योग्यता नपुगेका खेलाडीलाई तेक्वान्दो सङ्घको पुरस्कार !



काठमाडौं । नेपाल तेक्वान्दो सङ्घले ओलम्पिक वरीयताको धज्जी उडाउँदै तल्लो वरीयताकी खेलाडीलाई ओलम्पिक स्कलरसिप प्रोग्रामका लागि सिफारिस गरेको छ। सङ्घको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले ओलम्पिक तयारीका लागि भन्दै हरेक वर्ष एकजना खेलाडीलाई स्कलरसिप दिने गरेको छ।

यस्तो स्कलरसिप तेक्वान्दोका विभिन्न विधाबाट छनोट गरेर १ विधाका १ जना खेलाडीलाई प्रदान गरिन्छ। यस वर्ष भने सङ्घले माथिल्लो वरीयताका खेलाडीलाई बेवास्ता गर्दै तल्लो वरीयताका खेलाडी सिफारिस गरेपछि असन्तुष्टि चुलिएको छ। तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार विश्व तेक्वान्दो (डब्लूटी)को ओलम्पिक इभेन्ट वरीयता क्रममा इन्द्र बस्नेत १५३औँ स्थानमा छन् । वीरबहादुर महरा १६१औँ, निरज देवा १८१औँ र भूपेन श्रेष्ठ १९७औँ वरीयतामा छन्।

तर, सङ्घले वरीयतामा माथि रहेका यी ४ खेलाडीलाई पाखा लगाउँदै वरीयताक्रमको २७५औँ क्रममा रहेकी तेक्वान्दो खेलाडी युनिसा राईलाई सिफारिस गरेको छ। तेक्वान्दोका पुम्से र ग्योरोगी विधामध्ये यी सबै खेलाडी ग्योरोगीका हुन् । स्कलरसिप प्रोग्राममा छनोट भएका खेलाडीलाई ओलम्पिक कमिटीले तेक्वान्दो सङ्घमार्फत मासिक ७५० अमेरिकी डलर दिने गरेको छ । यस्तो स्कलरसिप हरेक खेल सङ्घको सिफारिसमा दिने गरिएको छ।

अन्य थुप्रै आधारमा राईभन्दा उत्कृष्ट अन्य खेलाडी देखिएका छन्। ४९ किलो तौल समूहकी युनिसा राई काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । सोही साफ खेलकुदमा नेपालले १२ स्वर्ण पदक जितेको थियो। गत राष्ट्रिय खेलकुदमा समेत युनिसाले पदक जितेकी थिइनन्। यस वर्षको सुरुआतमा बन्द प्रशिक्षणमा रहेकै समयमा भएको छनोट खेलमा पनि उनी आफ्नो स्पर्धामा कास्य पदकमै सीमित भएकी थिइन्। ओलम्पिकको तयारीमा सङ्घले सिफारिस गरेकी युनिसालाई पोखरामा केही महिनाअघि भएको तेक्वान्दोको ‘जी२’ प्रतियोगितामा समेत सङ्घले सहभागी गराएको थिएन।

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा भने उनको उचाइलाई आधार मान्दै भविष्यको सम्भावना हेरेर छनोट गरिएको बताए। वरीयतामा उनीभन्दा माथि रहेके भूपेन श्रेष्ठ र वीरबहादुर महरा गत दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता समेत हुन्। यसअघि सो कोर्स महराले पाएका थिए। महराले रकम नपाएको र सो पाउनुपर्ने आवाज उठाएपछि मुख्य प्रशिक्षक श्रेष्ठ र तेक्वान्दो सङ्घ नेतृत्वबीच तनाव बढेको थियो। त्यसपछि मुख्य प्रशक्षिक हुनुका बाबजुद श्रेष्ठलाई बेवास्ता गर्दै कुमार मानन्धर र कविराज खड्गीलाई सङ्घले प्रशिक्षणको जिम्मेवारी दिएको छ ।

तेक्वान्दो सङ्घमा नेतृत्वले गर्ने गरेको भेदभावको असर खेलाडी पलायनसम्म परेको छ। नेपालमा व्यवस्थित प्रशिक्षण नभएको तथा खेल जीवन नै अन्योलमा रहेको कारण बताउँदै साग स्वर्ण पदकधारी भूपेनसहित सक्षम कार्की, सङ्गीता बस्याल र पार्वती गुरुङ बिदेसिएका छन्।

यसैगरी गत साग खेलमा रजत पदक जितेका निमा गुरुङ, किरण आले, अप्सरा कार्की, मनिता शाही र कृष्णबहादुर तामाङ बिदेसिएका छन् । सोही साग खेलमा कास्य पदक जितेका मनोज मल्ल, ज्ञानेन्द्र हमाल र निश्चलमान श्रेष्ठ बिदेसिएका छन्।

यो सुविधा पाएकी युनिसालाई रकमबारे यकिन जानकारीसमेत छैन । उनले त्यो रकम पाएकी पनि छैनन् । ‘७५० डलर हो क्यारे’, स्कलरसिप रकमकै बारे अनभिज्ञ उनले भनिन् । साथै उनले त्यो रकम नपाएको समेत बताइन् । यो आर्थिक वर्षको सुरुआतदेखि नै उनले सुविधा पाउनुपर्ने भए पनि नपाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्