स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियासामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनायो।

स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले ४७ रनको योगदान गरे। टोमस म्याकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२, माइकल लियस्कले २९, लियन लायलोरले २० र म्याथ्यु क्रसले १६ रन बनाए। नामिबियाबाट कसिलो बलिङ गरेका रुबेन ट्रम्पेलमनले पाँच विकेट लिए।

९.४ ओभर बलिङ गरेका ट्रम्पेलमनले ३० रन खर्चिए। टांगेनी लुंगामेनीले दुई विकेट लिँदा बर्नार्ड स्कल्ज, बेन सिकोंगो र पिकी या फ्रान्सले एक/एक विकेट झारे। शृंखलामा नामिबियाको यो अन्तिम खेल हो।

नामिबियाले पहिलो खेलमा नेपालसँग दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेट र तेस्रो खेलमा नेपालसँग पुनः तीन विकेटको हार व्यहोरेको थियो। स्कटल्यान्डले शृंखलाअन्तर्गत नेपालसँग अन्तिम खेल खेल्न बाँकी नै छ।

स्कटल्यान्डले शृंखलाको पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियोे। दोस्रो खेलमा नेपालसँग तीन विकेटले पराजित भएको थियो। स्कटल्यान्डले भोलि नेपालसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्