्ति हुन् । नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर, कालिज, तित्रा, भद्राई, बट्टाई, ढुकुर जस्ता पक्षीहरू छन् । सारस, हाँस, परेवा, चिल, हुचिल, लाटोकोसेरो, कोइली, सुगा, भँगेरा, बाज आदि चराहरू अवलोकन गर्न पाइन्छ । यी चराहरूको अवलोकन पनि अध्येता तथा आकाङ्क्षीहरूका लागि उपयुक्त हुन्छ ।

शिकार तथा माछा मार्ने कार्य पर्यटकका रुचिका विषय हुन् । जङ्गलमै गएर शिकार गर्ने शिकार आरक्ष नभए पनि कालिज फार्महरूमा गएर कालिज मार्ने र आफैँले पकाउने एवं माछा मार्ने कार्य पनि आफैँमा बडो आकर्षणका विषय हुन् । खासखास क्षेत्रमा माछाका भुरा छाड्ने र ती स्थानमा ती भुराहरूको संरक्षण र विकासका लागि स्थानीय समुदायलाई सचेत बनाई परिचालन गर्ने हो भने माछा मार्ने कार्यका लागि पनि पर्यटकहरू आकर्षित हुन्छन् । असला तथा विभिन्न प्रजातिका माछाहरू खोलामा छाडिने हो भने टुङ्गुन खोला, ठोट्ने खोला, खानी खोला, दुर्लुङ खोलालगायतका स्थानहरूमा माछा मार्नका लागि पर्यटकहरू आकर्षण गर्न सकिन्छ । यस्तै, नल्लु खोला, नख्खु खोला, कोड्कु कर्मानासा खोलामा पनि माछाका भुरा छाड्ने र संरक्षण गर्ने काम स्थानीय समुदायलाई जिम्मा लगाएर पर्यटकलाई माछा मार्ने सुविधा दिएर आकर्षण गर्न सकिन्छ ।

भारदेउदेखि नख्खुसम्मको खोला ढुङ्गा खानी तथा क्रसरका कारण प्रदूषित भएको र आसपासको समुदायले कृषिलगायत विभिन्न माटोमा प्रयोग गरेका रसायन र सिधै खोलामा फोहोर फाल्ने गरेका कारण अहिले माछा मार्ने कार्य तत्कालका लागि उपलब्ध हुन सक्दैन तर समुदायको सशक्तीकरणपछि यो सम्भव छ । यसरी नै विशङ्खुको कोटडाँडा र दलचोकी क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाएर घोडचढीको सम्भावना विकास गर्न सकिन्छ । कोटडाँडामा घोडचढीबाट गएर प्याराग्लाइडिङबाट झर्ने दुवै साहसिक खेल पर्यटनसँग सम्बन्धित भएकाले व्यवसायीहरूले घोडाको व्यवस्था गर्दा राम्रो हुने देखिन्छ । अरू स्थानहरूका पनि घोडचढीलाई विकास गर्न सकिन्छ ।

कृषि पर्यटन नेपालको मौलिक र दिगो पर्यटनको आधार हो । कृषिमा आधारित पर्यटनको पनि ललितपुरमा निकै सम्भावना छ । चियाका कारण इलामले प्रसिद्धि कमाएको छ । कफीका कारण गुल्मीले प्रसिद्धि कमाएको छ । ललितपुरको दक्षिणी भेगमा अहिले चिया र कफीको व्यावसायिकताले इलाम र गुल्मीलाई माथ गर्ने अवस्था छ । अहिले पनि चिया बगान हेर्नकै लागि इलाम जाने कृषि पर्यटकलाई ललितपुरको दक्षिण–पूर्वी खण्डमा आकर्षित गर्न सकिन्छ भने सुदूर दक्षिणी भेकमा कफीका पारखी तथा कफीको अवलोकन गर्न चाहनेलाई लैजान सकिन्छ । यस्तै, जडिबुटी खेतीको व्यावसायिकताले पनि पर्यटकलाई आकर्षित गर्ने अवस्था देखिएको छ । यसबाहेक पर्यटकलाई कोसेलीको रूपमा कृषि उपजको प्रवद्र्धन र विस्तार गर्दै कृषि पर्यटनलाई दिगो पर्यटनको आधारको रूपमा विकास गर्न सकिन्छ ।

गुफा ध्यान धार्मिक, आध्यात्मिक तथा स्वास्थ्य पर्यटनका दृष्टिले धेरै उपयोगी हो । मनोक्रान्ति दर्शनशास्त्री डा. योगी विकासानन्दले ध्यान तथा योगका लागि ललितपुरको काँठ आसपासका शान्त र सुन्दर हरियालीयुक्त क्षेत्रलाई उपयोगी मानेर २० वर्षभन्दा अगाडिदेखि ध्यान केन्द्र सञ्चालन गर्नुभएको छ । ब्रह्माकुमारी राजयोग केन्द्रले पनि ललितपुरका विभिन्न स्थानमा ध्यान केन्द्र सञ्चालन गरिरहेको छ ।

निरोगधामले पनि दलचोकीमा ध्यान केन्द्र सञ्चालन गरिरहेको छ । गोदावरी– २ कोटडाँडामा विपश्यनाको ध्यान केन्द्र छ । यसले ध्यानका लागि उपयोगी स्थानको पुष्टि भएको छ । प्राचीनकालमा ऋषिमुनिहरूले ध्यान गरेको सन्दर्भमा गुफाहरूको महŒव भए जसरी गुफामा उपयुक्त वातावरण तयार गरेर शान्तपूर्वक ध्यानमा बस्न चाहनेहरूका लागि गुफाध्यानको व्यवस्था पनि गर्न सकिन्छ ।

दिगो पर्यटनका लागि पर्यटकीय गन्तव्य आसपासका वस्तीहरू पर्यटनमैत्री हुनुपर्छ । पर्यटकलाई सम्मान गर्ने, अतिथि सत्कारलाई आफूहरूको गर्वको विषय ठान्ने स्थानीय समुदाय भएका क्षेत्रमा पर्यटन व्यवसायको दिगोपन सम्भव हुन्छ । पर्यटनलाई समृद्धिको आधार मान्ने हो भने पर्यटनमा आधारित उद्यमलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारले आफ्नो दायरा र क्षेत्रअन्तर्गत सुविधा दिने तथा प्रवद्र्धन र प्रोत्साहनका कार्यक्रमहरू अगाडि सार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्