राष्ट्रपतिको विषय १३ गते टुङ्गिन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ।

उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए। नेपालसँगको भेटपछि संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताए।

‘राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि,’ उनले भने। २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चुनावअघिको गठबन्धन ब्युँतिन लागेको हो ? भन्ने अर्को प्रश्नमा उनले भने– अहिले टुंगो लागेको छैन।

यसअघि बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। उक्त सहमतिलाई औपचारिकता दिन आज विभिन्न दलले पार्टीभित्र र अन्तरपार्टी छलफल गरिरहेका छन्।

प्रचण्डसँगको भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरूसँग विभिन्न विकल्पहरू रहेकाले ती सबैमा छलफल भइरहेको बताए। तपाईं राष्ट्रपतिको उम्मेदवार बन्ने हो भन्ने प्रश्नमा उनले छलफल जारी रहेको जवाफ दिए।

‘हामीसँग अहिले विभिन्न अप्सन छन्, तीमध्ये जुनले देशको हित गर्छ त्यही छान्ने हो। व्यक्ति को बन्छ भन्ने भन्दा पनि देशको हित कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ नेपालले भने।

प्रतिक्रिया दिनुहोस्