चुनावअघिको गठबन्धनका ४ दलको बैठक बस्दै



काठमाडौं । मंसिर ४ गतेको चुनाव हुनु केही दिनअघिसम्म एउटै गठबन्धनमा रहेका ४ दलहरूको बैठक बिहीबार साँझ बस्दैछ।

राष्ट्रपतिको चुनाव सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज ४ दलका नेताहरू बस्न लागेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्न लागेको हो।

‘आज साँझ बैठक बस्दैछ। ठाउँ टुंगो लागेको छैन,’ एकीकृत समाजवादीका एक नेताले भने। ४ दलको बैठकअघि जसपा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका नेताहरूसँग बैठक गर्दैछन्। जसपा र माओवादीबीच दिउँसो ३ बजे कुराकानी हुने बताइएको छ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्