पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुँदैन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन्। आज बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन्।

उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्नु उचित नहुने बताए। उनले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे। महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन्।

‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो। तर, फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरुको भावनासँग म एकदम सहमत छु’, शर्माले भने, ‘त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ। त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडि सारेर जानु बढी उचित हुन्छ।’

महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए। ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई राष्ट्रपतिको पद देखाएर अल्मल्याउन खोजेको उनको टिप्पणी छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनको भनाइ छ।

उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए। संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनको दाबी छ। उनले कांग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्