समृद्धिमा राजनीतिक दल र तिनका नेताको भूमिका



काठमाडौं । राजनीति सबै नीतिहरूको मुख्य नीति र नेतृत्वदायी नीति भएकाले स्वाभाविक रूपले राजनीति र नेताहरूको समृद्धिसँग त्यसको सरोकार हुन्छ । सबै प्रकारका सकारात्मक परिवर्तन राजनीतिसँग जोडिन्छन् । त्यसकारण समृद्धि र राजनीतिको अन्योन्याश्रित सम्बन्ध छ ।

नेपालको राजनीति घोषित रूपमा समृद्धिको दिशातर्फ छ । संविधानले नै समाजवाद उन्मुख समृद्धिलाई मुख्य कार्यदिशा मानेको छ । संविधान मान्ने सबै राजनीतिक दलहरू आज समाजवाद उन्मुख बाटोमा छन् । समृद्धि हाम्रो देशको मुख्य कार्यभार हो । समृद्धि विकसित, विकासशील र विकासोन्मुख देशहरूमा फरक हुन्छ । ठुल्ठुला राजनीतिक परिवर्तन राजनीतिक नेतृत्वमा सम्भव भए । राजनीतिक परिवर्तनको कोर्स आजका मितिसम्म चाहिने गरी प्राप्त भइसकेको छ । अब देशलाई समृद्ध बनाउनु नेपालको मुख्य कार्यभार बनेको छ ।

विकासको कोणबाट हामीले समृद्धिलाई बुझ्नुपर्छ । वित्तीय प्रणालीमा हुने विकास मात्र अथवा आर्थिक विकासलाई मात्र जोड दिएर समृद्धि हासिल गर्न सजिलो छैन । यसका बहुआयामिक पक्ष हुन्छन् भन्ने कुरा राजनीतिक दलले बुझ्नुपर्छ । विकास र समृद्धिको विषयमा २ वटा कुरा हुन्छन् । एउटा मानवीय विकास र अर्को भौतिक विकास । यस विषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद युवराज चौलागाईं र वैज्ञानिक समाजवाद निर्माण अभियानका संयोजक रमेश सुनुवारसँग ‘समृद्धिका लागि राजनीतिक दल र नेताको भूमिका’ विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

युवराज चौलागाईं
भौतिक विकास

नेपालको सन्र्दभमा हामीले गर्न नसकेको भौतिक विकास हो । हामीले राम्रो बाटो बनाउनुपर्ने, त्यसलाई देशव्यापी जोड्नुपर्ने, रेल मार्ग, जल मार्गको विकास गर्नुपर्ने, पर्यटकीय मार्ग, कृषि मार्गको विकास गर्नुपर्ने हाम्रा अनगन्ती आवश्यकता छन् । अर्कातिर उद्योगधन्दा कलकारखाना खोलेर पदार्थको विकास गर्ने र त्यसलाई रिफाइन गरेर बजारसम्म लाने गरी राष्ट्रिय पुँजी र उत्पादनलाई एक ठाउँमा केन्द्रित गर्ने तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्न उद्योगधन्दाको विकास गर्नुपर्छ ।

पर्यटकीय क्षेत्रको विकास गर्नुपर्छ । पर्यटकहरू आउने जाने र बस्ने व्यवस्था गर्नुपर्छ । पर्यटकको कान र दिमागसम्म नेपालको पर्यटकीय क्षेत्रका बारेमा सकारात्मक सन्देश पुर्‍याउनुपर्छ । सार्वजनिक निर्माणका काम गर्नुपर्छ । सार्वजनिक संस्थाको सबलीकरण गर्नु आवश्यक छ । सार्वजनिक संस्थाको भौतिक र संस्थागत विकास गर्नुपर्ने आवश्यकता छ । सार्वजनिक विद्यालय र स्वास्थ्य संस्थाहरू, सार्वजनिक सेवा प्रवाह गर्ने अन्य संस्थाहरूको पनि सबलीकरण गर्नुपर्छ । भौतिक विकासमा हामीले नेपालको समग्रतामा यी विषयहरूलाई ध्यान दिनुपर्ने छ ।

शिक्षाको विकास

भौतिक विकाससँगै हामीले मानवीय विकास पनि गर्नुपर्छ । त्यसमा सार्वजनिक शिक्षाको सबलीकरण गर्नुपर्छ । काठमाडौँ उपत्यका वा देशका अन्य ठाउँमा राम्रा राम्रा सार्वजनिक विद्यालय छन् । तर, समग्रको स्थिति सन्तोषजनक छैन । सार्वजनिक विद्यालयमा आमजनताका छोराछोरी पढ्छन् । सार्वजनिक विद्यालयबाट राम्राराम्रा जनशक्ति उत्पादन भएको छ । देशको प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सचिव, सांसदहरू सार्वजनिक विद्यालयबाट उत्पादन भएका छन् ।

सार्वजनिक नेतृत्व, सुरक्षा, प्रशासन, आर्थिक, समाजिक, स्वास्थ्य सबै क्षेत्रमा सार्वजनिक विद्यालयबाट आएका मानिसहरू हुँदासमेत सार्वजनिक शिक्षाको अवस्था किन राम्रो छैन भन्ने विषयलाई विश्लेषण गरेर सार्वजनिक शिक्षा सुधार गर्न लाग्नुपर्छ । यो विषय हाम्रो मानवीय विकासको महत्वपूर्ण पक्ष हो । यसको विकासले आगामी पुस्तालाई देशको समग्र हितमा कसरी तयार गर्ने भन्नेसँग सम्बन्धित छ । सार्वजनिक शिक्षा भयावह भयो भने देशको भविष्य राम्रो हुँदैन भन्ने कुरा आजै ठोकेर भन्न सकिन्छ । यो हामीले गर्नैपर्ने पक्ष हो ।

स्वास्थ्यको विकास

स्वास्थ्य क्षेत्रको राम्रो विकास गर्नुपर्छ । स्वास्थ्य विकासको सन्दर्भमा स्वास्थ्य बिमाको दायरा बढाएर जनताको सहज पहुँजमा पुर्‍याउनुपर्छ । राज्यले स्वास्थ्य क्षेत्रको सामाजिक दायरालाई बढाएर स्वास्थ्य सेवालाई विकास गर्नुपर्छ । यसमा कतिपय कामहरू भएका छन् । राज्यले स्वास्थ्य सेवालाई जनताको पहुँचमा लानुपर्छ ।

स्वस्थ नागरिक निर्माण गर्ने, सामान्यदेखि गम्भीर समस्या पनि राज्यको निगरानीमा जनताले सहज रूपमा कसरी सेवा उपलब्ध गराउने भन्ने विषयमा हामीले राम्ररी सार्वजनिक छलफल सुरु गर्नुपर्छ । शिक्षा र स्वास्थ्यलाई राम्रो नबनाईकन हामीले समृद्धि हासिल गर्न सक्दैनौँ । जनस्वास्थ्यलाई पनि हामीले उत्तिकै महत्व दिएर विकास गर्दा मात्र समृद्धिको बाटोमा हामी जान सक्छौँ ।

सांस्कृतिक विकास

हाम्रो देशमा विभिन्न जातीय र सांस्कृतिक विशेषतायुक्त समुदाय छन् । हामीले ती कुराहरू पहिचान गर्नुपर्छ । अहिले कैयौँ भाषाभाषीहरू लोभ भएर गइरहेको छ । नेपालमा बोलिने भाषाहरूमध्ये कैयौँ भाषाहरू लोभ भएर जाने अवस्थामा रहेको तथ्याङ्क छ । ठुल्ठुला जातीय समुदायका भाषाहरू पनि नबोलिने र महत्व नहुने स्थिति छ ।

त्यसलाई व्यवस्थित गर्न भाषिक जागरणको स्थिति ल्याउने, सांस्कृतिक जागरणको स्थिति ल्याउने, पुराना वेशभूषाहरू, पुराना चालचलन र परम्पराहरूलाई संरक्षण र आधुनिकीकरण गर्नु आवश्यक छ । यी विषयहरूलाई कसरी व्यवस्थित गर्ने ध्यान दिनुपर्छ । सिङ्गो समुदायको छविलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्छ । यसलाई अन्तर्राष्ट्रिय समुदायमा शिर उच्च राख्ने गरी राष्ट्रिय स्वार्थलाई परिभाषित गर्ने, त्यसअनुसार अन्तर्राष्ट्रिय समुदायमा एउटा स्वतन्त्र, सुसङ्गठित, अडानयुक्त डिप्लोम्यासीको भूमिका निर्वाह गर्नुपर्छ । यसरी मानवीय विकासको भूमिका निर्वाह गर्दै भौतिक र मानवीय विकासको समुच्च सन्तुलनको बीचबाट हामीले राष्ट्रिय स्वाधीनता हासिल गर्ने दिशातर्फ विकास गर्नुपर्छ ।

इमानको राजनीति

कुनै पनि देश बलियो, राम्रो, दिशामा गइरहेको छ कि अथवा गरिब भइरहेको छ भन्ने मूल कारण त्यो देशको राजनीति ठिक छ कि छैन भन्ने कुराले निर्धारण गर्ने विभिन्न अध्ययनले देखाएका छन् । कमजोर जनशक्ति, प्राकृतिक रूपमा कमजोर, साधनस्रोत कम हुनु अथवा अनेक समस्या हुँदा पनि त्यो देशको राजनीतिले समृद्धिमा लान र ठिक नेतृत्व दिन सक्छ । यदि राजनीतिक नेतृत्व ठिक छैन भने भएका अवसरहरू पनि त्यो देशले गुमाउँदै जान्छ । प्राकृतिक स्रोत भए पनि, राम्रो जनशक्ति भएर पनि त्यो देश राम्रो गतिमा जान सक्दैन ।
त्यसकारण हाम्रो राजनीतिक नेतृत्वले देशमा यति धेरै प्राकृतिक स्रोत हुँदाहुँदै, प्रोडक्टिभ म्यानपावर हुँदा, ठुलो मात्रामा युवा जनशक्ति परिचालन गर्न सकेन । अन्य देशमा भन्दा हाम्रो देशमा राम्रो उत्पादक जनशक्ति हुँदा पनि हामी किन पछि छौँ भनेर राजनीतिक नेतृत्वले गहिरो चिन्तन गर्नुपर्छ । यदि त्यसो गरिएन भने हामी ठुलो दुर्घटनामा जान्छौँ ।

राजनीतिक नेतृत्व क्षमतावान् हुने वा नहुने कुरा हाम्रो परिवेशमा दोस्रो महत्वको विषय हो । हाम्रो सन्दर्भमा पहिलो महŒवको विषय राजनीतिक नेतृत्व आफ्नो भनाइप्रति, आफ्नो दस्तावेजप्रति, जनतासँग गरिएका बाचाप्रति, राजनीतिक दलको सार्वजनिक दर्शनप्रति इमानदार छ कि छैन मुख्य कुरा हो । राजनीतिक दल र नेतृत्वहरू इमान्दार देखिएन । उनीहरूको भन्ने र गर्ने कुरा फरक भयो । आफैँले सार्वजनिक रूपमा गरिएको बाचाप्रति इमान्दार देखिएनन् । बाहिर देखिने एउटा कुरा भन्ने, भित्रचाहिँ अर्कै कुरा गर्ने राजनीतिक नेतृत्वको आमप्रवृत्ति रह्यो । यो प्रवृत्ति सच्याउनुपर्छ ।

नेपालको राजनीतिको मुख्य समस्या इमान हो । नेतृत्वमा इमान नहुने, पाखण्डी हुने मुख्य समस्यालाई हल गर्न सक्यौँ भने क्षमता नभए पनि त्यसको विकल्प खोज्दै जान सक्छौँ । हाम्रो आधारभूत समस्या इमान नहुनु हो । नेपालको राजनीतिक नेतृत्वले इमान कायम गर्नुपर्छ । सबै बेइमान छन् भन्न खोजेको होइन, तर यो विषय इतिहासमा गम्भीर प्रश्नको रूपमा खडा छ । यो प्रश्नको सही उत्तर हामीले ओठबाट होइन, व्यवहारबाट दिनुपर्छ । त्यो भनेको इमानपूर्वक जनताको काम गर्ने र गर्न सकिएन भने सक्षम नेतृत्वलाई हस्तान्तरण गर्दै अगाडि जानु हो । त्यसो गर्दा मात्र हामीले माथि भनेका कुरा लागू गर्न सकिन्छ ।

नेपालको भविष्य उज्यालो छ । हामीसँग अथाह साधनस्रोत छन् । प्राकृतिक साधनस्रोतले सम्पन्न छौँ । संसारमा भएको विज्ञान प्रविधिको विकासका कारण नेपालमा आधुनिकीकरण धेरै छिटो गर्न सकिन्छ । नेपालको समग्र रानजीतिक नेतृत्वले समृद्धिको नेतृत्व गर्नुपर्छ । नागरिकको सचेत पहल र युवाको हस्तक्षेप, चेतना र जागरणको माध्यमबाट समृद्धिको दिशामा अगाडि जान सक्छौँ । नेपालका लागि अर्को बाटो छैन ।

रमेश सुनुवार
कृषि

कृषिलाई आधुनिकीरण गर्ने, कृषि क्षेत्रलाई व्यवस्थापन गर्ने, हामीसँग भएका कृषियोग्य जमिनलाई उपयोग गर्ने त्यो पनि जनस्तरमा । ठुल्ठुला कम्पनीहरूले आफ्ना लागि गर्छन् । त्यो समृद्धि होइन । आफ्नो देशको स्रोतसाधन र नागरिक प्रयोग गर्नु र जीवनस्तर उकास्नुपर्छ । जनताको जीवनस्तर उठ्यो भने बल्ल समृद्धि आउँछ । अन्यथा व्यापारिक समृद्धि हुन्छ । जनताको पहल र सहभागितामा आउने समृद्धि मुख्य हो ।

जनताले अपनत्व महसुस गर्ने खालको कृषि क्षेत्रको विकास आवश्यक छ । परम्परागत विधिले कृषिको विकास हुन सक्दैन । अहिले विकास भएको हाई टेक्नोलोजीको प्रयोग गर्न आवश्यक छ । अहिले मानिसहरू व्यक्तिगत रूपमा कृषिमा लागेका छन् । टिक्न सकेका छैनन् । अर्को बजारको कुरा हो । एउटा आन्तरिक र अर्को अन्तर्राष्ट्रिय । त्यहाँबाट सही मूल्य नपाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारका लागि डब्लूटीओमा आबद्ध भएका छौँ, त्यसलाई प्रयोग गर्नुपर्छ ।

नेपालका धनाढ्य व्यापारीहरूले गर्न सक्छन् । तर, उनीहरूले त्यो आफ्नो व्यापारका लागि मात्र गर्छन् । त्यो जनताका लागि हुँदैन । स्वदेशी बजार र अन्तर्राष्ट्रिय बजारबाट पनि आउने प्रतिफल उत्पादकले नै पाउन पाउने भयो भने हामी एक तह अघि बढ्न सक्छौँ । त्यसपछि मात्र कृषिलाई औद्योगिकीकरणसँग जोड्न सकिन्छ । कृषि क्षेत्रमा आवश्यक मल, बिउ, औषधि सबै नेपालमा उत्पादन गर्न सक्छौँ । पशुपालनको क्षेत्रमा दाना सबै बाहिरबाट ल्याउनुपर्छ ।

सबै नाफा दानामा जान्छ । त्यसकारण जनस्तरबाटै उद्योग स्थापना गर्न प्रयास गरियो भने सम्भव छ । तर हामी लगानी जहाँ निश्चित हुन्छ, त्यहाँ मात्र गर्छौं । बैंक, व्यापार, जग्गातिर लगानी गर्छौं । हामी छिटो समयमा पैसा कमाउने क्षेत्रमा मात्र लगानी गर्छौं । लामो समयपछि प्रतिफल आउने क्षेत्रमा लगानी गर्दैनौँ । उत्पादन हुने क्षेत्रमा लगानी नगरेसम्म हाम्रो समृद्धि हुँदैन । पशुपालनमा दाना आयात रोक्न सक्ने र कृषिमा मल, बिउ, औषधिहरू उत्पादन गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ ।

जडीबुटी

जडीबुटीको व्यवसाय, यसको आर्थिक पक्ष सबै दलालको कब्जामा छ । जस्तो यार्सागुम्बाको उदाहरण लिन सकिन्छ । यार्सागुम्बा टिप्ने मान्छेले १ केजीको १ लाख पाउँछ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कति हो, कसैलाई थाहा छैन । त्यो सबै दलालले गर्छ । यसमा तह–तहका दलाल सहभागी छन् । यो अवस्थामा टिप्ने र उपभोग गर्ने सबै ठगिएका छन् । त्यो जडीबुटीलाई जनताकै सहयोगमा उद्योगको रूपमा विकास गर्न सक्छौँ ।

अथवा कुनै कम्पनी खोलेर जतालाई नै सञ्चालन गर्न दिँदा धेरै राम्रो हुन्छ । त्यसलाई कानुन बनाएर प्रशोधन गरेर विश्व बजारमा बिक्री गर्न सक्छौँ । नेपालको दोस्रो सम्पदा भनेको जडीबुटी हो । नेपालको सबै क्षेत्रमा कुनै न कुनै जडीबुटी पाइन्छ । हिमाली क्षेत्र जडीबुटीको भण्डार हो । त्यसलाई उद्योगको रूपमा विकास गर्दा अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र हो ।

हाइड्रोपावर

बिजुलीमा लगानी गर्ने र पेट्रोलियम पदार्थको विस्थापन गर्ने हाम्रो प्राथमिकता हुनुपर्छ । हाम्रो नेतृत्व र राजनीतिक पार्टीहरू जो पावरमा छन्, उनीहरूले यो सोच्नुपर्छ । पेट्रोलियम पदार्थमा भएको लगानी हामीले हाइड्रोबाट रिप्लेस गर्ने र त्यहाँ लगानी हुने पैसा अन्य क्षेत्रमा लगानी गर्नुपर्छ । यो गर्नुपर्ने र गर्न सकिने विषय हो । अहिले सस्तोमा धेरै इलेट्रिक सवारीहरू भित्रिरहेका छन् । जलविद्युत् नेपालमा साना, मझौला र ठुलो जुनखाले पनि बनाउन सकिन्छ ।

सबै किसिमको क्षेत्रमा विदेशी लगानी गर्नेभन्दा पनि नेपालीहरूलाई नै लगानी गर्ने वातावरण तयार गर्नुपर्छ । जनस्तरमा लगानी गर्ने वातावरण तयार गर्नुपर्छ । यहाँ पनि विभिन्न किसिमको लगानीकर्ता छन् । विदेशी पैसा लिएर आउने अनि नेपाली नागरिकको नाममा लगानी गर्ने चलन छ । त्यो पहिचान गरेर विदेशबाट आएको पैसा रोक्नुपर्छ । विदेशीलाई लगानी गर्न दिँदा कम्तीमा ५१ प्रतिशत नेपालीको हुनुपर्छ । अपर तामाकोसी जनस्तरबाट गर्न सकिन्छ भन्ने उदाहरण हो । अर्थतन्त्रको मुख्य खम्बाको रूपमा हाइड्रोलाई मानेर जानुपर्छ ।

हामी अहिले बिजुलीको आन्तरिक मागलाई जेनतेन धान्न सक्ने अवस्थामा भए पनि पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्ने अवस्थामा पुगेको छैनौँ । नेपाल नर्वेपछिको हाइड्रो उत्पादनमा विश्वको दोस्रो ठुलो उत्पादन गर्न सक्ने देश हो । त्यसकारण यसलाई मुख्य खम्बाको रूपमा विकास गर्नुपर्छ । यी ३ क्षेत्र सबल भए भने बाँकी क्षेत्रलाई लगानी गरेर उकास्न धेरै समय लाग्दैन ।

पर्यटन

पर्यटन नेपालको चौथो खम्बा हो । यसलाई हामीले व्यवस्थित गर्न सक्दा ठुलो आर्थिक आम्दानी हुन्छ । यसको २–३ वटा आयाम छन् । धार्मिक पर्यटन, माउन्टेन र अर्को वातावरण पर्यटन हो । विश्वका विभिन्न देशका वातावरण प्रदूषणका कारण मानिस बस्न नसक्नेसम्मको अवस्था छ । त्यो फाइदा हामी उठाउन सक्छौँ । नेपाल अहिलेसम्म अनुकूल छ । हाम्रो परम्परागत पर्यटनलाई थप विकास गरेर जानुपर्छ ।

उद्योग

नेपालमा धेरै परम्परागत उद्योगहरू छन् । यी उद्योगलाई आधुनिकीकरण गरेर थोरै लगानीमा धेरै उत्पादन गर्न सक्छौँ । हाम्रो उत्पादनलाई स्थानीय मात्र होइन, विश्व बजारमा पनि लैजान सक्छौँ । परम्परागत उद्योगहरू नेपाली कागज, अल्लो, लोकल रक्सीलगायत छन् । यी उद्योगहरूलाई आधुनिकीकरण गरेर ब्रान्डिङ गर्दा धेरै फाइदा लिन सक्छौँ । नेपाली लोकल रक्सीलाई पनि विदेशी ह्विस्की जस्तै ब्रान्डिङ गर्न सक्छौँ ।

अहिले मानिसको झुकाव परम्परागत शैलीतिर गएको छ । होमस्टे वा प्राकृतिक स्थानतिर मानिसको ध्यान छ । त्यसलाई ब्रान्डिङ गर्दा आर्थिक स्रोत र हाम्रो जनशक्तिलाई रोजगार दिने व्यवस्था सिर्जना हुन्छ । हामीले समृद्धि हासिल गर्ने यो आधारभूत कुरा हो । हामीले मुख्य गरी प्रविधि र प्राकृतिक स्रोत साधनलाई जोड्नुपर्छ । विज्ञान र प्रविधिसँग हामीले जोडर हाम्रै जनशक्ति प्रयोग गर्नुपर्छ । यो प्रयोग भएपछि बाँकी शिक्षा, स्वास्थ्यलगायत विषयको मापदण्ड बनेकै छ । यी विषयलाई विकास गरेपछि बाँकी विषय पूरा हुँदै जान्छन् ।

प्रतिक्रिया दिनुहोस्