पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन



काठमाडौं । जगान्नाथपुरीस्थित गोवद्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरेका छन्।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रूपमा काम गर्ने बताए।

शङ्कराचार्य मठका पीठाधीश डा. रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहेका सन्त डा. केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्त्व विश्वमै बढेको बताए। वैदिक सनातनी परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतारका रूपमा लिइन्छ।्

आद्य शङ्कराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका थिए। ती मठ अहिले पनि उनले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ। आद्य शङ्कराचार्य २८–३० वर्षको उमेरमा नेपाल आएका थिए।

इसापूर्व ४७८ उनी नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ। शङ्कराचार्य नेपाल आएको समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो।

साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले। आद्य शङ्कराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्