सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण थालियो



भैरहवा । रेबिजको प्रकोप न्यूनिकरण र सामुदायिक कुकुरको संख्या कम गर्न सिद्धार्थनगर नगरपालिकामा मंगलबारदेखि तीन दिने बन्ध्याकरण शिवि सुरू भएको छ । सामुदायिक कुकुर बन्ध्याकरणको क्षेत्रमा सन् २०१० देखि नेपालमा कार्यरत संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।

नगर क्षेत्रमा देखा परेका भाले र पोथी सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइ गाडीबाट शिविरस्थलमा ल्याइ लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक वर्षसम्मका लागि हुने गरी रेबिजविरूद्धको सुई लगाइदिएपछि कुकरलाई यथास्थानमै छाडिदिने गरिएको छ । ती कुकुरको पहिचानका लागि देब्रे कानमा यु आकारले चिर्ने गरिएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा न्यूनतम पनि १ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार यो शिविरका लागि ट्रष्टबाट तीन जना पशु चिकित्सक, प्राविधिकसहित १२ जनाको जनशक्ति खटिएको छ । प्रति कुकुर २ हजार रुपैयाँमा बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने गरी ट्रष्टसँग भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सम्झौता भएको हो ।

सामुदायिक कुकुरको संख्या कम गरी रेबिजको प्रकोप न्यूनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आरवका लागि २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले अर्को वर्षदेखि नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिनका लागि प्रत्येक वडा वडामा योजना सञ्चालन गरिने बताए । सन् २०३० सम्ममा विश्वबाट रेविज उन्मूलन गर्ने अभियान सञ्चालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्