सन्दीप चम्किएपछि स्कटल्यान्ड २१२ रनमै समेटियो



काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आइसीसी विश्वकप लिग-२ को च्याम्पियन स्कटल्यान्ड २ सय १२ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएको हो। स्कटल्यान्डले त्रिदेशीय एकदिवसी शृंखलाको अन्तिम खेलमा नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।

स्कटल्याण्डका लागि जर्ज मन्जीले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले। उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए। उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो। म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए। क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए।

स्कटल्यान्डको बलियो ब्याटिङलाई निस्तेज बनाउँदै सन्दीपले ४५ रन खर्चेर ४ विकेट लिए। स्कटल्यान्डले उत्कृष्ट सुरुवात गरे पनि सन्दीपको इन्ट्रीसँगै नेपाल खेलमा फर्किएको थियो । नेपालका करण केसीले ३ विकेट लिए। कुशल मल्ल र ललित राजवंशीको नाममा समान एक/एक विकेट रह्यो। २१३ रनको सामान्य लक्ष्य पाएको नेपालले केहिबेरमा जावाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्