विश्वकप लिग-२ मा स्कटल्यासँग नामिबिया पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपाल सिरिजको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो ।

नामिबियाका लागि लोहार्ड लोहारेन्सले ६७ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४३ तथा जेन ग्रिनले ४० बलमा २५ रन बनाए । रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०र१० रन बनाए । स्कटल्याण्डले रन अतिरिक्त स्वरुप दिएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए । ब्राण्डन म्याकमुलानले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको हो । स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । माईकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । नामिबिया नेपाल सिरिज चार खेलमा चार हारका साथ समाप्त गरेको छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो । स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित हो ।

सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्